के हो अकुलर माइग्रेन ? जानिराखौैं यी कुराहरू
डा. प्रगति गौतम‘अकुलर माइग्रेन’ एक फरक प्रकारको यस्तो माइग्रेन हो, जसका कारण छोटो समयका लागि आँखाको दृष्टि कमजोर हुन्छ र आँखा अगाडि चम्किला प्रकाशहरू वा केही दागहरूजस्ता देखिन्छन् । यसखाले माइग्रेन हुँदा सँगसँगै टाउको समेत पनि दुख्न सक्छ । यसबाहेक बान्ता हुन खोज्ने, प्रकाश वा ध्वनिप्रति समवेदनशील हुनेजस्ता लक्षण पनि देखापर्न सक्छन् ।
यसकारण हुन्छ अकुलर माइग्रेन
अकुलर माइग्रेन के कारणले हुन्छ भनेर ठ्याक्कै यकिन गर्न नसकिए तापनि आँखामा रक्तसञ्चार गराउने रक्तधमनीहरू खुम्चिएर वा त्यसमा रक्तप्रवाह कम भएर हुन सक्ने मानिन्छ । धेरैले त ‘अकुलर माइग्रेन’ हो या ‘भिज्युअल माइग्रेन’ हो भनेर नै छुट्याउन समेत सक्दैनन् ।
भिज्युअल माइग्रेन हुँदा दुवै आँखामा लक्षण देखा पर्दछन् भने अकुलर माइग्रेन हुँदा एउटा आँखामा मात्र लक्षण देखिन्छ । तसर्थ, एउटा आँखा छोपेर हेर्दा यदि दृष्टि हराउँछ या दृष्टि–अस्थिरता हुन्छ भने सम्भवतः अकुलर माइग्रेन भएको हुन सक्छ ।
रोकथामका उपाय
विशेषतः तनावग्रस्त जीवनका कारण नै भिज्युअल माइग्रेन वा अकुलर माइग्रेन हुने गर्दछन् । चिया–कफीको अत्याधिक सेवन, धूमपान, पानीको कमी, निद्रा नपुुग्ने, अनियमित आहार–विहार आदि अकुलर माइग्रेन गराउने प्रमुख ‘ट्रिगर’ हुन् ।
त्यसैले यी कुराबाट जोगिएर नै अकुलर माइग्रेनबाट बच्न सकिन्छ । महिनामा चार वा त्यसभन्दा बढी पटक अकुलर माइग्रेन भएमा र दैनिक क्रियाकलापमै अवरोध सिर्जना गराएमा डाक्टरसँग परामर्श गरिहाल्नुपर्छ र उपचार या रोकथाम गराउनुपर्छ ।
आफैं निको हुने, फेरि बल्झिने
अकुलर माइग्रेन एक घन्टा वा त्यसभन्दा कम समयमै आफैं पनि निको हुन सक्छ । त्यसैले यो समस्या हुँदा आराम गर्नु नै सबैभन्दा उपयुक्त र लाभदायक उपाय हो ।
लामो समयसम्म दृष्टि–अस्थिरता हुँदा अथवा आँखाको दृष्टि अचानक गुमेको अनुभूति हुँदा ‘माइग्रेन त हो नि’ भनेर बस्नु हुँदैन । दृष्टि–अस्थिरता हुँदा वा आँखाका अगाडि अचानक चम्किला प्रकाश वा दाग देखिँदा आँखासम्बन्धी अरु रोगहरू समेत भएका हुन सक्दछन् । अकुलर माइग्रेन नै हो या अरु कुनै समस्या हो भन्ने कुरा आँखारोग विशेषज्ञसँग जचाएर पत्ता लगाउन सकिन्छ/लगाउनुपर्छ । र, रोग पत्ता लागिसकेपछि यथाशीघ्र सोहीअनुरूपको उपचार विधि अपनाई हाल्नुपर्छ ।
लेखक बी.पी. कोइराला लायन्स नेत्र अध्ययन केन्द्र, महाराजगञ्जकी आँखारोग विशेषज्ञ हुन्