नकारात्मक सोच, रोगको स्रोत !

केदारनाथ गौतम

नेपाली समाजमा एउटा पुरानो लोकोक्ति प्रचलित छ– ‘आफ्नो मानो खाएर अर्काका कुरा नकाट्नू !’ हामीकहाँ अर्को आहान पनि प्रसिद्ध छ– ‘कागले कान लग्यो भनेर कसैले हल्ला गर्दा आफ्नो कान नछामी कागका पछि–पछि दगुर्ने ।’

प्रायः सरकारी र कतिपय निजी कार्यालयहरूका कर्मचारीहरू आफ्नो जिम्मेवारी, कर्तव्य र भूमिका (ड्युटी) का काममा सिन्को भाँच्दैनन् तर सहकर्मी, सिनियर र जुनियरहरूका ‘कुरा काटेरै’ जागिर पकाउँछन् । एकार्कालाई उल्क्याउने, उचाल्ने, भिडाउने र अन्ततः पछार्ने वा सिध्याउने कार्यलाई उनीहरू आफ्नो ‘सफलता’ ठान्दछन्; त्यसो गर्न सकेमा निकै ठूलो सन्तोष मान्दछन् र ‘इन्ज्वाई’ गर्दछन् ।

कुनै राजनीतिक दल, सङ्गठन वा समूहले बैठक, भेला, सभा र कुनै पनि सार्वजनिक कार्यक्रम आयोजना गर्दा आफ्ना सिद्धान्त, विचार, नीति, योजना र कार्यक्रमबारे चिन्तन, विश्लेषण, विवेचना, छलफल र चर्चा खासै गर्दैनन्; त्यस्ता कार्यक्रमको अधिकाङ्श समय, शक्ति, स्रोत–साधन र मेहनत विपक्षी या प्रतिस्पर्धी दल, सङ्गठन वा समूहको विरोध र आलोचनामै खर्च गर्दछन् । यो प्रवृत्ति भिन्न दल, सङ्गठन, समूह वा तिनमा आबद्ध व्यक्तिहरूद्वारा विपक्षी या प्रतिस्पर्धीविरुद्ध मात्र सीमित छैनन्; एउटै दल, सङ्गठन वा समूहभित्रैका एकार्का गुट, नेता र कार्यकर्ताविरुद्ध समेत अत्यधिक मात्रामा चल्ने गरेको छ ।

परिवारभित्रैका दाजु–भाइ, दिदी–बहिनी, देउरानी–जेठानी, नन्द–आमाजू, भाउजू–बुहारीबीच; छरछिमेकीबीच र कुनै सम्बन्ध या सहकार्य भएका व्यक्ति तथा समूहबीच पनि उचाल्ने, पछार्ने र थचार्ने यो ‘आचरणगत महारोग’ व्याप्त छ । अर्काले गरेका राम्रा–नराम्रा जुनसुकै कर्म र व्यवहारप्रति ‘नेगेटिभ कमेन्ट’ गर्ने, गिल्ला गरेर उडाउने, रचनात्मक एवम् प्रेमपूर्ण सुझाव र शिक्षा दिनुको सट्टा दुष्मनीपूर्ण एवम् ध्वङ्सात्मक विरोध गर्ने प्रवृत्ति जताततै विद्यमान छ । अझ त्यस्ता विरोध वा आलोचना हाकाहाकी र अगाडि नै नगर्ने, बरु सम्बन्धित व्यक्ति र पक्षको अनुपस्थितिमा, घुसघुसे या कानेखुसीको शैलीमा र गुटबन्दीको ढङ्गबाट गर्ने प्रवृत्ति कायम छ ।

मनोविश्लेषक एवम् समाज–विज्ञानका अध्येताहरूका अनुसार यसखाले प्रवृत्तिका मुख्यतः दुई कारण छन्– पहिलो, नकारात्मक मनासिकता र दोस्रो, आफ्नै लघुताभाषी मानसिकता या अक्षमताको अभिव्यक्ति ।

विकृत मानसिकता या नकारात्मकतायुक्त सोचका मान्छेहरू अरुको पीडा, दुःख, असफलता र विध्वङ्समा खुसी हुन्छन् र सुखानुभूति गर्दछन् । आफैंमा पनि र अरु सबैमा समेत राम्रा–नराम्रा दुवै पक्ष तथा सबलता–दुर्बलता हुन्छन् भन्ने शाश्वत यथार्थतालाई तिनले स्वीकार गर्दैनन् । तिनीहरू आफ्ना दुर्बलता, अक्षमता र नकारात्मकताप्रति पटक्कै ध्यान दिँदैनन् बरु ढाकछोप गरिरहने प्रयत्न गर्दछन्; तर, अर्काका सबल पक्षप्रति आँखा चिम्लेर नकारात्मकता मात्र उधिन्दै ‘तिललाई पहाड बनाउने’ काम गरिरहन्छन् ।

आफूलाई कमजोर, अक्षम या अयोग्य, गरिब, असहाय र निरूपाय ठान्ने लघुताभाषी मानसिकता भएका मान्छेहरू अरुका उपलब्धि, पौरख र प्रगति देखेर आरिस र डाहले जल्ने गर्दछन् । यीमध्येका प्रायः मान्छे आफू योग्य, सक्षम र सबल बन्दै आफूले डाह गरिरहेका मान्छेहरू या प्रतिस्पर्धीसरह उठ्न वा उछिन्नतिर लाग्दैनन्, बरु आफू जहाँको त्यहीं जकडिइरहन्छन् तर प्रगति गरेका या प्रतिस्पर्धीविरुद्ध छिर्के हान्दै वा कुनै न कुनै ‘खुराफाती’ उपाय अपनाउँदै ‘पछार्न’ तिर आफ्नो सम्पूर्ण समय र सामथ्र्य लगाउँदछन् । र, अन्ततः सकेसम्म अरुलाई पनि बिगार्छन्, त्यसो गर्न सम्भव नभए पनि आफैंलाई भने अवश्य नै बिगार्न पुग्दछन् ।

मानव शरीरमा मूलतः दुईथरी रोगहरू लाग्न सक्दछन्– शारीरिक र मानसिक । उल्लेखित दुवै प्रवृत्तिहरू नकारात्मक सोचका उपज हुन् र नकारात्मक सोच पनि आफैंमा एक किसिमको मानसिक रोग हो । सुरुमा सामान्य नै भए तापनि यस रोगले क्रमशः जटिल रूप लिँदै जाने क्रममा अनेकखाले शारीरिक रोग समेत निम्त्याउँछ । कुण्ठाग्रस्त, हीनताबोधी, नकारात्मक सोच र लघुताभाषी मानसिकतायुक्त मान्छेहरूले आफू र आफ्नालाई मात्र विनष्ट गर्दैनन्; सिङ्गै संस्था, समाज र राष्ट्रलाई नै रोगी तुल्याउँदछन् ।

वैमनस्यता, क्रोध, इर्ष्या, डाह, हीनता र कुण्ठा त्याग्दै समग्र मानवजातिबीच सद्भाव, सदाचार, प्रेम, स्नेह, भ्रातृत्व र समतापूर्ण सहकार्य नै शान्ति, समृद्धि, खुसी र सुखानुभूतिका मुख्य उपाय हुन् । सकारात्मक सोच र व्यवहारयुक्त मानिसले आफू र आफ्नालाई त स्वस्थ तुल्याउँछन् नै; समाज र राष्ट्रलाई समेत सत्मार्गमा डोर्‍याउन सक्दछन् । त्यसैले भन्न सकिन्छ– नकारात्मक सोच, रोगको स्रोत !