अफ्रिकन भाइलेट: घरभित्रै ढकमक्क फुल्ने फूल

अनिता सुनुवार

घर तथा कोठाभित्रै सुन्दर ढङ्गले फुलाउन सकिने फूल हो– अफ्रिकन भाइलेट फूल । यो फूललाई कोठाभित्रै राम्रोसँग फुलाउन र सजाउन सकिन्छ । यसका नयाँ बिरुवा पातबाट समेत उमारिन्छन् । नयाँ बिरुवा उत्पादनका लागि यसका हल्का छिप्पिएका पातयुक्त डाँठलाई काटेर पानीमा डुबाउनुपर्छ । पानीमा डुबाइएको करिब तीन साता (२१ दिन) मा ती डाँठबाट जरा पलाउँछन् । जरा आएपछि सानो गमला वा पोलीमा सार्नुपर्छ ।

सानो गमला वा पोलीमा सारिसकेर अलिक हुर्किएपछि फेरि केही ठूलो गमलामा सार्न सकिन्छ । यो फूलका लागि ६ इन्चको गमला उपयुक्त हुन्छ । सकभर माटाको गमला नै प्रयोग गर्नु उपयुक्त हुन्छ । माटाको गमलामा स्वचालितरूपले तापक्रम व्यवस्थापन हुन्छ र चिस्यान कायम रहन पनि मद्धत मिल्छ ।

बोट–बिरुवाका कुहिएका पत्कर वा मधुमास (धुलो बनाइएको नरिवलको जट्टा) मा अफ्रिकन भाइलेट रोप्नु उपयुक्त हुन्छ । चारमध्ये दुई भाग मधुमास, एक भाग बालुवा र एक भाग पत्कर मिसाएर रोप्दा बिरुवा राम्रोसँग सप्रन्छ ।
अफ्रिकन भाइलेटको बोट कोमल हुन्छ, त्यसैले निकै नै होस पुर्‍याएर रोप्नुपर्छ । गमलामा तयार भएको माटोमा सिन्का वा काँटाले खाल्डो पारिन्छ । त्यसपछि यसको पातमा हल्का किसिमले समाएर जरा नभाँचिने गरी बिस्तारै रोप्नुपर्छ । र, बिरुवा रोप्नासाथ गमलाको मिश्रित मल–माटो पूरै भिज्नेगरी पानी हाल्नुपर्छ । त्यसपछि न्यानो र उज्यालो ठाउँमा राख्नुपर्छ; प्रत्यक्ष घाममा भने राख्नु हुँदैन । सिसा भएको झ्यालभित्र राख्नु उचित हुन्छ । झ्याल बाहिर पनि प्रत्यक्ष घामले नभेट्ने गरी कौसीजस्ता ठाउँमा समेत राख्न सकिन्छ ।

यो फूललाई घरैभित्र राम्रोसँग फुलाउन सकिन्छ । घरको सिँढीमा, कौसीमा, सिसाभित्रका विभिन्न भागमा यो राम्रोसँग फुल्छ । यसलाई उज्यालो आवश्यक पर्छ भन्ने कुरा भुल्नु हुँदैन । औसत २५ डिग्री हाराहारीको तापक्रममा यस फूललाई राम्ररी फुलाउन सकिन्छ । प्रदूषित तथा धुलो–धुवाँ हुने ठाउँमा यो फूल राम्ररी नफुल्ने भएकाले यस्ता ठाउँमा राख्नु हुँदैन ।

यो फूललाई सफा पानी हाल्नुपर्छ, फोहोर पानी हाल्दा विभिन्न रोग लाग्न सक्छ । गर्मी मौसममा चिसै पानी हाल्दा पनि हुन्छ तर जाडो मौसममा भने धाराको चिसो पानी हाल्नु हुँदैन; धाराबाट पानी थापेर केही समय राखिसकेपछि हल्का तातो भएको पानी मात्र हाल्नुपर्छ ।

यस फूलको स्याहार–सुसारमा जाडो मौसममा भने निकै नै ध्यान पुर्‍याउनुपर्छ । चिसोका कारण मर्न सक्ने भएकाले न्यानो ठाउँमा राख्नुपर्छ; चिसो पानी हाल्नु हुँदैन; सुख्खा भएको देखिए तत्काल पानी हाल्नुपर्छ । धेरै पानी भए जरा कुहिन सक्छ । पानी हाल्दा पनि हल्का किसिमले हाल्नुपर्छ; बिरुवामा चाप पर्ने गरी हाल्नु हुँदैन । पानी हजारीले हाल्नु उचित हुन्छ । गमलाको मुनि प्लेट राख्नु राम्रो हुन्छ किनभने चुहिएको पानी सोही प्लेटमा जम्छ र गमलामा रहेको बिरुवाले सोस्न पाउँछ ।

यो फूलमा भर्मी कम्पोस्ट मल हाल्नु राम्रो हुन्छ । बोट–बिरुवाका कुहिएका पत्कर पनि मलका रूपमा प्रयोग गर्न सकिन्छ । कडा किसिमका मल भने हाल्नु हुँदैन । कडा मल हाल्दा फूल नै मर्न सक्छ । जाडो मौसममा यस फूलमा ढुसी पर्न सक्छ । ढुसी परेमा टिस्यु पेपरले पुछेर या स्प्रेबाट पानी छ्यापेर हटाउन सकिन्छ । बेला–बेला स्प्रे गरेर पात सफा गर्न सकिन्छ । रोगबाट बचाउनका निम्ति यस फूललाई राम्रोसँग हावाको ओहोर–दोहोर हुने ठाउँमा राख्नु उचित हुन्छ ।

यो फूल जाडोमा भन्दा गर्मी मौसममा नै राम्ररी फुल्छ । प्रायः सबै मौसम र महिनामा फुल्ने यो सुन्दर फूल जाडो मौसममा कम फुले पनि गर्मी मौसममा भने राम्ररी फुल्छ ।

यस फूलको नेपालमा पनि लामो समयदेखि नै व्यावसायिक उत्पादन हुँदै आएको छ । गमलामा फुलेको अफ्रिकन भाइलेटको मूल्य भेराइटीअनुसार ३ सय ५० वा सोभन्दा बढी पर्ने नर्सरी व्यवसायीहरू बताउँछन् । सन् १८९२ तिर अफ्रिकामा अध्ययन भई पहिचान भएकाले नै यसको नाम अफ्रिकन भाइलेट रहन गएको देखिन्छ ।