तन–मन सक्रिय राख्ने कुर्कुमिन

डा. डीबी सुनुवार

हल्का पहेंलो रसायन उत्पादन गर्ने वनस्पति हो टर्मरिक । यसमा प्रमुखरूपमा ‘कुर्कुमिनोइड’ तत्व पाइन्छ । यो वनस्पति ‘जिन्जर’ परिवारअन्तर्गत पर्दछ । यसको वैज्ञानिक नाम ‘जिन्जिबेरासी’ हो । टर्मरिकको नेपाली नाम ‘बेसार’ हो । बहुगुणकारी यो वनस्पति भान्छामा दैनिकरूपमा प्रयोग हुन्छ ।

यसलाई हर्बल सप्लिमेन्ट तथा विभिन्न खाद्य पदार्थमा प्रयोग गरिन्छ । बासना, स्वाद र खाद्य परिकारको रङ्गका लागि धेरै अघिदेखि अहिलेसम्म यो वनस्पति प्रयोग गरिँदै आएको छ ।

यसरी भित्रियो भान्सामा

यो वनस्पति भान्सामा कसरी प्रयोग हुन थाल्यो भन्ने प्रश्न उब्जन सक्छ । यसको ऐतिहासिक पक्ष हेर्दा दोस्रो शताब्दीतिर खाद्य परिकारलाई रङ्गीन पार्नका लागि प्रयोग हुने गरेको पाइन्छ । सुरुआतताका कपडा, खाद्य पदार्थ, कस्मेटिक्स सामग्रीलगायतलाई रङ्गीन गराउन प्रयोग गर्न थालिएको टर्मरिकका स्वास्थ्यसम्बन्धी लाभहरू बिस्तारै पत्ता लाग्दै गए ।

रङ्गका रूपमा प्रयोग हुन थालेको केही पछि यसलाई पिसेर धुलो बनाई तेलमा फिटेर शरीर मालिसका निम्ति प्रयोग गर्न थालिएको पाइन्छ । बिस्तारै यसका थप लाभ पत्ता लाग्दै जाने क्रममा मानिसले टर्मरिकलाई दैनिकरूपमा प्रयोग गर्न थाले ।

आजसम्म करिव १ सय ३० भन्दा बढी प्रजातिका टर्मरिक पत्ता लागेका छन् । ऐतिहासिक तथ्य हेर्दा दक्षिण एसियाका विभिन्न टापुमा बसोवास गर्ने मानसिहरूले नै सुरुमा यसको प्रयोग गर्न थालेको पाइन्छ ।

स्वास्थ्यलाभ: शारीरिक मानसिक दुवैतर्फ

कुर्कुमिनले ‘एन्टिअक्सिडेन्ट’ का रूपमा काम गर्छ । एन्टिअक्सिडेन्टले पाचन प्रक्रिया मजबुत बनाउनुका साथै शरीरमा भएका विकार तत्व फाल्ने काम गर्दछ । यसले शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढाउनुका साथै खानपान राम्रोसँग रुच्न र पच्न सघाउँछ ।

यसर्थ, मानिस शारीरिक तथा मानसिकरूपमा स्वस्थ रहन कुर्कुमिन निकै लाभदायक छ । कुर्कुमिनका धेरैथरी स्वास्थ्य लाभ पत्ता लागेका छन् । सुरुआती चरणमा सुन्निएका, फुलेका तथा दुखेका विभिन्न अङ्गमा यसको प्रयोग गर्दा समस्या कम भएपछि कुर्कुमिनबारे थप अध्ययन–अनुसन्धान हुँदै आएको पाइन्छ ।

मुटुको समस्या र क्यान्सरजस्ता प्राणघातक रोगको रोकथामका लागि समेत यो वनस्पति अत्यन्तै लाभदायक छ । अल्जाइमर्सजस्तो विस्मृति गराउने समस्या निम्तन नदिनका लागि पनि कुर्कुमिन निकै लाभदायक सिद्ध भइसकेको छ ।

डिप्रेसनजस्ता तनावजन्य मानसिक समस्या उत्पन्न हुन नदिन तथा कम गर्नका लागि समेत यो वनस्पति लाभदायक छ । यसको सन्तुलित सेवन गर्नाले टाउको दुख्ने, चक्कर लाग्नेजस्ता समस्याबाट पनि बच्न सकिन्छ ।

यौन सक्रियतामा लाभदायक

यौन दुर्बलता हटाउन पनि कुर्कुमिन लाभदायक हुन्छ । यसमा भएका तत्वले पुरुषमा हुने टेस्टोस्टेरोन हर्मनलाई सन्तुलित तुल्याउनुका साथै यौन हर्मन सन्तुलित पार्ने काम गर्दछ । यो सन्तुलनले यौन समस्या पैदा हुन नदिन तथा सुखद् यौन क्रियाकलापका लागि पर्याप्त सघाउ पुग्छ ।

पुरुषमा मात्र होइन, महिलामा समेत यौन हर्मन सन्तुलनका लागि कुर्कुमिन निकै लाभदायक छ । यौन हर्मन सन्तुलित हुँदा बाँझोपनबाट समेत बच्न सकिन्छ ।

बेलुका सुत्नुअघि नियमितरूपमा दूधमा टर्मरिकको धुलो वा पाउडर मिसाएर खानाले यौन सक्रियतामा निकै मद्धत मिल्छ । वयस्क व्यक्तिले ३ सयदेखि ५ सय मिलिग्राम कुर्कुमिन दूधमा मिसाएर सेवन गर्न सकिन्छ । यसलाई चिया–कफीमा हालेर पनि सेवन गर्न सकिन्छ । खाद्य परिकारमा भने स्वाद र रङ्गको आवश्यकताअनुसार प्रयोग गरिन्छ/गर्नुपर्छ ।

बेसारलाई पानीमा उमालेर सेवन गर्दा कोरोनाभाइरसको सङ्क्रमणबाट बच्न र जित्न पनि निकै हदसम्म मद्धत मिल्छ । कोरोनाभाइरसको सङ्क्रमण भइहालेमा बेसार–पानी पिउनु लाभदायक हुन्छ ।

प्राकृतिक उपचारमा सहयोगी

घाँटी दुख्दा र रुघा–खोकी लाग्दा पनि बेसार–पानी खाने प्रचलन छ । बेसारलाई विभिन्न खाद्य परिकारमा मिसाएर सेवन गर्ने गरिएकोबारे त हामी जानकार नै छौं । हाम्रा अधिकाङ्श परिकारमा बेसार छुट्दैन । बेसारविनाका परिकार स्वादविहीन र रङ्गविहीनजस्तै लाग्छन्; हेर्दा नै खाऊँ–खाऊँ लाग्ने देखिँदैनन् ।

नियमित खाद्य परिकारमा मात्र होइन, प्रकृतिक उपचारात्मक विधिमा समेत अत्यधिक प्रयोग हुने वनस्पतिमध्येको एक बेसारको ‘एक्स्ट्रयाक्ट’ हो । प्राकृतिक चिकित्सा विधिमा बेसारको ‘एक्स्ट्रयाक्ट’ र ‘इसेन्सियल आयल’ प्रयोग गरिन्छ । ढाड दुखेका, हाडजोर्नी दुखेका तथा हाडजोर्नी कमजोर भएका बिरामीको उपचारमा टर्मरिककोे इसेन्सियल आयल प्रयोग गरी मालिस गराइन्छ ।

छाला चम्काउन लाभदायक

घाममा बसेर टर्मरिकको तेल (इसेन्सियल आयल) शरीरमा लगाउनाले छालामा भएका विकार तत्व बाहिर निस्कन्छन् र छाला स्वस्थ हुन्छ । यसो गर्दा छालामा चमक समेत बढ्दछ । छालामा भएका विकार तत्व हटेपछि छालाका माङ्शपेशी समेत स्वस्थ हुन्छन्, जसले गर्दा छालालाई पोषण पुग्छ ।

नियमितरूपमा टर्मरिकको इसेन्सियल आयल अनुहारमा लगाउँदा अनुहारको चमक बढ्छ र उमेर घर्कंदै जाँदा चाउरी पर्ने तथा चाया–पोतो आउने समस्याबाट समेत बचाउँछ । यस्ता समस्या कम हुँदा छाला जवान रहने नै भयो र अनुहार उज्यालो, चम्किलो र सुन्दर हुने नै भयो ।

टर्मरिकको इसेन्सियल आयलको अरोमा (बाफ) लिनाले खुसीका हर्मन सक्रिय हुन्छन् । यसो हुँदा मानसिकरूपमा स्वस्थ तथा सक्रिय रहन पनि मद्धत मिल्छ । कुर्कुमिनको लाभ असीमित छ भन्ने कुरा मानिसले पत्ता लगाएकाले नै भान्छामा सकभर यसको प्रयोग छुट्दैन ।