गायिका श्रीदेवीलाई छोरीले नचिन्दाको फसाद

होलिस्टिक संवाददाता

नेपाली गीत–सङ्गीतका क्षेत्रमा एउटा लोकप्रिय नाम हो– श्रीदेवी देवकोटा । उनले छ वर्षअघि गाएको ‘चोर बिरालो पल्क्यो’ गीत निकै चर्चामा रह्यो । उनका ‘मकै खाउली’, ‘कन्याइदेऊ न बाई’, ‘ढाडे बिरालो’, ‘ओली बाको रेल’ जस्ता गीत पनि लोकप्रिय रहे ।

स्कुले जीवनदेखि नै गायनयात्रामा लागेकी श्रीदेवीले आफ्नै रचना र अरुका गीतमा गरी दर्जनौं चर्चित गीतमा स्वर भरिसकेकी छन् । साङ्गीतिक कार्यक्रमको सिलसिलामा उनले देश–विदेशका दर्जनौं स्थान घुमिसकेकी छन् ।

कोरोनापछि तीन गीतको तयारी

पछिल्लो सयम कोरोना महामारीका कारण साङ्गीतिक कार्यक्रम ज्यादै कम मात्र भएका कारण उनी घरमै बसिरहेकी छन् । ‘पोहोरदेखि रोकिएका साङ्गीतिक कार्यक्रमहरू भर्खरै मात्र अलि–अलि खुल्न थालेका छन्, लकडाउन अगाडि कार्यक्रममा हिँड्दा घर आइपुग्न नै साइत कुरेजस्तो गर्नुपथ्र्यो,’ उनले सुनाइन्– ‘तर अहिले त्यस्तो केही छैन । घरमै बसेर छोराछोरी स्कुल पु¥याउने, घरमा पढाउने र घरकै स्याहारसुसारमा समय बिताइरहेकी छु ।’

अब केही दिनपछि भने आफ्नै लगानीमा तीन वटा गीत बजारमा ल्याउन लागेको बताउँदै उनले भनिन्– ‘अहिले तिनै गीतहरूको भिडियो बनाउने तयारीमा लागेकी छु ।’

पहिलो कन्सर्ट नै विदेशमा

२०६५ मा रेकर्ड भएको ‘हिमाल राम्रो हिउँले’ गीतबाट गायनयात्रा थालेकी श्रीदेवीले पहिलो कन्सर्ट भने मुम्बईमा गरेकी थिइन् । पहिलो गीतबाटै चर्चामा आएकी उनलाई सुरुमै विदेशका कार्यक्रममा अफर आए ।

श्रीदेवी र देवी घर्ती कन्सर्टमा सहभागी हुन विदेश (मुम्बई) गए । त्यो पहिलो साङ्गीतिक यात्रा आफ्नो बिर्सनै नसक्ने पल रहेको उनी सुनाउँछिन् ।

‘मेरो पहिलो साङ्गीतिक यात्रा मुम्बईमा भयो । त्यहाँको पहिलो कार्यक्रममा मैले राम्रै गर्न सकें । मैले गाएका हरेक गीतमा त्यहाँस्थित नेपाली दाजुभाइले ‘वान्स मोर’ भनिरहनुभयो । त्यतिबेलाको ‘वान्स् मोर’ अहिले पनि मेरो दिमागमा ताजै छ,’ अनुभूति पस्कँदै उनले भनिन्– ‘त्यो कार्यक्रम राम्रो भएकैले आयोजकले १५ दिनपछि फेरि अर्को कार्यक्रममा म र राजु परियारलाई बोलाउनुभयो । तर दुःखको कुरा, त्यहीबेला अर्को देशमा कार्यक्रम परेकाले त्यहाँ जान पाइएन ।’

युकेबाट फर्केपछि छोरीले नै नचिन्दा

श्रीदेवीले ६५ सालभन्दा अघिदेखि नै गायनयात्रा थालेकी हुन् । तर, उनका गीतले खासै चर्चा पाउन सकेका थिएनन् । उनका गीत कमै मान्छेले मात्र सुनेका थिए । चर्चामा आएको पहिलो गीतपछि साङ्गीतिक कार्यक्रममा सहभागी हुन उनी युके पुगिन् । युके जाँदाको त्यो क्षण भने उनका निम्ति निकै पीडादायी रह्यो ।

कार्यक्रमका लागि उनलाई युकेमा निमन्त्रणा हुँदा उनकी नानी भर्खरै १६ महिनाकी थिइन् । त्यसकारण युके जाने कि नजाने भन्ने दोधारकै बीच भिसाका लागि एप्लाई गरिन् । भिसा लाग्यो । नानीलाई दूध चुसाउँदै एयरपोर्ट पुगिन् ।

१६ महिनाकी नानी नेपाल छाडेर युके उडेकी श्रीदेवी एक महिनापछि नेपाल फर्कंदा त छोरीले आमा नै चिनिन् । ‘कति समयसम्म त मेरी नानी मेरो छेउमै परिनन्’, श्रीदेवी भन्छिन्– ‘त्यसबेलाचाहिँ मलाई निकै नै पीडाबोध भयो ।’

‘युके जाँदा मेरा कोही साथी थिएनन्, कलाकारमा त म एक्लै थिएँ । उताको एयरपोर्टमा ओर्लिएपछि नेपाली दाजुभाइहरूले चिन्नुभयो,’ उनी सम्झन्छिन्– ‘तपाईं त कलाकार है भन्दै कफी खुवाउनुभयो । रुँदै–रुँदै युके पुगेकी म, एयरपोर्टमा नेपाली दाजुभाइहरू भेटिएपछि मन अलि हल्का भयो । ती दिन मेरा लागि अत्यन्तै सम्झनलायक थिए ।’

कार्यक्रम सकेर भोकभोकै घरतिर

नेपाली कलाकारका निम्ति कमाइका मुख्य स्रोत भनेकै स्टेज कार्यक्रमहरू हुन् । त्यसैले उनीहरू सकेसम्म एकै दिनमा धेरै कार्यक्रम भ्याउन प्रयास गर्छन् । कहिलेकहीं संयोगवश नै कार्यक्रम जुधिरहेका हुन्छन् । श्रीदेवीलाई पनि धेरै पटक त्यस्तो भएको छ ।

बिहान घरमा खाजा खाएर निस्केपछि साँझ घरमै आएर मात्र खाना खाएका अनगिन्ती अनुभव छन् उनीसँग । ‘कार्यक्रममा गएपछि कहिले खान पाइन्छ त कहिले भोकभोकै फर्कनुपरेका पनि थुप्रै अनुभव छन्’– श्रीदेवीले सुनाइन् ।

कार्यक्रममा जाँदा बिरामी परेर फर्किएको अनुभव भने उनमा छैन । भर्खरै नुवाकोटमा भएको साङ्गीतिक कार्यक्रमकै बेला झाडा–पखाला चलेकाले झन्डै–झन्डै कार्यक्रम गर्नै सकिनन् । ‘नुवाकोटको पछिल्लो कार्यक्रममा भने झन्डै सहभागी नै नभई फर्कनु परेको थियो,’ उनी भन्छिन्– ‘उद्घोषकले मलाई स्टेजमा बोलाए, म भने बाथरुमतिर कुदिरहेकी थिएँ । त्यसबेला निकै गाह्रो भएको थियो तर कार्यक्रम भने सकेर नै फर्किएँ ।’