प्राण व्यायामको ऊर्जा
डा. डीबी सुनुवारप्राण भनेको जीवन हो । प्राणबिनाको जीवन कल्पना गर्न सक्ने कुरै भएन । प्राणमै आधारित रही प्राकृतिक विधि अपनाएर गरिने सहज उपचार विधि हो– ‘प्राणिक हिलिङ’ । यो विधि एक प्रकारको व्यायाम समेत हो ।
ठाउँ र परम्पराअनुसार प्राण हिलिङसम्बन्धी आ–आफ्नै किसिमको व्याख्या तथा अवधारणा पाइन्छन् । प्राण व्यायामका टेक्निक मुलुकअनुसार विभिन्न किसिमका हुन्छन् । यस सम्बन्धमा केही ऐतिहासिक तथ्य छन् । चीन, जापान, युरोप, भेन हेल्मोन, इलिएजर, हिबु्र, हुवेइजस्ता ठाउँ र परम्पराअनुसार प्राण हिलिङका विभिन्न टेक्निक र विधि छन् ।
यो विधि जापानमा रेकी नामले चिनिन्छ र प्रयोग हुन्छ । यो विधि चीनमा ‘चि गोङ’ नामले परिचित छ । यस विधिलाई पश्चिमा मुलुकहरूमा पनि निकै महत्वका साथ लिइन्छ । श्वास–प्रश्वास मजबुत बनाउने यो विधिलाई पश्चिमाहरूले ‘लाइफ फोर्स’ विधिका रूपमा लिएका छन् ।
प्राणिक हिलिङलाई मानव जीवन जिउने क्रममा सहजताका लागि सिर्जना गरिएको परम्परागत विज्ञान र कलाको संयोजनका रूपमा लिइन्छ । आध्यात्मिक माध्यमबाट शारीरिक तथा मानसिकरूपमा स्वस्थ रहने तथा मजबुत बन्ने सरल र सहज उपाय हो प्राणिक हिलिङ ।
जसरी पञ्च–तत्वलाई ब्रह्माण्डीय शक्तिका रूपमा लिइन्छ, त्यसैगरी प्राणिक हिलिङलाई पनि जीवन जिउने आधारका रूपमा लिइन्छ । ब्रह्माण्डमा भएका प्रत्येक सजीव तथा निर्जीव, प्राणी तथा वस्तुमा शक्ति हुन्छ भन्ने मानिन्छ । भनिन्छ, ढुङ्गाको पनि आयु हुन्छ । ढुङ्गाको पनि निश्चित समयसम्म मात्र जीवन हुन्छ; त्यसपछि खिइएर बालुवा हुँदै बिलिन हुन्छ ।
मानव जीवन संरचनामा पनि शक्ति हुन्छ । मान्छेमा बाहिर÷दृश्यमा मात्र नभई भित्र/अदृश्यरूपमा समेत शक्ति हुन्छ । त्यसैले त जीवन रहन्छ, चल्छ । यही जीवनमा कुनै एक तत्व असन्तुलित हुन पुग्दा शारीरिक वा मानसिक वा दुवै खाले अस्वस्थता निम्तन्छ; रोग लाग्न सक्छ; जीवनलीला नै समाप्त हुन सक्छ ।
आकाश, हावा, पानी, ताप र पृथ्वी नै पञ्च–तत्व हुन् । यीमध्ये कुनै एकको अभावमा जीवन सम्भव हुँदैन । प्राणिक हिलिङको स्रोतका रूपमा पनि ध्वनि, हावा र पृथ्वीलाई मुख्यरूपमा लिइन्छ । यसको अर्थ, यिनै तत्वको माध्यमबाट प्राणीमा शारीरिक तथा मानसिक जीवन सम्भव र सफल हुन्छ भन्ने हो ।
प्राण व्यायामका टेक्निक
प्राणिक हिलिङमा प्राण वायुलाई सन्तुलित राख्न उपचारक (हिलर) ले स्वास्थ्य समस्या भएको व्यक्तिलाई ब्रह्माण्डीय ऊर्जा लिई ध्यान गर्न लगाउँदछ । बिरामीलाई जसरी बस्न सहज लाग्छ, त्यसैगरी बसेर शरीरलाई हल्का र सहज बनाउन लगाइन्छ । त्यसपछि हिलर बिरामीको अगाडि बस्छ र बिरामीलाई बिस्तारै दुवै हात टाउकोभन्दा माथि उचाल्न लगाउँछ । त्यसपछि एउटा हात तल झार्न लगाइन्छ र अर्को हात आकाश थामेजस्तै गरी आकाशतिर फर्काउन लगाइन्छ । यसरी हात आकाशतिर फर्काउनुको उद्देश्य हो– हातमा ब्रह्माण्डीय ऊर्जा सञ्चित गर्नु ।
माथि उचालिएको हातले ब्रह्माण्डीय ऊर्जा प्राप्त भएको महसुस बिरामीलाई गराउँदै अर्को हातले ऊर्जा दिँदै सेक्न लगाइन्छ, थपथपाइन्छ । शरीरको जुन भागमा समस्या भएको छ, त्यही भागमा यस्तो प्रक्रियाद्वारा सेक्न लगाइन्छ । करिव १५ पटकजति यो प्रक्रिया दोहोर्याउनु उचित हुन्छ । यसो गर्दा ऊर्जा प्राप्त भएको बिरामीलाई महसुस हुन्छ; शारीरिक तथा मानसिकरूपमा आफू स्वस्थ भएको अनुभूति हुन्छ ।
व्यायामको यो विधि बिरामीले हिलरबिनै आफैं पनि अपनाउन सक्छन् । यो विधि नियमित अपनाउनाले विभिन्न रोगबाट बच्न सकिन्छ ।
प्राणिक हिलिङका विभिन्न प्रक्रिया हुन्छन्– शरीरका विभिन्न अङ्गलाई सहज बनाउने, आनन्दित तुल्याउने, श्वास–प्रश्वास सहज गराउने, सहजरूपमा शरीरका विभिन्न अङ्गको व्यायाम गर्ने, शरीरलाई धेरै दुःख नदिई व्यायाम गर्नेजस्ता टेक्निक हुन्छन् । शरीरलाई धेरै दुःख नदिई सहजरूपमा गर्ने व्यायाम तथा श्वास–प्रश्वासले शरीरमा अक्सिजनको बहाव सहज भई शारीरिक तथा मानसिकरूपमा स्वस्थ रहन सकिन्छ ।
छैन हानि, लाभैलाभ मात्र
माथि नै चर्चा गरिसकियो कि मानव शरीरमा ऊर्जा हुन्छ । शारीरिक बनावटका लागि पनि ऊर्जा अत्यावश्यक हुन्छ । ऊर्जावान् रहनका लागि आत्माको पनि निकै ठूलो भूमिका हुन्छ । आत्मा मजबुत भएमा शारीरिक तथा मानसिक ऊर्जा पनि प्रबल हुन्छ ।
प्राणिक हिलिङका पनि विभिन्न नियम छन् । शरीरमा ऊर्जा प्राप्न गर्ने मुख्यतः दुईथरी स्रोत हुन्छन्– आफैं प्राप्त गर्ने ऊर्जा तथा अन्य व्यक्तिको सहायता लिई हासिल गरिने ऊर्जा । अरुमार्फत प्राप्त गरिने होस् वा आफैंमा सिर्जित किन नहोस्, प्राणिक हिलिङ भनेको सहजरूपमा ऊर्जा प्राप्त गर्ने विधि हो । एक, दुई, तीन, चार, पाँच… गर्दै विभिन्न चरण पार गरेर प्राणिक हिलिङ प्रक्रिया अपनाएर ऊर्जा प्राप्त गर्न सकिन्छ ।
प्राणिक हिलिङ विधि अपनाउँदा विभिन्न रोगबाट बच्न र शारीरिक तथा मानसिक स्वास्थ्यलाभ गर्न सकिन्छ । यो विधिले सकारात्मक सोचको विकास समेत गराउँछ । यसले सिर्जनात्मक क्षमताको विकासमा पनि सहयोग पुर्याउँछ । यो विधि अपनाउनाले हर्मोनमा भएको गडबडी सन्तुलित हुने, श्वास–प्रश्वासको समस्या समाधान हुने, खानामा अभिरुचि घट्न नदिने तथा पाचन प्रणालीमा सघाउ पुर्याउने जस्ता लाभ मिल्छ । यो व्यायामले टाउको दुख्ने, तनाव हुने, शरीर दुख्ने, छालारोग जस्ता समस्याको समाधानमा पनि राम्रो सघाउ पुर्याउँछ ।
शरीर ७० प्रतिशत पानी र ३० प्रतिशत अरु तत्वको संयोजनबाट बनेको हुन्छ । त्यसैले, स्वस्थ रहनका लागि सामान्यतः दैनिक चारदेखि पाँच लिटरसम्म पानी पिउनु उचित हुन्छ । बसेको हावा–पानी, भूगोल, खानपान, उमेर तथा तौलअनुसार पानी पिउनुपर्छ ।