मस्तिष्क मृत्यु घोषणासम्बन्धी कानुनी व्यवस्था

अधिवक्ता लक्ष्मण बस्याल

मानव शरीरको अङ्ग प्रत्यारोपण (नियमित तथा निषेध) ऐन, २०५५ ले अङ्ग प्रत्यारोपणसम्बन्धी व्यवस्था गरेको छ । सो ऐनको प्रस्तावनामा नै उल्लेखित आधुनिक चिकित्सा प्रणालीअनुसार व्यवस्थितरूपमा रोगको उपचार गर्ने प्रयोजनका लागि मानव शरीरबाट अङ्ग झिक्ने तथा एक मानवको शरीरबाट अङ्ग झिकी अर्को मानवको शरीरमा प्रत्यारोपण गर्नेसम्बन्धी क्रियाकलापलाई नियमित गर्ने व्यवस्थाले मानव शरीरको अङ्ग खरिद–बिक्री तथा अन्य कार्यमा प्रयोग गर्नेसम्बन्धी क्रियाकलापलाई निषेध गर्ने व्यवस्था गर्न यो ऐन बनेको देखिन्छ ।

यो ऐन कार्यान्वयनका लागि मानव शरीरको अङ्ग प्रत्यारोपण (नियमित तथा निषेध) नियमावली, २०७३ पनि बनेको छ । नियमावलीको नियम ३ मा अनुमतिपत्रसम्बन्धी व्यवस्था रहेको छ ।

मस्तिष्क मृत्यु घोषणा

मस्तिष्क मृत्यु घोषणासम्बन्धी कानुनी प्रावधानको बारेमा चर्चा गरौं । मानव शरीरको अङ्ग प्रत्यारोपण (नियमित तथा निषेध) नियमावली, २०७३ को परिच्छेद ३ मा मस्तिष्क मृत्यु घोषणासम्बन्धी व्यवस्था रहेको छ । परिच्छेद ३ को नियम ६ मा प्रारम्भिक स्वास्थ्य परीक्षण गर्नुपर्ने व्यवस्था रहेको छ ।

नियम ६ को १ मा व्यवस्था भएअनुसार कुनै बिरामीको मस्तिष्कको पूर्ण क्षति भए वा नभएको यकिन गर्ने प्रयोजनका लागि चिकित्सकले त्यस्तो बिरामीको प्रारम्भिक स्वास्थ्य परीक्षण गर्नुपर्छ ।

त्यसैगरी, ऐनको दफा १२ (ख) को १ को (क) मा व्यवस्था भएअनुसार अप्रत्यावर्तनीय क्षति भएको, मस्तिष्क स्टेममा कुनै प्रतिक्रिया नभएको, बिरामीको शरीरमा प्राकृतिकरूपमा श्वास–प्रश्वास नभएको अवस्था रहेको खण्डमा मस्तिष्कको पूर्ण क्षति भए–नभएको यकिन गर्नका लागि चिकित्सकले परीक्षण गर्न सक्ने व्यवस्था छ ।

नियमावलीको नियम ७ मा मस्तिष्क मृत्युको घोषणा गर्ने व्यवस्था रहेको छ । नियम ७ को उपनियम (१) मा नियम ६ बमोजिम कुनै बिरामीको स्वास्थ्य परीक्षण गर्दा बिरामीको मस्तिष्क मृत्यु भएको यकिन भएमा चिकित्सकले ऐनको दफा १२ (घ) बमोजिम बिरामीको मस्तिष्क मृत घोषणा गर्नुपर्ने हुन्छ । यसका केही थप प्रावधान छन् ।

नियमावलीको नियम ८ मा भएको व्यवस्थाअनुरूप मस्तिष्क मृत्युको घोषणा गर्ने स्वास्थ्य संस्थामा हुनुपर्ने पूर्वाधारसम्बन्धी व्यवस्था छ । मस्तिष्क मृत्युको घोषणाका लागि नियम ८ को (क) मा कम्तीमा एक जना एनेस्थेसियोलोजिस्ट वा इन्टेन्सिभिस्ट र कन्सल्टेन्ट विशेषज्ञ चिकित्सक आवश्यक हुन्छ ।

त्यसैगरी, नियम ८ को (ख) मा गरिएको व्यवस्थाअनुरूप कम्तिमा दुई वटा भेन्टिलेटर हुनुपर्ने प्रावधान छ । नियम ८ को (ग) मा कम्तीमा दुई वटा मोनिटर सहितको आईसीयू हुनुपर्ने उल्लेख छ ।

त्यस्तै, नियम ८ को (घ) मा कम्तीमा एउटा एनेस्थेसिया मेसिन, मनिटर, भेन्टिलेटर, इलेक्ट्रो सर्जिकल युनिट (डायथर्मी) सहितको अप्रेसन थियटर हुनुपर्ने व्यवस्था छ । नियमावलीको नियम ८ को (ङ) मा स्वास्थ्य संस्था वा स्थानीयस्तरको अन्य अस्पतालमा आर्टरियल ब्लड ग्यास, सिटी स्क्यानको सुविधा हुनुपर्ने व्यवस्था छ ।

ऐनले यस्तो सुविधा भए–नभएको अनुगमन तथा जाँचबुझ गर्ने समितिको समेत व्यवस्था गरेको छ । नेपालमा यस्ता सुविधा गुणस्तरीय छन् कि छैनन् भन्ने विषयमा सम्बन्धित नियामक निकायले ध्यान दिनु अत्यावश्यक छ ।