‘एक्सन डाइरेक्टर’ किरणको कथा
केदारनाथ गौतम/शङ्कर क्षेत्री/बीएन अधिकारीचलचित्रकी द्वन्द्व निर्देशक हुन् किरण दाहाल । लामा–छोटा गरी दर्जनभन्दा बढी चलचित्रमा ‘सहायक द्वन्द्व निर्देशक’ तथा ‘द्वन्द्व निर्देशक’ का रूपमा उनले काम गरिसकेकी छन् ।
‘नेपालमा म नै पहिलो महिला एक्सन डाइरेक्टर हुँ,’ आफू नै नेपालको पहिलो र हालसम्म एक मात्र महिला द्वन्द्व निर्देशक भएको दावी गर्दै किरण भन्छिन्– ‘र, अहिलेसम्म अरु महिला द्वन्द्व निर्देशक देखिनुभएको छैन ।’ द्वन्द्व निर्देशकको भूमिकामा काम गर्ने आँट गर्नु उनका लागि चुनौती र अवसर दुवै हो । जेहोस्, उनले आँट गरिन् ।
किरणको द्वन्द्व–कलायात्रा
आफूले सुरुमा सहायक द्वन्द्व निर्देशकका रूपमा योगेन्द्र श्रेष्ठसँग काम गरेको सुनाउँदै किरण भन्छिन्– ‘सुरु–सुरुका दिनमा योगन्द्र श्रेष्ठ गुरुलाई असिस्ट गरेें, फिल्म क्षेत्रमा उहाँ नै मेरो गुरु हुनुहुन्छ ।’ ‘लुट’, ‘छड्के’, ‘पीपल’, ‘पद्मिनी’, ‘पुन्टे परेड’, ‘हम जायगा’, ‘टिम्फोर’ लगायतका चलचित्रमा आफूले सहायक द्वन्द्व निर्देशकका रूपमा काम गरेको उनको भनाइ छ । केही भोजपुरी फिल्ममा समेत सहायक द्वन्द्व निर्देशकका रूपमा उनले काम गरिन् ।
बिस्तारै–बिस्तारै खारिँदै गइन्, कलामा निखार आउँदै गयो । काम गर्दै जाँदा किरण ‘सहायक द्वन्द्व निर्देशक’ बाट ‘द्वन्द्व निर्देशक’ मा ‘अपग्रेड’ भइन् । वीरेन्द्र हमालले पहिलो पटक किरणलाई द्वन्द्व निर्देशकका रूपमा काम गर्ने अवसर दिए । ‘वीरेन्द्र हमाल सरले मलाई फस्र्ट बे्रक दिनुभएको हो,’ कृतज्ञता प्रकट गर्दै उनी भन्छिन्– ‘उहाँले अवसर नदिनुभएको भए सायद म द्वन्द्व निर्देशक नै पनि हुँदैनथें होला ।’
किरण द्वन्द्व निर्देशक बनेर बनाइएको पहिलो चलचित्र हो– ‘सारङ्क’ । त्यसपछि ‘तरङ्ग’, ‘कुइनेटो’, ‘अगापे प्रेम’, ‘बाह्रमासे’ आदि उनले द्वन्द्व निर्देशन गरेका चलचित्र हुन् । पहिलो चलचित्रमा द्वन्द्व निर्देशन गर्दा नै उनले राम्रै पारिश्रमिक पाइन् । ‘पहिलो मुभीमा ५० हजार रुपैयाँ पाएकी थिएँ’– उनले सुनाइन् ।
बाल्यकालमा छुच्ची
बाल्यकालमा निकै छुच्चो स्वभावकी रहिछन् किरण । आत्मरक्षा मात्र होइन, गाउँका कोही केटीलाई अरु गाउँका केटाहरूले जिस्क्याए भने तिनीहरूलाई बजाइहाल्दी रहिछन् । उनी खेल पनि केटाहरूकै खेल्दिरहिछन् । केटी भएर केटाको जस्तो स्वभाव र व्यवहार हुँदा बारम्बार बुबा–आमाको गाली त खाने नै भइन् । ‘मेरो बानीका कारण बाबा–ममीले गाली गरिरहनुहुन्थ्यो’– किरण सम्झन्छिन् ।
द्वन्द्व निर्देशक किरण दाहाल बाल्यकालमा कपडा पनि केटाहरूले लगाउने नै लगाउँथिन् । स्कुल पढ्दा घरबाट भागीभागी कराँते सिक्न जाँदी रहिछन् । ‘छोरीले कराँते सिकी भने मान्छे कुट्छे भन्ने बाबा–ममीलाई डर थियो’– उनले सुनाइन् ।
पछि गएर चलचित्रको द्वन्द्व निर्देशक नै बन्छु भन्ने त बाल्यकालमा के थाहा ! सर्लाहीमा जन्मिएकी उनी गाउँकै स्कुलबाट एसएलसी परीक्षा दिनासथ जबर्जस्ती काठमाडौं हुइँकिइन् ।
गाउँकै एक आन्टीको घरमा बस्छु भनेर घरबाट हिँडेकी उनी बानेश्वर आइपुगेपछि अल्मलिइन् । फोन नम्बर थिएन; एक अपरिचित महिलासँग ‘चाबहिल जाने बाटो’ सोधिन् । ‘चाबहिलमा तिमी हराउँछ्यौ’ भनेर ती महिलाले किरणलाई आफ्नै घर लगिन् । तिनै महिलाले उनलाई सीडी पसलमा जागिर लगाइदिन् ।
केही समयपछि किरण कराँते सिक्न रङ्गशाला धाउन थालिन् । रङ्गशालामै हो योगेन्द्र श्रेष्ठँग उनको चिनजान भएको । त्यही क्रममा उनले चलचित्रका ‘फाइट’ पनि सिकिन् । त्यसपछि चलचित्रमा ‘सहायक द्वन्द्व निर्देशक’ हुँदै ‘द्वन्द्व निर्देशक’ बन्ने अवसर पाइन् ।
सिक्दै गएपछि द्वन्द्व सिकाउने गुरु समेत भइन् । नेपालका राम्रा मानिने र चलेका कलाकारहरूलाई समेत उनले द्वन्द्व सिकाएकी छन् । चलेका कलाकारलाई द्वन्द्व सिकाउन सुरु–सुरुमा डर–डर लागेजस्तो पनि भयो तर बिस्तारै सामान्य लाग्न थाल्यो ।
दैनिकी र खानपान
द्वन्द्व निर्देशक किरण बिहान ४ बजे नै उठ्छिन् । चिया–पानी पिउँछिन् र चना–दूध खान्छिन् । त्यसपछि ‘फाइट’ सिकाउनका लागि ६ बजे क्लासतिर हिँड्छिन् । यतिबेला भने धेरै विद्यार्थी नभएको सुनाउँदै उनले भनिन्– ‘कोरोना महामारी सुरु भएयता त दुई जना मात्रै स्टुडेन्ट हुनुहुन्छ ।’
क्लासबाट निस्कँदा करिब १० बज्छ । कोठामा फर्कन्छिन् र खाना बनाएर खान्छिन् । बाह्र बजेसम्ममा खानपिन गरिसक्छिन् । राजधानीको अनामनगरमा बस्ने उनी पैदल हिँडेर फाइट सिकाउन नयाँ बानेश्वरसम्म ओहोरा–दोहोर गर्छिन् ।
‘लडाकु’ किरण माछा–मासु कमै मात्र खान्छिन्; सागसब्जीमै बढ्ता जोड दिन्छिन् । ‘चम्सुर, पालुङ्गो र रायोको साग खूब मन पर्छ,’ उनी भन्छिन्– ‘मासु त आक्कलझुक्कल मात्रै खान्छु ।’ कुखुरा र खसीबाहेकको मासु खाँदिनन् ।
बिहानको खानपानपछि दैनिक काममा निस्कन्छिन् । फुर्सदका दिन साथीभाइसँग भेटघाट गर्छिन् र चिया–कफी पिउँछिन् । ‘दिउँसो हिँडडुल गरिन्छ र साथीभाइ भेटिन्छ,’ उनले सुनाइन्– ‘फिल्मका कुरा हुन्छन्, अरु विभिन्न कामका कुरा हुन्छन् । सधैंभरि फिल्मको काम हुँदैन ।’
बेलुकी करिब सात बजेसम्म घर फर्किइसक्छिन् । केही समय यता भने किरणले बेलुकीको खानाका रूपमा रोटी–तरकारी खाने गरेकी छन् । कडा ट्रेनिङ भएको दिन भने साँझ पनि भात नै खान्छिन् । कमाइ थोरै भएकाले पैसा नहुने भन्दै फलफूल खासै खाने नगरेको उनले सुनाइन् । ‘फलफूल खान त ब्यालेन्स कम हुन्छ,’ उनले भनिन्– ‘त्यसैले खासै खान्नँ ।’
बेलुकीको खानपानपछि उनी फिल्म हेर्छिन्, फिल्मका काम कसरी गर्ने भन्नेबारे केही ‘वर्कआउट’ पनि गर्छिन् र समाचार हेर्छिन् । ११ बजेसम्ममा सुतिसक्छिन् ।
लकडाउनमा तरकारी बेचिन्, अहिले चटपटे बेच्दै
चलचित्र क्षेत्रकी चर्चित कर्मी भएर कामलाई ‘सानो–ठूलो’ मान्दिनन्÷ठान्दिनन् किरण । लकडाउनका बेला अनामनगरको फुटपाथमा बसेर तरकारी बेचेकी उनी अहिले पनि अनामनगरमै चटपटे बेच्छिन् । चटपटे बिक्रीबाट दैनिक चार–पाँच सय रुपैयाँ कमाइ हुने उनले बताइन् । फिल्मको काम नभएका दिन यही पेशाबाट आर्जन् गर्छिन् ।
कोरोनाभाइरस महामारीअघि चलचित्रका काम पाउँन थालिसकेकी थिइन् । ‘लकडाउनअघि त सर्ट मुभीहरू गरिरहेकी थिएँ; फाइट क्लास पनि हुन्थ्यो,’ उनी भन्छिन्– ‘ब्युटीसियन पेशा पनि सिकेकी हुनाले घरमै गएर समेत त्यो काम पनि गर्थें, दिउँसो फ्री टाइममा म्यामहरूले घरमै बोलाउनुहुन्थ्यो ।’
‘फाइट सिकेकी केटीले ब्युटीसियनको काम के गर्ली र’ भनेर सुरु–सुरुमा त कतिपय हिच्किचाउँथे । काम गर्न थालेपछि भने सबैले रुचाए । ‘काम देखिसकेपछि आन्टीहरूले चित्त बुझाउनुहुन्थ्यो,’ किरणले भनिन्– ‘सबैथरी काम गर्दा पैसाको अभाव थिएन ।’
लकडाउन सुरु भएपछि चलचित्रका काम ठप्पैजसो भए । न ब्युटीसियन काम चल्यो, न त ट्रेनिङ कक्षा नै । त्यसपछि आर्थिक सङ्कट सिर्जना भयो । पैसाको जोहो गर्ने मौका नै पाइनन् । किरणलाई यतिसम्म आर्थिक सङ्कट आइलाग्यो कि केही दिन त खाना समेत खान पाइनन् । ‘चार–पाँच दिन त खाना नै खाइँन, तातो पानी तताएर खाँदै जीवन धानें,’ भावुक हुँदै उनले भनिन्– ‘एकदमै गाह्रो भयो ।’
आर्थिक सङ्कटमा छटपटिँदै किरणले उपाय निकालिन्– ‘अब लकडाउनभर तरकारी बेच्छु ।’ तरकारी पसल नै गरेका केहीसँग सल्लाह लिइन् । फाइदा हुन्छ, तरकारी व्यापार गर भनेर कसैले पनि सल्लाह दिएनन् ।
एक दिन भने अनौठो संयोग जुर्यो । चिनेकी एक जना गीता दिदीको होटलमा पुगेर चिया पिइन् । खल्तीमा जम्मा बीस रूपैयाँ थियो, त्यही पैसा चियामा खर्चिइन् । चिया पिउँदै ती दिदीलाई समस्या सुनाइन् । उनै गीता दिदी र तिनका श्रीमानले तरकारी व्यापार गर्न सल्लाह दिँदै चार सय रूपैयाँ नगद दिए । ती दिदी तरकारीको होलसेलसम्म पुगेर बजार समेत देखाइदिइन् । चार सय रुपैयाँको सागसब्जी किनेर ‘एक्सन डाइरेक्टर’ किरणले त्यही दिनदेखि अनामनगरस्थित भाटभटेनी अगाडिको फुटपाथमा बेच्न थालिन् । बेलुकीसम्ममा सबै बिक्री भयो, किनेको तरकारी फाल्नु परेन ।
तरकारी बेचिसकेर किरणले पैसा गनिन्, आठ सय रुपैयाँ जम्मा भएछ । चार सयमा किनेको तरकारीबाट आठ सय जम्मा भयो । व्यापारको खुसी सम्झँदै किरणले सुनाइन्– ‘डब्बलै पो भएछ, चार सय रुपैयाँ त नाफा नै भैहाल्यो । त्यसपछि त खुसी नहुने कुरै भएन ।’ व्यापारकै तरकारी अलिकति बचाइन्, चामल किनिन् र बेलुकी मजाले भात खाइन् ।
भोलिपल्टदेखि अझ बढी तरकारी किनिन् र व्यापारलाई निरन्तरता दिइन् । गीता दिदीले दिएको चार सय रुपैयाँ पनि व्यापारबाटै कमाएर केही दिनपछि तिरिन् ।
लकडाउनका बेला तरकारी ल्याउन सहज थिएन । ढुक्कले बसेर तरकारी बेच्ने सहज अवस्था पनि थिएन । बिहान सबेरै पैदल हिँड्दै कहिले जडीबुटी त कहिले तीनकुने पुगेर बोरामा नाम्लो लगाई बोकेर ल्याउँथिन् । ‘जीवनमा कहिल्यै टाउकोमा नाम्लो नलगाएकी मैले बिहानै भारी बोकेर तरकारी ओसारें ।’ कहिलेकहीं प्रहरीले लखेट्थे । प्रहरीका आँखा छल्दै तरकारी बेचेका दिन सम्झँदै किरणले सुनाइन्– ‘प्रहरी दाजुभाइले गाली गर्नुहुन्थ्यो, लुकीलुकी बेच्थें ।’
गाडी चल्न थालेपछि उनले गाडीमै ल्याएर पनि तरकारी बेचिन् । डेढ महिनायता भने तरकारी कम र चटपटे बढी बेच्न थालेकी छन् उनले । बिहानको खानपानपछि दिउँसोदेखि बेलुकीसम्म नै चटपटे बेच्ने गरेको उनले सुनाइन् ।
द्वन्द्व निर्देशकले तरकारी बेच्न थालेको थाहा पाएपछि सञ्चार माध्यममा उनीबारे स्टोरी पनि आए । युट्युबरहरू पनि झुम्मिने नै भए । ‘धेरै पत्रकारहरू आउनुभयो,’ उनले भनिन्– ‘सुरु–सुरुमा त इन्टरभ्यु दिन मानिनँ, अलि पछिदेखि भने अन्तर्वार्ता पनि दिँदै गएँ ।’
उनले तरकारी बेचिरहेको खबर सञ्चार माध्यममा आएपछि कतिले त ‘छिः के काम गरेको होला’ पनि भनेछन् । ‘ठूलठूला व्यक्तिले समेत ‘ए यो त तरकारी बेच्न पो थालिछ’ भन्नुभयो तर, मलाई पटक्कै दुःख लागेन ।’ पढालेखा मान्छेहरूले समेत ‘के तरकारी बेचेर बसेकी’ भनेछन् उनलाई । तर, लकडाउनले उनलाई सिकाइसकेको थियो– ‘कुनै पनि काम सानो र ठूलो हुँदैन ।’ किरण भन्छिन्– ‘तरकारी बेच्दैमा ‘सानो मान्छे’ भइन्छ भन्ने लाग्दैन मलाई त ।’
सुटिङ अनुभव
सुटिङका क्रममा चोभारको एउटा रमाइलो प्रसङ्ग किरणले सुनाइन् । फिल्मको सुटिङ चलिरहेको थियो; उनी द्वन्द्व निर्देशनमा व्यस्त थिइन् । नजिकै अर्को चलचित्रको पनि सुटिङ चलिरहेको थियो । महिला द्वन्द्व निर्देशकले काम गरिरहेको देखेपछि अर्को चलचित्रको सुटिङ युनिटका अधिकाङ्श मान्छे आफ्नो काम छाडेर उनको निर्देशन हेर्न आएछन् ।
‘सारङ्क’ चलचित्रको सुटिङका क्रममा उनको आँखामा चोट लागेको रहेछ । त्यसै दिन ‘फाइट सिन’ सक्नुपर्ने थियो । डाक्टरसँग अनुरोध गरेर दस–पन्ध्र मिनेटमै टाँका लगाइवरी फर्केर निर्धारित समयमै सुटिङ भ्याइदिएको उनले बताइन् । उनलाई अहिले पनि केही चलचित्रमा काम गर्न अफर आइरहेका छन् । अब भने कोरोनाको सन्त्रास घटिरहेकाले काम सुरु हुने उनको अपेक्षा छ ।
द्वन्द्व निर्देशक किरण खासै मेकअप गर्दिनन् । बिरामी भएर अस्पताल भर्ना हुनु परेको पनि छैन । ५८ किलोग्राम तौलकी ३७ वर्षीया किरण ५ फिट अग्ली छन् ।