कागलाई पनि ठग्ने कोइली
कृष्णप्रसाद भुसालकाग र कोइली हेर्दा उस्तै–उस्तै देखिन्छन् । दुवै कालो रङ्गका चरा हुन् । काग र कोइलीसँग जोडेर धेरैथरी कथा र उखान आमरूपमा प्रचलित छन् । घना सहरका टोलदेखि दूरदराजका गाँउसम्ममा देखिने कागहरू हाम्रै घर–वस्ती वरपर बस्न रुचाउँछन् । यी मानिसजातिका नजिकका साथी पनि हुन् ।
सूचनावाहक चराका रूपमा हेरिने कागले विभिन्न खाले फोहरहरू खाइदिएर वातावरण सफा राख्न सघाउने मात्र होइन, नचिनेका मान्छे वा जङ्गली जनावर आएमा मानिसलाई तीबाट सुरक्षित रहन सचेत समेत गराउँछन् ।
बढ्दो सहरीकरण, प्रदूषण र फोहरमैलासँग पनि कागहरू अनुकूलित बन्दै गएकाले होला, नेपाल पन्छी संरक्षण सङ्घले प्रत्येक छ–छ महिनामा काठमाडौं उपत्यकाका चौबीस स्थानमा गर्ने सहरी चरा गणनामा अन्य प्रजातिका चराहरू हराउँदै गएको देखिए पनि कागको सख्या भने बढ्दै गएको देखिन्छ ।
नेपालमा घर काग, कालो काग (वन काग), टेमु, टुङ्गा र राजा काग गरी पाँच प्रजातिका काग पाइन्छन् । तपाईं–हामीले घर वरपर देख्ने घर काग हो । समूहमा बस्ने कागले आफ्नो क्षेत्र निर्धारण गरेर गुँड बनाउँछन् र त्यस छेउछाउ मानिस वा अन्य ‘शत्रु जीव’ पुग्दा रिसाउँने, ठुग्न खोज्ने, आफ्नो परिवारका सबैलाई बोलाएर जोडतोडले कराउँदै धपाउने गर्छन् । कागले अन्य चराहरूलाई सताउने, तर्साउने र आक्रमण समेत गर्ने गरेर अन्ततः आफ्नो क्षेत्रबाट विस्थापित नै गराउँछन् । कागलाई सबैभन्दा बाठो चरा ठानिन्छ । त्यसैले होला, अत्यन्त चतुर मान्छेलाई हामी ‘कागको फुल चोर्लाजस्तो बाठो’ भन्ने गर्छौं । कागका ‘बौद्धिकता’ र चलाखीका कथा तथा प्रसङ्गहरू अन्य चराहरूको भन्दा धेरै नै सुनिन्छ ।
कोइली पनि तपाईं–हामीले नाम सुनेकै चरा हो । सुमधुर स्वरको प्रतीक मानिने कोइलीको ‘कुहु–कुहु’, ‘काफल पाक्यो’, ‘बिउ कुहियो’ जस्ता विभिन्न आवाज वसन्त ऋतुको आगमनसँगै वनपाखामा गुञ्जन्छन् । सुरिलो स्वर र लामो दूरीको बसाइँसराइ तथा आफैं गुँड नबनाउनेजस्ता कारणले कोइली चर्चित छ ।
अफ्रिकी महादेशबाट करिव पाँच हजार किलोमिटरभन्दा लामो दूरी पार गर्दै जुरे कोइली ग्रीष्म याममा नेपाल भित्रन्छ । चिनियाँ राजधानी बेइजिङ नजिकबाट ‘स्याटेलाइट ट्याग’ लगाएर छाडिएका दुई कुक्कु कोइली हजारौं माइल यात्रा गर्दै, दर्जनौं देश र महासागर नाघी अफ्रिकासम्म पुगे । एक वर्षमा सोह्र देश हुँदै अफ्रिका पुगेर फर्कंदासम्म तिनले कम्तीमा २७ हजार किलोमिटर यात्रा गरेको ‘स्याटेलाइट ट्याग’ मार्फत प्राप्त सूचनाले पुष्टि गरेको छ । उनीहरूको त्यो यात्रा झन्डै आधा संसारको यात्रा हो ।
उत्तरी चीनबाट अफ्रिका बसाइँसराइ गर्ने कोइली चराहरूको रोचक यात्राले मानिस, पारिस्थीतिकीय प्रणाली र राष्ट्रहरूलाई जैविकरूपमा जोडिरहेका छन् । कोइलीजस्तो सानो चराले गरेको त्यस्तो साहसिक र जोखिमपूर्ण यात्रा प्रेरणादायक छ । नेपाल वायुसेवा निगमले पनि आफ्ना केही जहाजमा कोइलीको फोटो अङ्कित गर्ने र नाम नै ‘कोइली’ राख्ने गरेको थियो । तर, नेवानिले कोइलीकै जस्तो सार्थक, लामो र नियमित उडान भर्न भने सकिरहेको छैन ।
नेपालमा पाइने १९ प्रजातिका कोइलीमध्ये १५ प्रजातिले आफ्नो गुँड बनाउँदैनन्, अरु नै चराको गुँडमा अण्डा पार्दछन् । त्यसपछि जुन चराको गुँडमा कोइलीले अण्डा पारेको छ, सोही चराले आफ्नै सन्तान ठानेर कोइलीको बच्चा हुर्काउँछ । कुहु कोइलीले कागको गुँडमा अण्डा पार्दछ र ओथारो बस्ने, चल्ला कोरल्ने र हुर्काउने सम्पूर्ण काम कागले नै गर्दछ ।
बाठो कागले प्रायः रुखको माथि–माथि टुप्पामा गुँड बनाउँछ र निकै सतर्कताका साथ बचेराको रेखदेख गर्दछ । कागको उक्त गुँड वा ओथारोबाट उसलाई विचलित बनाउने उद्देश्यले कोइलीका भाले–पोथी भने गुँड नजिकै गएर कागलाई जिस्काउँछन् । काग पनि के कम ! भाले–पोथी नै मिलेर निकै पर–पर पुग्ने गरी कोइलीलाई लखेट्छन् । र, त्यही बीचमा बडो चलाखीपूर्वक कागलाई छल्दै पोथी कोइलीले कागको गुँडमा अण्डा पार्दिन्छ । आफूले निकै पर पुग्ने गरी लखेटेको कोइली आउन सक्दैन भनेर काग फर्किएर आउँदा त गुँडमा कोइलीले अण्डा पारी छाडेर गइसकेको हुन्छ ।
कोइलीमा छिट्टै अण्डा पार्न सक्ने विशिष्ट गुण हुन्छ भने अण्डा पनि कागकै अण्डासँग मिल्दोजुल्दो हुन्छ । सबै अण्डा आफ्नै ठानेर कागले ओथारो बसी बच्चा कोरल्ने र हुर्काउने काम गर्छ । तर, अन्त्यमा त्यो बच्चा कागको नभएर कोइलीको हुन्छ ।
यसरी कोइलीले आफ्नो बचेरा अर्कैको काखमा हुर्काउन लगाउँछ । हुर्केपछि भने कोइलीले आफ्नो त्यो बच्चा फकाएर आफैंसँग लैजान्छ । त्यसैले होला– ‘कागका चल्ला कागैतिर, कोइलीका चल्ला कोइलीतिर’ भन्ने उखान बनाइएको ! कोइलीबाहेक अन्य चराले आफ्नै गुँड बनाएर, आफ्नै गुँडमा, आफैंले चल्ला कोरल्ने हुँदा कोइलीलाई ‘स्वार्थी र अरूको श्रममा आश्रित चरा’ पनि ठानिन्छ/भनिन्छ । तर, कागजस्तो ‘बाठो’ चरालाई पनि झुक्याउन सक्ने भएकाले होला– ‘कागभन्दा कोइली बाठो’ भन्ने उखान प्रचलनमा आएको ।
अन्य प्रजातिका कोइली पनि अण्डा पार्ने बेला खुसुक्क जुरेली, धोबिनी, भ्याकुर, फिस्टा, चाचर, तोरीगाँडाजस्ता अरू सानातिना चराको गुँडमा जान्छन् र त्यहीं अण्डा पार्छन् । ओथारो बसेका चराले थाहा नपाऊन् भनेर कतिपय अवस्थामा त ती चराले पारेको फूल पनि कोइलीले खसालेर फुटाइदिन्छन् । एउटा गुँडमा एउटै मात्र अण्डा पार्ने कोइलीले एक प्रजनन अवधिमा फरक–फरक गुँडमा दर्जनजति अण्डा पार्दछन् ।
स–साना यी चराहरूका बच्चा कोरलिँदा भने कोइलीका ठूलठूला बचेरा जन्मन्छन् । आफूभन्दा दोब्बर ठूलो ‘काफल पाक्यो’ कोइलीको बच्चालाई आहार खुवाउँदै धोबिनी चरीले हुर्काउँछे । फिस्टे चराले आफूभन्दा तीनगुणा ठूलो खञ्चुवा कोइलीलाई सकी–नसकी चारो खोजेर खुवाउँदै अत्यन्त कष्टसाथ हुर्काउँछ । हुर्काउँदै जाँदा ‘यो आफ्नो सन्तान होइन’ भन्ने आभास त ती चराहरूले निश्चय नै पाउँछन् होला । तर, जन्माएदेखि विकसित हुँदै आएको मातृत्वभाव र भावनात्मक सम्बन्धका कारण ती बचेरा पूर्णरूपले सक्षम भएर बच्चा स्वयम्ले नछाडुन्जेल बचेराको ख्याल गरिरहेकै हुन्छन् । सम्बन्धप्रति वफादारिताको यो उच्चतम नमूना हो ।
मधुर स्वरले सबैलाई मन्त्रमुग्ध तुल्याउने कोइलीभित्र लुकेको स्वार्थीपन देख्दा पक्षीमा समेत ‘बोली र व्यवहारचाहिँ एकै हुँदोरहेनछ’ भन्ने अनुभूति हुन्छ । कोइलीबाट ‘ठगिइरहने’ कागलाई हेर्दा जति नै ‘बाठो’ र धूर्तताको घमण्ड भए पनि त्यो पूर्णचाहिँ हुँदोरहेनछ भन्ने बुझिन्छ । तर, जेहोस् सदियौं अघिदेखि नै विकसित भएको यी दुई चराबीचको सम्बन्ध भने निरन्तर चलिरहोस् ।
लेखक पछीविज्ञ हुन्