हिन्दी चलचित्र ‘बर्फी’ ले चम्किएका भोला

होलिस्टिक संवाददाता

अभिनेता भोलाराज सापकोटा नेपाली फिल्म क्षेत्रमा मात्र नभएर भारतीय फिल्ममा समेत उत्तिकै चर्चित छन् । बलिउड फिल्म ‘बर्फी’ मा अभिनय गरेपछि उनको चर्चा चुलिएको हो । एक समय रणवीर कपुरसँग उनको खूब दोस्ती थियो । अहिले पनि उनीसँग राम्रै कुराकानी भइरहेको भोला बताउँछन् ।

उनले अडिसन पास गरेर ‘बर्फी’ चलचित्रमा अभिनय गरेका थिए । यही चलचित्रमा अभिनय गरेका कारण नेपाल र भारतका धेरैजसो कलाकार र दर्शकले उनलाई चिनेका हुन् । यो चलचित्र अत्यधिक रुचाइएको थियो ।

२०५० मा ‘मूर्ख बिरामी’ नाटकबाट उनको अभिनय–यात्रा सुरु भएको हो । नेपाली फिल्ममा भने ‘सानो संसार’ बाट यात्रा सुरु भएको हो । हाल छायाङ्कन भइरहेको ‘कौसिद’ उनको २०औं चलचित्र हो । यसमा ऋचा शर्मा अभिनेतृ रहेकी छन् । प्रस्तुत छ, उनै अभिनेतासँग होलिस्टिककर्मी बीएन अधिकारीले गरेको स्वास्थ्य–संवाद–

कस्तो चल्दैछ दिनचर्या ?
चलचित्र कौसिदको छायाङ्कन भइरहेको छ । त्यसैमा दौडिरहेको छु । कलेज पनि पढाइरहेको छु । अरु बेला भए नाटक सिकाइरहेको हुन्थें होला; कोरोना त्रासका कारण अहिलेको माहोल अलि फरक छ ।

बिहान कति बजे उठ्नुहुन्छ ? अनि के–के गर्नुहुन्छ ?
बिहानको उठाइ ६ बजे हुन्छ । उठेपछि मर्निङ वाक गर्छु, व्यायाम गर्छु र हट लेमन पिउँछु ।

दिनभर कुन–कुन समयमा के–के खाने गर्नुभएको छ ?
हट लेमन पिएको एक–डेढ घन्टापछि खाना खाएर कामतिर लाग्छु । बिहान खाजा खाने बानी छैन । दिउँसो चाहिँ रोटी–तरकारी खान्छु । अरु खाने कुरा खासै खाँदिन ।

स्वस्थ रहन खानपानमा कत्तिको ध्यान दिनुहुन्छ ?
म साधारण खाना खान्छु । दाल–भात–तरकारी नै मेरो रोजाइको खाना हो । अन्यमा खासै रुचि छैन ।

खाना आफैं बनाउनुहुन्छ कि अरुले नै बनाउँछन् ?
घर बस्दा त खाने कुरा आफैं बनाउने हो, भान्सामा कोही पनि आउनै पाउँदैन । म खाना बनाउन निकै सोखिन छु । म घर बसेका दिन श्रीमतीले भान्साको काम छुनै पर्दैन ।

चाउचाउ–चाउमिनजस्ता जङ्कफुड कत्तिको खानुहुन्छ ?
यस्ता खाने कुरा मलाई मन पर्दैनन् । खाँदै नखाने त होइन, सुटिङका बेला खाने कुराको टुङ्गो हुँदैन । ग्यास्ट्रिकबाट बच्नका लागि भए पनि खानैपर्ने बाध्यता हुन्छ । पाएसम्म खाजाका रूपमा रोटी–तरकारी नै खान्छु ।

शारीरिक–मानसिक फिट रहन के–कसरी व्यायाम गर्नुहुन्छ ?
व्यायाम त दैनिकरूपमा नै गरिरहेको हुन्छु । घरमै योगालगायतका क्रियाकलाप गर्छु । जिम जाने र ज्यान बनाउने भन्ने चाहिँ छैन ।

बेला–बेलामा स्वास्थ्य जाँच गराउनुहुन्छ ?
कहिलेकहीं चेकअप गराउँदै आएको छु । प्रायः होलबडी चेकअप गराउँछु ।

ज्वरो, रुघा–खोकीमा कस्तोे उपचार विधि अपनाउनुहुन्छ ?
घरायसी उपचार विधि नै अपनाउँदै आएको छु । तातो पानी र बेसार–पानी नै रुघा–खोकीको औषधि हो । आयुर्वेधिक औषधि पनि प्रयोग गर्दै आइरहेको छु । सकभर हस्टिपलको औषधि खाइहाल्ने गरेको छैन । हस्पिटलका औषधिले मिर्गौला फेल हुनेलगायतका अनेकौं समस्या देखापर्ने हुँदा ज्वरो, रुघा–खोकीमा त्यस्ता औषधि प्रयोग गर्दिनँ ।

कुनै औषधि नियमित खाइरहनु भएको छ कि ?
अहिलेसम्म त्यस्तो केही पनि छैन ।

स्वास्थ्य समस्याका कारण अस्पताल नै भर्ना हुनुभएको छ कि ?
अहिलेसम्म त्यस्तो पनि छैन ।

स्वास्थ्य समस्याले निम्त्याएका नमिठा अनुभव केही छन् ?
चलचित्र ‘चचहुई’ को छायाङ्कनका क्रममा मुस्ताङ हिँडेका थियौं । सबै जना गाडीमा बसेर जाँदाजाँदै बीच आधा बाटोजतिमा मलाई पखाला चल्यो । साह्रै बिजोग भयो । न हस्पिटल छ न त केही । बडो तनाव भयो । दुई दिनसम्म पखाला चलेर बल्ल निको भयो । चलचित्र छायाङ्कनका बेला ग्यास्ट्रिकले असाध्यै सताउने गरेको छ । समयमा खाना–खाजा हुँदैन; ‘खाने बेला भयो, एकछिन छायाङ्न रोकौं न’ भन्ने कुरा पनि भएन । स्वास्थ्यका कारण निम्तिएका नमिठा अनुभव नै अनुभव छन् । म पायल्सको पनि बिरामी छु; छिटो पायल्स हुन्छ ।

यसको चाहिँ केही उपचार गराउनुभएन ?
यसको उपचार भनेको नै खानपान मात्र रहेछ । एक डाक्टरले अप्रेसन गर्नुपर्छ भन्नुभएको थियो; फेरि अर्का एक डाक्टरले ‘पायल्सको अप्रेसन गर्दा पनि दुःख दिइरहन्छ, खानपानमा ध्यान दिनोस् भन्नुभयो । त्यसपछि मैले खानपानकै माध्यमबाट यसलाई निको बनाएको छु । खानपान नमिल्दा कहिलेकहीं समस्या आउँछ ।