लाभदायक वनस्पति: सामान्य जानकारी
अनिता सुनुवारमरिच
मरिच मुख्यतः दुई किसिमका हुन्छन्– कालो र सेतो । तर, मरिच भन्नासाथ सामान्यतः कालो मरिचलाई नै बुझिन्छ । स्वास्थ्यका निम्ति सेतो मरिचका बेग्लै विशेषता र अनेकौं फाइदाहरू भएकाले यसबाट अतुलनीय लाभ मिल्छ । तर, यहाँ कालो मरिचबारे मात्र चर्चा गरौं ।
कालो मरिचलाई ‘मसलाको राजा’ मानिन्छ । प्राचीन आयुर्वेदमा समेत यसलाई औषधिका रूपमा चर्चा गरिएको छ । मरिच मसलाका रूपमा यो संसारभर नै प्रयोग हुन्छ । मसलाजन्य सामग्रीहरूमध्ये सबैभन्दा बढी बिक्री हुने आइटम समेत मरिच नै हो । मुख्यतः इन्डोनेसिया, मलेसिया, श्रीलङ्का, भियतनाम, भारतजस्ता मुलुक र नेपालका विभिन्न क्षेत्रमा समेत यसको खेती हुने गरेको छ ।
पाइने तत्व र लाभहरू
मरिचको बिरुवा र बोट लहराजस्तो हुन्छ । यो सामान्यतः १३ फिटसम्म लामो हुन्छ । मरिचमा ३७.४% कार्बोहाइड्रेड, २५.५% प्रोटिन, २३.६% फाइबर र ५.३% फ्याट हुन्छ । यसमा पोटासियम, क्याल्सियम, फोस्फोरस र म्याग्नेसियमजस्ता खनिज तत्व समेत पाइन्छन् । मरिचमा पाइने मुख्य तत्वचाहिँ पाइपरिन हो ।
यसमा पाइने एन्टिअक्सिडेन्ट पाइपरिनले शरीरबाट विकार तत्व हटाउने काम गर्छ । यसले दुखाइ कम गराउने र सुन्निएको बसाउने काम पनि गर्दछ । स्नायुसम्बन्धी केही समस्याहरूलाई समेत यसले कम गराउँछ ।
मरिचको एक्स्ट्राक्टले रगतमा चिनीको मात्रालाई सन्तुलनमा राख्न सहयोग गर्छ । यसले कोलेस्टोरल घटाउन पनि सहयोग गर्ने कुरा अध्ययनले देखाएको छ । यसले क्यान्सर सेल बढ्न समेत केही हदसम्म रोक्ने गरेको विज्ञहरूको भनाइ छ ।
यसमा अन्य अत्यावश्यक पौष्टिक तत्वहरू पनि हुन्छन् । यसले पाचन प्रक्रियामा पनि सहयोग पुर्याउँछ । रुघा–खोकी लागेका बेला मरिच मिसाइएको तातो पानी खाँदा सर्दी कम हुने जनविश्वास छ ।
000
जैतुन (ओलिभ)
यो प्राचीन इतिहास भएको एक प्रकारको रुख हो । यसको धार्मिक महत्व समेत छ । यसलाई शान्तिको प्रतीक समेत मानिन्छ । जैतुन सन् १९६५ तिर भारतबाट नेपाल भित्रिएको अनुमान गरिन्छ । सबभन्दा पहिले कर्णाली नदीको छेउमा रोपिएको मानिने जैतुन त्यस क्षेत्रमा अहिले पनि पर्याप्त मात्रामा पाइन्छ ।
उपयोगिता
जैतुनको फललाई सुरु–सुरुमा मुख्यतः खानका लागि प्रयोग गरिन्थ्यो । यसको एउटा फल औसत ३ देखि ५ ग्रामसम्मको हुन्छ । यसको फललाई सीधै वा सलादका रूपमा खाइन्छ । यसको फलबाट तेल निकालेर विभिन्न स्वरूपमा प्रयोग गरिन्छ । जैतुन फलको गुदी र गेडा (बियाँ) दुवैबाट तेल निकाल्न सकिन्छ । गुदीबाट निकालेको तेल मुख्यरूपमा खानका लागि र गेडाबाट निकालिएको तेल कस्मेटिक्स र छालाजन्य उपचारमा प्रयोग हुन्छ ।
जैतुनबाट निकालिएको स्वस्थकर फ्याटबाट नै ‘ओलिभ आयल’ निकालिन्छ । यो ‘मेडिटेरियन डाइट’ को मुख्य भाग हो । ओलिभ आयललाई सलाद ड्रेसिङका रूपमा समेत प्रयोग गरिन्छ ।
पाइने तत्व र लाभहरू
कार्बोहाइड्रेड कम र स्वस्थकर फ्याट बढी हुने ओलिभमा स्वास्थ्यका निम्ति लाभदायक विभिन्न तत्वहरू हुन्छन् । ओलिभमा मुख्यतः ‘भिटामिन– ई’ का साथसाथै अरु पनि विभिन्न एन्टिअक्सिडेन्ट तत्व पाइने भएकाले यो मुटुका निम्ति एकदमै लाभदायी हुन्छ । ‘भिटामिन– ई’ को मात्रा बढी हुने भएकाले छाला र कपालको स्वास्थ्यका लागि पनि यो निकै लाभदायी हुन्छ ।
ओलिभ आयलमा ओलिओक्यान्थल नामक तत्व पाइने हुनाले यसले दुखाइ कम गराउने काम समेत गर्दछ । यो तत्वले दुखाइ मात्र घटाउँदैन, सुन्निएको बसाउने काम समेत गर्दछ । यसले पाचन हर्मोनहरूलाई सक्रिय गराएर पाचन प्रक्रियामा समेत महत्वपूर्ण सहयोग पुर्याउँछ ।
कालो प्रजातिको ओलिभमा आइरनको मात्रा बढी हुन्छ र त्यसले रगतमा हेमोग्लोबिनको कमी हुनबाट बचाउँछ । अध्ययनअनुसार हड्डी खिइने र क्यान्सरका लागि समेत यो निकै लाभदायी देखिएको छ । बिरामी नभएकाहरूले समेत ओलिभलाई खानामा मिलाएर दैनिक सेवन गर्नु स्वास्थ्यका निम्ति लाभदायक हुन्छ ।