राजाराजेन्द्र अर्थात् ‘क्यारिकेचर किङ’ !

बीएन अधिकारी

क्यारिकेचर–कला तथा प्यारोडी गीतको माध्यमबाट चर्चाको शिखरमा छन्, हास्यकलाकार राजाराजेन्द्र पोखरेल । यतिबेला राजाराजेन्द्र ‘जनता टेलिभिजन’ बाट प्रशारित स्ट्यान्ड–अप कमेडी सो समेत चलाइरहेका छन् । ‘रेडियो अडियो’ मा पनि हरेक आइतबार उनको कमेडी कार्यक्रम प्रशारित भइरहेको छ ।

उनले दर्जनौं प्यारोडी तथा ननप्यारोडी गीत गाएका छन् । तर, उनी गायकका रूपमा होइन, हास्यकलाकारका रूपमा नै चर्चित छन्, स्थापित छन् । प्रस्तुत छ, कार्यक्रमको सिलसिलामा दर्जनौं पटक देश–विदेश समेत घुमिसकेका उनै राजाराजेन्द्रसँग होलिस्टिककर्मी बीएन अधिकारीले गरेको कुराकानी:

कसरी बित्दैछ दिनचर्या ?
अहिले टेलिभिजनबाट स्ट्यान्ड–अप कमेडी कार्यक्रम चलाइरहेका छौं । त्यसैको स्क्रिप्ट लेख्ने र क्यारिकेचर गर्ने अनि रेडियोको कार्यक्रम चलाउनेमै बितिरहेको छ ।

स्टेज कार्यक्रमचाहिँ केही छैनन् ?
अहिले स्टेज कार्यक्रम छैनन् । कोरोना महामारीका कारण कतै–केही आएको छैन । टेलिभिजन र रेडियोका कार्यक्रममै मात्र व्यस्त छु ।

बिहान कति बजे उठ्नुहुन्छ ? त्यसपछि के–के गर्नुहुन्छ ?
समयअनुसार नै उठ्ने गर्छु । सालाखाला उठ्ने समय भनेको ५–६ बजे नै हो । बिहान उठेपछि मर्निङ वाक गर्छु, त्यसपछि चिया पिउँछु । कहिलेकहीं रियाज पनि गर्छु । खाना खाएर कामको सेड्युलअनुसार आफ्नो कर्मतिर लाग्छु ।

के–के खानुहुन्छ ? नखाने के–के ?
खाना यही खानुपर्छ भन्ने मलाई छैन । नेपालीले मन पराउने साधारण दाल–भात–तरकारी नै हो । यो बार्ने, त्यो बार्ने भन्ने पनि छैन । जे–जे भेटिन्छन्, खाने हो । चिल्लो–पिरो भने बार्न थाल्या’छु ।

चिल्लो–पिरोचाहिँ किन बार्नुभएको ?
चिल्लो–पिरो खाँदा गीत गाउँदा वा क्यारिकेचर गर्दा स्वर बस्छ । ४–५ वर्षअघिको एउटा कार्यक्रममा जाँदा स्वर बसेर राम्ररी हँसाउनै पाइनँ । त्यसकारण चिल्लो–पिरोमा अलिक कन्ट्रोल गर्न थाल्या’छु । पहिले त खासै बार्दिनथें, अहिले भने अलि–अलि बार्न थाल्या’छु ।

खाना आफैं बनाउनुहुन्छ कि अरु कसैले ?
कहिलेकहीं चाहिँ आफैं पकाउँछु नत्र आमाले पकाउनुहुन्छ या श्रीमतीले पकाउँछिन् । फुर्सदका बेला म पनि पकाउँछु, यसको कुनै समस्या छैन ।

जङ्कफुड कत्तिको खानुहुन्छ ?
काठमाडौं बस्ने मान्छेले सबैभन्दा धेरै खाने भनेकै जङ्कफुड त हो नि ! सकेसम्म कम गरौं भन्ने चाहना हो, तर सकिँदैन । कार्यक्रममा चारचौरास घुमिरहनुपर्छ । अग्र्यानिक खाने कुरा खोजेर त कहाँ पाइन्छ र ? मैले खाने कुरा बार्ने बानी बसालेको छैन ।

शारीरिक–मानसिक तन्दुरुस्तीका लागि के–के गर्नुहुन्छ ?
घरमै योगा गर्ने, साधारण व्यायाम गर्ने, मर्निङ वाक गर्नेजस्ता काम गर्छु ।

आफ्नो स्वास्थ्यप्रति कत्तिको सचेत हुनुहुन्छ ? बेला–बेला स्वास्थ्य परीक्षण पनि गराउनुहुन्छ ?
अबचाहिँ स्वास्थ जाँच गराउने विचार गरेको छु । अहिलेसम्म मैले स्वास्थ्य जाँच गराएकै छैन ।

कुनै औषधि नियमित खाइरहनु भएको छ ?
अहिलेसम्म त्यस्तो केही खाइरहनु परेको छैन । केही वर्ष अगाडि भने टन्सिलको औषधि खाइरहनु पथ्र्यो । त्यसबेला चिसो पानी खानु नभएकाले तातो पानी खाइरहन्थें । कार्यक्रमको सिलसिलामा चार वर्षअघि अस्ट्रेलिया पुगेको थिएँ । त्यहाँ पुगेपछि मलाई फेरि टन्सिल भयो । त्यहाँकै डाक्टरलाई देखाउँदा उनले त चिसो पानीले कुल्ला गर्न लगाए । यता तातो पानी खानुपर्छ भन्ने हामी, उताचाहिँ चिसो पानी खानुपर्छ भन्ने डाक्टर ! ‘यसरी कहाँ हुन्छ’ भनेर मैले जिद्धी गरें; डाक्टरले भने– ‘नेपालीको बानी नै यस्तै हुन्छ, मैले भनेको गर्नु न !’ नभन्दै, चिसो पानी खाएरै मेरो टन्सिल निको भयो । त्यहाँदेखि मैले कहिल्यै तातो पानी खाइनँ । अहिलेसम्म टन्सिलको समस्या दोहोरिएको पनि छैन । कहिलेकहीं स्वास्थ्य गडबड हुँदा साधारण औषधि खाने गरेको छु तर कुनै पनि औषधि नियमित भने खानु परेको छैन ।

स्वास्थ्यका कारण कार्यक्रम नै गर्न नसकेका कुनै क्षण छन् कि ?
कार्यक्रम नै गर्न नसकेर फर्किएको चाहिँ रेकर्ड छैन । स्टेजमा पुगेर जब हातमा माइक पर्छ, तब मैले कार्यक्रम सम्पन्न नै गरेको छु । तर, कार्यक्रममा जाँदा स्वर बसेर राम्ररी दर्शक हँसाउन नसकेका क्षण भने केही छन् । शायद जाडो महिना थियो, कार्यक्रमका लागि भनेर गएको थिएँ । घाँटी एकदमै दुखेर स्वर बस्यो; क्यारिकेचर गर्नै सकिनँ । त्यसबेला त मलाई ज्वरो नै आयो । कहिलेकहीं सोच्छु–मेरा भगवान् दाइना भएका छन् । असाध्यै बिरामी भएका बेला समेत कार्यक्रम चलाएको देखेर आयोजक नै चकित परेका छन् । बिरामी भएको देखेपछि कतिपय आयोजकले त ‘तपाईं स्टेजमा मात्रै उभिइदिनुभए पुग्छ’ पनि भन्नुहुन्छ । तपाईं स्टेजमा उभिइदिए मात्रै पनि कार्यक्रम सफल भएको मान्छौं समेत भन्नुभएका घटना धेरै छन् । तर, कलाकार भएपछि मनले नमान्ने रहेछ । कार्यक्रममा उभिइसकेपछि सफल बनाएर नै फर्किएको छु । आयोजकले जहिल्यै ‘वाह, क्या दिनु’भो’ भन्ने गरेका छन् ।

स्वास्थ्य समस्याका कारण अस्पतालै भर्ना हुनुभएको चाहिँ छ कि छैन ?
२०५८ देखि ६१ सालको बीचमा म अस्पताल बसेको छु । हर्नियाको अप्रेसनका लागि २–३ पटक अस्पताल बस्नु परेको छ । त्यसबेला अस्पताल बसाइ लामै भयो । त्यसपछि फेरि छोरो जन्मने बेलामा अस्पताल बसें । त्यसबाहेक भने अस्पताल बस्नु परेको छैन ।

ज्वरो, रुघा–खोकी जस्ता समस्या हुँदा कस्तोे उपचार विधि अपनाउनुहुन्छ ?
त्यस्तो बेला घरायसी नै औषधि लिने गरेको छु; बाहिरका औषधि खाने गरेकै छैन ।

स्वास्थ्य समस्याले निम्त्याएको कुनै नमिठो अनुभव छ कि ?
युरिक एसिडको समस्या छ, त्यसले बेला–बेला सताइरहन्छ । खानपिन मिलाएर त्यसलाई नियन्त्रण गर्नुपर्छ, गरिरहेकै पनि छु ।