डाक्टर अनुपमा अर्थात् सुहाउँदा पोशाकमा सजिने चिकित्सक

होलिस्टिक संवाददाता

वीर अस्पतालको चर्म तथा छालारोग विभागकी प्रमुख डा. अनुपमा कार्की (कुँवर) चर्म तथा छालारोग विशेषज्ञ (डर्माटोलोजिस्ट) हुन् । बिरामीको सेवामा व्यस्त कार्की आफूले लगाउने ड्रेसप्रति निकै सचेत छिन् । प्रस्तुत छ, डाक्टर अनुपमासँग गरिएको पोशाक–संवाद ।

आफूले लगाउने पोशाकप्रति कत्तिको सचेत हुनुहुन्छ ?
आफूले लगाउने पोशाकप्रति म अत्यन्तै सचेत छु ।

कस्ता पोशाक मन पर्छन् ?
राम्रा भन्दा पनि शरीरलाई कम्फोर्ट हुने पोशाक मन पर्छन् । सुहाउने र स्मार्ट देखिने पोशाक लगाउन कोशिस गर्छु । सहज हुने ड्रेस लगाउन ट्राई गर्छु ।

तपाईंले लगाउने पोशाकका धेरैजसो आइटम के–के हुन् ?
कमन्ली कुर्था–सुरुवाल लगाउँछु । पाइन्ट, सर्ट र टिसर्ट पनि लगाइन्छ ।

जाडो र गर्मीमा कस्ता आइटम छनोटमा पर्छन् ?
मौसमअनुसार सहज हुने छनोट गर्छु ।

पोशाक किन्न कत्तिको शौखिन हुनुहुन्छ ?
किन्न त शौखिन छु । आफूलाई राम्रो लागेका कपडा किन्छु । बाहिर कतै गएका बेला पनि लिएर आउँछु ।

पोशाकमा वार्षिक कति खर्च हुन्छ ?
यो त नभनौं ।

कपडा त टन्नै होलान् नि ?
यो पनि नभनौं ।

एक जोर कपडा कति दिनसम्म लगाउनुहुन्छ ? कि दिनहुँ फरक–फरक लगाउनुहुन्छ ?
कपडा त दैनिक चेन्ज गर्नैपर्छ । बिहानदेखि बेलुकासम्म बिरामीको सेवा गरिन्छ, बिरामीसँग एक्सपोज हुनुपर्छ । त्यसैले प्रत्येक दिन लुगा चेन्ज गर्छु ।

कस्तो रङ्गका कपडा मन पर्छन् ?
यही कलर भन्ने विशेष च्वाइस छैन । तर, मेरा लुगा कालो कलरका बढी हुन्छन् । पर्पल, रेड, यल्लो, ग्रीन कुनै पनि कलरका हुन सक्छन् ।

प्रायः नेपाली ब्राण्डका कपडा लगाउनुहुन्छ कि विदेशी ?
नेपाली ब्राण्ड त बल्ल आउँदैछन् । धेरैजसो आइटम विदेशी ब्राण्डकै हुन्छन् ।

चिकित्सकीय पेशा अँगालेकाहरूले ड्रेस–सेन्समा कत्तिको ध्यान दिनुपर्छ जस्तो लाग्छ ?
मलाई लाग्छ, हाम्रो पेशा र ड्रेस–सेन्सबीच समन्वय नै गर्नुपर्ने चाहिँ होइन । राम्रा लुगा लगाउनुभन्दा पनि राम्रो चिकित्सक हुनु, बिरामीलाई राम्रो सेवा दिनु धेरै इम्पोर्टेन्ट कुरा हो । लुगासँग समवेदनशील पेशालाई कम्पेयर गर्न मिल्दैन ।

चिकित्सकीय पेशा अँगालेकाहरूले कस्ता पोशाक लगाउँदा उचित हुने ठान्नुहुन्छ ?
आफूले लगाउने पोशाकमा पनि चिकित्सकले ध्यान दिँदा सुनमा सुगन्ध हुन्छ जस्तो लाग्छ । हाम्रो पेशाका व्यक्तिले सिम्पल र इजी हुने लुगा लगाउनुपर्छ जस्तो लाग्छ ।

जुत्ताको पनि कुरा गरौं, जुत्ता किन्न कत्तिको शौखिन हुनुहुन्छ ?
जुत्ता किन्न पनि शौखिन छु ।

बोक्ने ब्यागबारे पनि बताइदिनुहुन्छ कि ?
सिम्पल ब्याग बोकेर हिँड्छु । स्पेसल, यस्तै भन्ने छैन ।