एलोभेरा: आधुनिक उपचारको सहयात्री

डा. डीबी सुनुवार

आधुनिक चिकित्सा पद्धतिको विकाससँगै कतिपय प्राकृतिक वनस्पति तथा जडीबुटी ओझेलमा परेको अनुभूति हुन्छ । वास्तवमा आधुनिक चिकित्सा उपचार विधिका सहयात्री हुन् प्राकृतिक जडीबुटी तथा वनस्पति ।

यहाँ यस्तो वनस्पतिको बारेमा चर्चा गरिँदैछ, जसको उपयोगिता तथा प्रभावकारिता निकै उच्च छ; त्यसको नाम हो– ‘एलोभेरा’ । यो जडीबुटीलाई नेपालीमा ‘घ्युकुमारी’ भनिन्छ । एलोभेरा अर्थात् घ्युकुमारी नेपालका प्रायः सबै ठाउँमा पाइन्छ ।

रोचक छ प्रयोगको थालनी

अध्ययन अनुसार प्राचीन समयमा एलोभेरा मरुभूमि तथा सुख्खा ठाउँहरूमा पाइन्थ्यो । मानव सभ्यताको विकास पनि पानीबाटै भएको पाइन्छ । नदी किनारामा बसोबास गर्ने मानिसहरू मरुभूमिमा घुम्थे । सोही क्रममा घामले शरीरमा पोल्दा मानिसले एलोभेरा लगाएपछि पोलेको ठाउँमा शीतल भयो । त्यसपछि मानिसले एलोभेराको प्रयोग गर्दै जान थाले । यसलाई प्रयोग गर्दै जाने क्रममा एलोभेराका अरु विभिन्न लाभहरू समेत थाहा पाउँदै जान थाले ।

एलोभेरा लगाउँदा बाहिरी शरीरमा लाभ मिलेको थाहा पाएपछि यसलाई खान समेत थालेको पाइन्छ । प्राचीन समयमा मानिसले एलोभेरा मात्र होइन, अधिकाङ्श वनस्पति तथा जडीबुटीको प्रयोग गरे ।

वनस्पति तथा जडीबुटी खाँदा कयौं मानिसको मृत्यु भयो त कतिपय बिरामी परे । जसले सुरुमा प्रयोग गरे, उनीहरूले परीक्षणकै रूपमा नै प्रयोग गरे । जुन वनस्पति तथा जडीबुटीको प्रयोग गर्दा लाभ मिल्यो, त्यस्ता जडीबुटी तथा वनस्पति निरन्तर प्रयोग गर्दै गए । र, जुन जडीबुटी तथा वनस्पतिले नकारात्मक असर गर्‍यो, त्यस्ता जडीबुटी तथा वनस्पति कि त प्रयोग गर्नै छाडे, या त बेग्लै (खानुको सट्टा शरीरमा दल्ने आदि) किसिमले प्रयोग गरे ।

प्रयोगकै सिलसिलामा एलोभेराका भने धेरै नै लाभदायक पक्ष देखिए । त्यसैले यसको प्रयोग व्यापकता हुँदै गयो । उहिलेका तिनै प्रयोगहरूको फलस्वरूप आज हामीले पनि प्राकृतिक वनस्पतिका रूपमा एलोभेराको व्यापक प्रयोग गर्न पाएका छौं ।

लाभदायक तत्व

एलोभेराको प्रयोगले शारीरिक तथा मानसिक अवस्था मजबुत बनाउन सहयोग मिल्छ । एलोभेरामा भिटामिन– ए, सी, ई र बी– १२ तथा क्याल्सियम, सोडियम, पोटासियमजस्ता मिनरल्स समेत पाइने भएकाले शारीरिक तथा मानसिक स्वास्थ्यका लागि निकै लाभदायक छ ।

एलोभेरा सुन्दरताका लागि पनि लाभदायक छ । अनुहार तथा छालामा एलोभेरा प्र्रयोग गर्दा छालामा भएका विकार तत्व बाहिर निस्कन्छन् र छालामा पोषण समेत मिल्छ । यसो हुँदा छाला चाँडै पाको (वृद्ध) हुन पाउँदैन र छाला मुलायम रहन्छ अनि चमक समेत आउँछ । यसरी एलोभेराले जवान देखिन सहयोग पुर्‍याउँछ ।

यसमा पाइने ‘एलोइन’ तत्वले कब्जियत, पायल्स, फिस्टुला तथा फिसरजस्ता समस्याबाट बच्न मद्धत पुर्‍याउँछ ।

प्रयोग: कति र कसरी गर्ने ?

एलोभेरालाई सीधै प्रयोग गर्न पनि सकिन्छ र आजभोलि यसलाई प्रशोधन गरेर तयार पारिएको जेल, जुस, तेल र धुलो समेत पाइन्छ । एलोभेराको चकलेट समेत बजारमा उपलब्ध छ । कस्मेटिक्स सामग्रीका रूपमा एलोभेराको प्रयोग त विश्वव्यापीरूपमै व्यापक छ ।

सजावटका निम्ति घरआँगन र बगैंचामा रोपेर एलोभेरालाई औषधीय प्रयोजनका लागि समेत प्रयोग गर्ने प्रचलन सबैतिर बढ्दो छ । पोलेको, काटेको, दुखेको आदिजस्ता समस्या समाधानका लागि एलोभेरा अत्यन्तै लाभदायक छ ।

एलोभेरालाई पोषणका हिसाबले समेत सेवन गर्ने प्रचलन छ । दिनमा दुईदेखि तीन ग्रामसम्म एलोभेरा सेवन गर्नु स्वास्थ्यका निम्ति लाभदायक हुन्छ । सबै उमेरसमूहका व्यक्तिले एलोभेरा सेवन गर्न सकिन्छ । सामान्यतः हानि नगर्ने भए तापनि एलोभेराको सेवन पनि चिकित्सकको सुझाव लिएर मात्र बुद्धिमानी हुन्छ ।