जोडी फेर्ने चरी

शङ्कर क्षेत्री

मानिसको मात्रै होइन, पक्षीले पनि आपसमा माया–प्रेम र स्नेह गर्छन् । पक्षीको जोडी बाँधिन्छ र विवाह हुन्छ । पक्षीको पनि परिवार हुन्छ ।

कतिपय चराहरूको जोडी आजीवन कायम रहन्छ भने कतिपय जोडी छिटछिटो छुट्ने पनि हुन्छन् । चराहरूमा आफ्नो जोडी र परिवारबीच गहिरो प्रेम र उत्तरदायित्व हुन्छ । जोडीले सँगसँगै मिलेर गुँड बनाउँछन्, प्रजनन गर्छन् र बच्चा कोरल्छन् अनि हुर्काउँछन् । मन मिल्ने जोडी तथा परिवारसँग बिछोड हुँदा निकै दुःखित हुन्छन्, चिन्तित हुन्छन् । एकापसमा मन तथा भावना नमिल्दा भने चराहरूले समेत जोडी फेर्छन् ।

‘तोप चरा’ नामको पक्षीले निकै मेहनत गरेर झुन्डिएको लामो र आकर्षक गुँड बनाउँछ । तोप चराको पोथीले भने गुँड बनाउन भालेलाई सहयोग गर्दैन; भालेले बनाएको गुँड हेर्छ र मन नपरेमा गुँड नै च्यात्ने तथा भत्काइदिने गर्छ । आफ्नो भालेले बनाएको ‘नराम्रो’ गुँड भत्काइदिएपछि त्यस्तो पोथी तोप अर्कै भालेले बनाएको गुँडमा गएर बस्छ । यसरी यो जातको पोथी चरी स्वार्थी हुन्छे । त्यसैले तोपको पोथीलाई ‘प्ले गर्ल’ सँग तुलना गर्ने गरिन्छ ।

तोप चराका भालेहरूमा कसले आकर्षक गुँड बनाउने भन्नेमा प्रतिस्पर्धा नै चल्छ । तोपका पोथीहरूले भने भालेहरूले बनाएका सबै गुँडहरूको अवलोकन गर्छन् । आफूले बनाएको गुँडमा पोथी आएका बेला भाले तोपहरूले भने लाडे पल्टिएर पँखेटा हल्लाउँदै पोथीलाई आकर्षित गर्ने उपाय अपनाउँछन् । भाले तोपहरू आफ्नो गुँडमा पोथीहरू आएर बसून् भन्ने चाहना राख्छन् ।

एउटा गुँडमा पोथी तोप आएर बसेपछि अरु भाले तोपहरू चाहिँ त्यस गुँडको वरिपरि आएर होहल्ला गर्छन् । र, पोथीलाई त्यहाँ बस्न डिस्टर्ब गरिदिएर आफ्नो गुँडतिर आकर्षित गर्न प्रयास गर्छन् ।

भालेहरूले बनाएको गुँडमध्ये एउटी पोथीले कुनै एक छनोट गर्छे र मन परेको गुँडमा गएर बस्छे । त्यसपछि आफू बसेको गुँडकै भालेसँग घरजम गरेर अण्डा पार्छे अनि बच्चा कोरल्छे ।

चराहरूका बीचमा समेत यौनका मामिलामा झगडा पर्ने गरेको पाइन्छ । विपरीतलिङ्गीलाई आकर्षित गर्नका लागि चराहरूले चुच्चो जोड्ने, टाउको हल्लाउने, शरीर कन्याउने, आकाशमा उडेर जिस्कनेजस्ता क्रियाकलाप गरी प्रेम प्रकट गर्ने गरेको पाइन्छ ।

शारीरिक सम्पर्कका लागि विशेषतः भालेले पोथीलाई फकाउने गरेको पाइन्छ । कतिपय चराले ठूलो आवाज निकाल्दै आफ्नो क्षेत्रमा अन्य चरा आउन रोक्छन् र पोथीको सुरक्षा गर्छन् ।

सहमतिमा सम्बन्ध, हुँदैन बलात्कार

चराहरूका प्रेमभाव प्रकट गर्ने शैली भिन्न–भिन्न हुन्छन् । नाचेर, कराएर, कुर्लिएर, गीत गाएर विपरीतलिङ्गीलाई आकर्षित गर्छन् । भाले–पोथीको सहमतिमा यौनसम्पर्क गर्दछन् । पक्षीले पनि सामान्यतः एकापसको सहमतिमा नै यौन सम्पर्क गर्छन् । यौनको मामलामा पशुहरूभन्दा पक्षीहरू सभ्य भएका पाइन्छन् । पक्षीहरूमा बलात्कारको प्रयास खासै भएको पाइँदैन ।

चराले नाचगानका साथै उसका अगाडि लुटुपटु गर्दै र सुम्सुम्याउँदै पोथीलाई फकाउँछ । यही प्रक्रियामा चराहरूले पनि जीन तथा वङ्श अर्को पुस्तामा हस्तान्तरण गर्दछन् ।

कुखुराको भालेकै कुरा गरौं । भालेहरू एकापसमा लाप्पा खेल्छन् अनि जुन भालेले जित्छ, उसैले पोथीसँग यौन सम्पर्क राख्दछ ।

बसाइँ सर्नेहरूबीच प्रेम

एक देशका चराको अर्कै देशकी चरीसँग पनि ‘लभ’ पर्छ । बसाइँसराइका क्रममा दुई मुलुकका चराचरीबीच भेट हुन्छ र प्रेम सुरु हुन्छ । प्रजनन गर्छन् र घरबार गर्छन् । नेपालमा पनि विदेशबाट यहाँ आएर यतै प्रेम गरी घरबार गरेका चरा भेटिन्छन् ।

गर्मी याममा बसाइँसराइ गरी आउने चराहरूमध्ये कतिपय जोडी नै आएका हुन्छन् भने कसैले यतै आफ्नो जोडी भेट्छन् र एकापसमा प्रेम गर्छन् । चराहरूलाई न ‘भिसा’ चाहिन्छ न त पासपोर्ट ! हजारौं माइल उडेर निर्विघ्न र स्वच्छन्द बसाइँसराइ गर्न सक्छन् ।

विशेषतः चराहरूको बसाइँसराइ र प्रजननको समय वसन्त ऋतुको प्रारम्भसँगै सुरु हुने देखिन्छ । चराको प्रेम गर्ने र भ्यालेन्टाइनको समय पनि यही नै भएको देखिन्छ । वसन्त ऋतुमा बसाइँसराइ गरी आउने कोइली चराहरू भने कागलगायतका अरु नै चराको गुडँमा अण्डा पारिदिन्छन् । कोइलीका बचेरालाई आफ्नै ठानेर कागले पनि हुर्काइदिन्छ ।

पोथीभन्दा भाले सुन्दर

यौनका लागि तयार भएको अर्थात् प्रजननको समयमा पोथीभन्दा भाले बढी सुन्दर देखिन्छ । भाले चराको शरीरका रौं तथा प्वाँख प्रजननको समयमा रङ्गीविरङ्गी हुन्छन्; यस्तो बेला भाले सुन्दरताले धपक्कै हुन्छ ।

प्रजननको समयमा भाले मात्र सुन्दर हुन्छन् भन्ने त छैन । ‘चित्राङ्गत’ नामको चरा भने प्रजननको उमेरमा भालेभन्दा पोथी नै बढ्ता सुन्दर र आकर्षक देखिन्छ । चरा सुन्दर तथा रङ्गीविरङ्गी देखिनुको अर्थ तिनीहरू स्वस्थ छन् भन्ने सङ्केत समेत हो ।

ओथारो बस्दा सहयोग

‘राजधनेश’ चराको जोडीले भने प्रजननको समयमा सँगै मिलेर गँुड बनाउँछन् । यो जातको पोथी ओथारो बसेका बेला भालेले वासस्थानको सुरक्षा गर्छ ।

पोथी ओथारो बसेको अवधिभर यो चराको पोथी टोड्कामै थुनिएर बस्छ, भालेले भने आहारा ल्याएर पोथीलाई खुवाउँछ ।

गिद्धको गहिरो प्रेम

गिद्धका जोडीले एउटै विपरीतलिङ्गीसँग जीवन बिताउँछन्; जोडी फेर्दैनन् । गिद्धका जोडीले प्रजनन गर्दा भाले–पोथी पालैपालो ओथारो बस्छन् । गिद्धका जोडीबीच गहिरो स्नेह हुन्छ । गिद्धको जोडीमध्ये एउटाको मृत्यु भयो भने अर्को अत्यन्तै भावुक र दुःखित हुन्छ । पक्षीमा पनि जोडी गुमाउँदाको पल मानिसमा जस्तै अत्यन्तै दुःखद् हुन्छ । जोडी गुमाउँदा भावविह्वल हुन्छन् ।

गिद्धलगायतका केही पक्षीहरूका जोडीमा एकको मृत्यु तथा बिछोड भएमा त्यस्ता एकलले लामो समयसम्म पनि जोडी पाउँदैनन् । गिद्धले सामान्यतया जाडो समयमा गुँड बनाएर फागुनमा बच्चा कोरल्छ । जाडो बेलामा बढ्ता सिनो पाइने भएकाले त्यसबेला गुँड बनाएर फागुनमा बच्चा कोरल्ने गरेको हुन सक्छ ।

प्रेम प्रकट गर्ने रोचक शैली

भनिन्छ, ‘चखेवाको जोडीजस्तो होस् !’ चखेवाका जोडीबीच पनि सितिमिति फाटो आइहाल्दैन । प्रजननको समयमा भाले चखेवा अत्यन्तै सुन्दर हुन्छन् ।

कुनै पक्षीले नाचेर त कुनैले गाएर तथा पँखेटा फिँजाएर प्रेमी–प्रेमिकालाई आकर्षित गर्छन् । मयुर, डाँफे, सारस, चखेवाजस्ता पक्षीले नाचेर पोथीलाई आकर्षित गर्छन् । डाँफे, मुनाल, कालिजजस्ता चराका भालेले नाचेको पोथीहरूले लुकेर समेत हेर्छन् । त्यसपछि जुन भाले राम्रो नाच्छ, त्यसैसँग प्रेम तथा यौन सम्पर्क गर्दछन् । कोईली, खरमजुरजस्ता चराले भने गाएर प्रेमभाव व्यक्त गर्छन् ।

भाले चराले यौन तथा प्रेम भावको हाउभाउ बढी व्यक्त गर्ने देखिए तापनि यौनचाहना भने भाले–पोथी दुवैमा उस्तै हुन्छ ।

लेखक नेपाल पक्षी संरक्षण सङ्घका गिद्ध संरक्षण कार्यक्रम अधिकृत हुन्