स्पा विजनेसका चुनौती र सुझावहरू

रिना श्रेष्ठ

यदि यहाँहरू स्पा व्यवसायी हुनुहुन्छ भने जुनसुकै बखत प्राविधिक दक्षता भएका थेरापिस्टहरूको अभाव झेली नै रहनुहुन्छ । र, भन्न सकिन्छ कि तपाईं आफ्नो संस्थालाई दक्ष थेरापिस्ट उत्पादनको स्रोत–केन्द्र बनाउन जोड दिनु हुनेछ ।

अन्य क्षेत्रमा जस्तै हरेक स्पा व्यव्सायीले पनि आफ्नो करिअर विकास तथा सङ्गठनात्मक विस्तारको अपेक्षा गर्दछन् । यस व्यवसायका चुनौतीहरूबारे केही अनुभवहरू छलफल गरौं ।

मुख्य चुनौती, दक्ष जनशक्ति

दक्ष जनशक्तिको अभावका कारण प्रायः व्यवसायी न्यूनतम योग्यता वा कमै मात्र अनुभव भएका कर्मचारीसँग समेत सम्झौता गर्न बाध्य छन् । यस्तो अवस्थामा त्यस्ता कर्मचारीलाई तालिम, शिष्टाचार, स्पा अचारसंहिता, हस्पिटालिटी तथा अङ्ग्रेजी भाषा विकास आदिका लागि थप लगानी गर्नुपर्ने आवश्यकता रहन्छ । स्पा थेरापीसम्बन्धी ट्रेनिङ दिने संस्थामा तालिम लिई दक्ष, योग्य र शिष्ट भैसकेका र केही समय इन्टर्न समेत गरेका जनशक्तिलाई अनुभवी मानिन्छ । र, प्रायः स्पा व्यवसायीहरूले त्यस्तै जनशक्ति खोजिरहेका हुन्छन् । त्यस्ता तालिम केन्द्रमा कामको खोजी गरिरहेका विद्यार्थी भेटिएमा प्रायः सबैजसो स्पा व्यवसायीहरूले काम दिने प्रस्ताव गर्दछन् ।

दक्ष जनशक्तिको खोजीमा रहेका संस्थाहरूका निम्ति त्यस्ता जनशक्ति महत्वपूर्ण मानिन्छन् । त्यस्ता जनशक्ति लिँदा संस्थाको समय र लगानी दुवै सुरक्षित हुन्छन् र संस्थाले दिने सेवाको गुणस्तर समेत उच्च हुन्छ ।

यस्तो हुनुपर्छ इमानदार स्पा ट्रेनर

दस वर्षदेखि स्पा ट्रेनिङमा सक्रिय व्यक्ति हुनुका नाताले स्वयम् भन्न चाहन्छु– मेरै कुनै शिशु वा सन्तानले स्पामा करिअर बनाउन चाहेमा आत्मविश्वासका साथ अगाडि बढ्न मद्धत गर्नेछु । तिनले सीआईडीईएससीओ, सीआईबीटीएसी, आईटीईसी, पञ्चकर्म वा कुनै सर्टिफिकेसन (जस्तै– अभ्याङ्ग मसाज वा शियात्सु) जस्ता विषयमा दक्षता हासिल गरून् भन्ने चाहन्छु ।

आफूले सिकेका र जानेका कुरा अरु कसैलाई पाठ्यक्रमअनुसार निसङ्कोचरूपमा, स्तरीय तरिकाले र इमानदारिताका साथ सिकाउनु–बुझाउनु कुनै पनि स्पा ट्रेनरको कर्तव्य हुन्छ । यसो गर्दा प्रशिक्षक र प्रशिक्षार्थी दुवैको आत्मबल बढ्छ, भविष्य सुरक्षित बन्छ र गुरु सधैं आदरणीय पात्र बन्दछ ।

खाँचो दक्ष महिला थेरापिस्टको

यो स्पष्ट छ कि विश्व स्पाजगतमै महिला थेरापिस्टको माग उच्च छ । स्वदेश–विदेश जताततै महिला थेरापिस्टको माग बढी भए तापनि बिस्तारै पुरुष थेरापिस्टको समेत माग बढ्दै गैरहेको छ ।

स्पा र थेरापीका फाइदाहरूबारे जनमानसको जागरुकता बढेसँगै स्पा दक्षताको सम्मान समेत बढेको छ । दुई–तीन वर्ष थेरापिस्टका रूपमा सेवा प्रदान गरिसकेकाहरू अनुभवका आधारमा पदोन्नति भएर प्रशासकीय एवम् व्यवस्थापकीय पद सम्हाल्न प्रशासनिक विभागको जिम्मेवारी लिन सक्षम हुन्छन् । यसैकारण सेवाग्राही, स्पा थेरापिस्ट र व्यवस्थापक/प्रबन्धकबीच अन्योन्याश्रित सम्बन्ध हुन्छ ।

यसर्थ, रोजगारदाता र कर्मचारीबीच दिनहुँ  अन्तरक्रिया, छलफल र दैनिक कार्य–रिपोर्टिङ, ग्राहकको प्रतिक्रिया आदि विषयमा केन्द्रित भई आपसी सहकार्य गर्नु जरुरी हुन्छ । स्पा प्याकेज कसरी प्रभावकारी तुल्याउने, कसरी बिक्री बढाउने आदिजस्ता विषयमा स्पा सञ्चालक, सेल्स कर्मचारी र थेरापिस्टबीच छलफल गर्नाले एक–अर्कामा प्रेरणा बढ्न जान्छ । यस्ता कार्य, गृहकार्य र व्यवहार निरन्तररूपमा गर्न सके यस क्षेत्रका अनेकौं चुनौतीहरू सहजै समाधान हुँदै जान्छन् ।