नर्सिङ जीवनका नमिठा अनुभूति
होलिस्टिक संवाददाताजागिरको पहिलो दिन नै मृत शरीरसँग
मैले करिव एक वर्ष अगाडिदेखि नर्सका रूपमा काम गर्ने अवसर पाएकी हुँ । पढाइ सिध्याएपछि पहिलो पटक जब गर्ने मौका पाएको मेरा लागि त्यो नै पहिलो अनुभव थियो ।
काम पाएको खुशीमा उत्साहित हुँदै म मेरो कार्यकक्ष (त्यस दिन इमर्जेन्सी वार्ड) मा पसें । एउटा जलेको शरीर लिएर पाँच जना मान्छेहरू इमर्जेन्सी वार्डमा छिरे । जलेको शरीरको अवस्था केही बेर हेरेपछि अप्रेसन थियटरतिर लाने निर्णय गर्नुभयो डाक्टरले ।
अवस्था अलिक नाजुक थियो । ती बिरामीलाई प्राविधिक सहयोग गर्नका लागि अप्रेसन थिएटरसम्म जाने मौका मैले पनि पाएँ । अप्रेसन कक्षसम्म पुग्न नपाउँदै ती बिरामीले प्राण त्यागे ।
मान्छेले छट्पटाउँदै आफ्नै अगाडि प्राण त्यागेको मैले पहिलो पटक देखेकी थिएँ । सुरुमा त म अताल्लिएँ । के गर्ने, के नगर्ने भएँ । डर लाग्यो । कतै मेरै गल्तीले पो यस्तो भयो कि भनेजस्तो भान भयो । ममा रहेको पहिलेदेखिको उत्साह एकाएक घट्यो । शरीर काँप्न लागेजस्तो भयो ।
उनको परिवारका सदस्य रुन थाले । त्यसपछि डाक्टर र इमर्जेन्सी वार्डका अन्य साथीहरू मिलेर मृत शरीरलाई इमर्जेन्सी वार्डमै फर्काइयो । डाक्टरले औपचारिकरूपमा उनलाई मृत घोषित गरे । रुवाबासी झन् बढ्यो ।
म डराउँदै अनेकौं कुरा सोच्दै आफ्नो कार्यकक्षमा फर्किएँ । जन्मेपछि एकदिन त सबैले मर्नैपर्छ भनी चित्त बुझाउने मान्छे थिएँ म । तर, त्यस दिन भने त्यहाँको अवस्था देखेर मेरो मन थामिएन । असाध्यै नरमाइलो लाग्यो । मनमा चञ्चलता छाइरह्यो ।
000
महिला हिंसाको कारुणिक दृश्य देख्दा
करिव एक वर्ष अघिदेखि यस अस्पतालमा कार्यरत छु । यहाँ काम गर्न थालेको दोस्रो दिन नै मृत शरीर देखेँ । हुन त यस्ता घटना पहिले पनि देखेकी थिएँ । तर, आफू ड्युटीमै छँदा अस्पतालमा देखेको यो घटना भने मेरा लागि पहिले देखिएका अरु मृत्युभन्दा भिन्न थियो ।
त्यहाँ ल्याइएकी एक बिरामीले आत्महत्या गर्ने उद्देश्यका साथ विष पिएकी रहिछन् । मैले देखेका अरु मृत्युहरू उमेर पुगेर ‘कालगति’ बाट भएका थिए । तर, यो मृत्यु ‘अकालको’ थियो ।
म जनरल वार्डमा थिएँ । खाजा खान जाने बेलामा इमर्जेन्सी वार्ड हुँदै निस्किएकी थिएँ । अरु बेलामा भन्दा अलिक बढी मान्छेको भीड थियो । हल्लाखल्ला चलिरहेको थियो । नजिक गएर हेरें, विष पिएर मरेकी महिलाको मृत शरीर देखें ।
देख्नासाथ सुरुमा त म अताल्लिएँ । मनमा डर पलाउन थाल्यो । तिनका परिवारजन रोएको देख्दा मैले पनि आफ्ना परिवारजन सम्झिएँ । शरीर शिथिल भयो । भीडबाट केही पर सरेर त्यहाँ कार्यरत साथीसँग घटनाबारे सोधपुछ गरें ।
आर्थिक अभावको नाजायज फाइदा उठाउँदै उनीमाथि कसैले यौनहिंसा गरेको रहेछ । त्यसपछि हुन सक्ने सामाजिक अवहेलनाको डरका कारण उनले विष पिएको निष्कर्ष निक्लियो । घटना देख्दै शिथिल भएको मेरो शरीर झन् अत्तालियो ।
देशको परिस्थिति सम्झन पुगें । महिलामाथि यौनहिंसा बढ्दै गैरहेका समाचार यत्रतत्र सुनेकी थिएँ । त्यसैकारण कसैले ज्यान नै गुमाउनु परेको घटना आफ्नै आँखाले देखेपछि झन् नरमाइलो लाग्यो । उनका परिवारजनतिर हेरें । सबैको रोदन देखेर मेरा पनि अँखा रसाए । साह्रै नराम्रो लाग्यो ।