बर्डफ्लु सचेतना: जोगिऔं यसरी!
बसाइँ सार्ने चराले पो सारे कि !
डा. शेरबहादुर पुन
कोरोनाभाइरस (कोभिड– १९) को महामारीले विश्वलाई नै सताइरहेकै बेला काठमाडौंमा अर्को महामारीजन्य सरुवारोग बर्ड फ्लु (एच फाइभ एन वन) देखिएको छ । यो कस्तो रोग हो, कसरी सर्छ र कसरी बच्ने भन्नेबारे सङ्क्षिप्त चर्चा गरौं ।
उच्च छ मृत्युदर
सङ्क्रमित पक्षीबाट मानिसमा बर्ड फ्लु सर्छ । यो रोग मानिसमा सरिहालेमा यसबाट हुने मृत्युदर पनि उच्च नै रहने गरेको छ । अध्ययनअनुसार बर्ड फ्लु सङ्क्रमितमध्ये ६० प्रतिशतको मृत्यु हुने सम्भावना रहन्छ । त्यसैले बर्ड फ्लुप्रति हेलचेक्र्याइँ गर्नु हुँदैन । सावधानी नअपनाइए यसबाट ज्यान समेत जान सक्छ ।
नेपालमा भने अहिलेसम्म बर्ड फ्लु सङ्क्रमणबाट एक जनाको मात्रै मृत्यु भएको पाइएको छ । बर्ड फ्लुका कारण चैत, २०७५ मा एक जनाको मृत्यु भएको हो ।
कसरी देखियो काठमाडौंमा ?
केही दिनअघि मात्र (१६ माघमा) नेपालको राजधानीस्थित तारकेश्वर नगरपालिकामा बर्ड फ्लु देखियो । तारकेश्वर– ७ साङ्लेखोला, फुटुङमा हाँस र टर्कीमा बर्ड फ्लु देखिएको हो । परीक्षणबाट हाँस र टर्कीमा एच फाइभ एन एट बर्ड फ्लु पुष्टि भएपछि उपत्यकाका अरु स्थानमा समेत बर्ड फ्लु सङ्क्रमण भैसकेको छ कि भन्ने शङ्का उत्पन्न भएको छ ।
पशु सेवा विभागका अनुसार बर्ड फ्लु भेटिएको क्षेत्रलाई निसङ्क्रमित गरिसकिएको छ । बर्ड फ्लु पुष्टि भएको क्षेत्रका १ हजार ८ सय ६५ वटा हाँस, ६ सय वटा बट्टाई, ३२ वटा कुखुरा, २५ वटा टर्की, ५ सय ४२ वटा अण्डा र ७५ किलोग्राम दाना नष्ट गरिएको छ । यस्तो ठाउँमा केही समयसम्म नै निगरानी गरिरहनु पर्ने हुन्छ ।
बसाइँ सरेर पो आएको हो कि !
बर्ड फ्लु सङ्क्रमणका विभिन्न कारण हुन्छन् । बसाइँ सरेर आउने चराहरूबाट पनि बर्ड फ्लु आइपुगेको हुन सक्छ । बसाइँ सरेर चरा यहाँ आइरहनु पनि पर्दैन; नेपालको बाटो हुँदै विभिन्न किसिमका पक्षीहरू बसाइँ सर्छन् र सङ्क्रमित पक्षीले आकाशमा उडिरहेकै बेला यहाँ खस्ने गरी दिसा गरिदिन सक्छन् । सङ्क्रमित त्यस्तो दिसाबाट हावा, खाना तथा पानीको माध्यमबाट पक्षीमा बर्ड फ्लु सर्न सक्छ ।
जाडो मौसममा विभिन्न देशबाट पक्षीहरू नेपालमा बसाइँ सर्छन् । र, अनेकौं देशबाट अरु विभिन्न देशमा चराहरू बसार्इँ सर्ने रुट समेत पनि नेपाल नै हो । चिसो छल्न साइबेरियालगायतबाट पक्षीहरू नेपालमा आउने गरेको पाइन्छ ।
प्रश्न उठ्न सक्छ– काठमाडौंमै कसरी देखियो त बर्ड फ्लु ? काठमाडौंमा देखिएको बर्ड फ्लु बसाइँ सरेको चराबाट नै भित्रिएको हो कि भन्ने प्रश्न सम्भावनाको नजिक छ । बसाइँ सरेका (माइग्रेटेड) पक्षीबाट बर्ड फ्लु सरेको हो कि होइन त भन्ने कुरा पत्ता लगाउन परीक्षण आवश्यक हुन्छ ।
भारतका विभिन्न राज्यमा करिव एक महिना अघिदेखि कुखुरालगायतका पक्षीमा बर्ड फ्लु व्यापक देखिएको छ । नेपाल–भारत खुला सीमाका कारण पक्षी तथा पक्षीजन्य पदार्थ भारतबाट नेपालमा निर्वाध भित्रने हुँदा सँगसँगै बर्ड फ्लु भित्रने जोखिम छ । यसकारण नेपालको तराई क्षेत्रमा बर्ड फ्लुको जोखिम बढी छ । बर्ड फ्लुको जोखिम पहाडमा मध्यम र हिमाली भेगमा न्यून रहेको पाइन्छ ।
नेपालमा तालतलैया धेरै भएकाले पक्षीहरू घुम्दै माछालगायतका आहारा खान तालतलैया नजिक आउँछन् । यस्ता विभिन्न कारणले गर्दा चिसो मौसमको अन्तिम समयमा नेपालमा बर्ड फ्लु देखिने तथा फैलने जोखिम हुन्छ । नेपालमा बर्ड फ्लु वर्षेनि देखिएको छ । सन् २०१३ मा काठमाडौं उपत्यकामा कुखुरालगायतका पक्षीमा बर्ड फ्लु फैलिएको थियो । त्यसयता हरेक वर्ष धेरथोर बर्ड फ्लु पुष्टि हुँदै आएको छ ।
बच्ने यसरी
बर्ड फ्लु पक्षीबाट मानिसमा सर्ने भएकाले कुखुरा, हाँस, टर्कीजस्ता पक्षीको मासु राम्रोसँग पकाएर मात्रै खानुपर्छ । अण्डा पनि राम्रोसँग पकाएर मात्र खानुपर्छ । पक्षी समाएपछि साबुन–पानीले राम्ररी हात धुनुपर्छ । सरसफाइमा पर्याप्त ध्यान दिनुपर्छ ।
पक्षीजन्य मासु पसलमा काम गर्नेहरूले पनि सरसफाइमा ध्यान दिनुपर्छ । कुखुरालगायतका पक्षी फर्ममा काम गर्नेहरूले राम्रोसँग साबुन–पानीले हात धोएर मात्र खानपान गर्नुपर्छ । कुखरा, हाँसजस्ता पक्षी फर्ममा काम गर्नेहरूले व्यक्तिगत स्वास्थ्य सुरक्षाका सामग्रीहरू राम्रोसँग प्रयोग गर्ने गर्नुपर्छ । मुख, नाक र आँखामा घरीघरी हात लाने गर्नु हुँदैन ।
डा. पुन टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालको क्लिनिकल रिसर्च युनिटका संयोजक हुन्