अभिनेतृ रेखा थापाको जीवनशैली

केदारनाथ गौतम/शङ्कर क्षेत्री

चर्चित अभिनेतृ रेखा थापा चलचित्र निर्माता निर्देशक समेत हुन् । स्वस्थ जीवनशैलीका निम्ति उनी निकै सचेतता अपनाउँछिन् । व्यायाममा पनि उत्तिकै ध्यान दिने गरेकी उनको शरीर फिट–फाइन छ ।

नियमित व्यायाम तथा हरहमेसा सन्तुलित खानपानशैली अपनाउने रेखाको तौल ५० किलोग्राम छ । उनी पाँच फिट चार इन्च अग्ली छन् ।

अभिनेतृ रेखा बिहान सबेरै उठ्छिन् । सामान्यतः पाँच बजे नै उठिसक्ने गरेको उनले बताइन् । उठेपछि सबैभन्दा पहिले मनतातो पानी पिइसकेर ब्ल्याक कफी पिउँछिन् । ‘पानी पिएको १५ मिनेटपछि कफी पिउँछु’– उनले सुनाइन् ।

पानी र कफीपछि रेखा जिमहल पुग्छिन् र व्यायाम गर्न थाल्छिन् । उनका पर्सनल फिटनेस ट्रेनर बिजु पार्की हुन्; उनैले रेखालाई फिटनेसका नियम र टेक्निक सिकाउँछन् । रेखाले एक वर्ष अघिदेखि पर्सनल ट्रेनरको सहयोगमा फिटनेस अभ्यास गर्ने गरेकी हुन् । उनी राजधानीको मित्रपार्कमा बस्छिन् । जिमहल आफू बसेकै अपार्टमेन्टमा छ, त्यहीं व्यायाम गर्छिन् ।

साढे ६ बजेतिर थालेपछि रेखा करिव ९ बजेसम्म व्यायाम गर्छिन् । दुई–अढाई घन्टा जिमहलमा बिताएर फर्केपछि केही बेर आराम गर्छिन् । कहिलेकहीं भने व्यायामबाट फर्किएपछि चिया पिउँछिन् । ‘कहिलेकहीं, मुड चलेका बेला चिनीबिनाको दूध चिया पिउँछु’– रेखाले सुनाइन् । एक वर्षसम्म त रेखाले चिया नै पिइनन् ।

आराम गरिसकेपछि मनतातो पानीले नुहाउँछिन् । ‘व्यायामपछि सधैं मनतातो पानीले नुहाउँछु’– रेखाले भनिन् । र, नुहाइसकेपछि केही बेर मेडिटेसन गर्छिन् ।

घिउसँग ब्राउन/रेड राइसको लन्च

अभिनेतृ रेखा सामान्यतः बिहान ११ बजेतिर खाना खान्छिन् । उनको लन्च टाइम यही हो । स्वस्थ खानपानप्रति उनी निकै ध्यान पुर्‍याउँछिन् । लन्चका रूपमा उनी ब्वाइल्ड मिक्स भेजिटेबल, अण्डा, माछा, खसीको मासु, घिउ र ब्राउन राइस खान्छिन् । खसीको मासु नखाँदा लन्चमा उनी करिव सय ग्रामजति चिकन खान्छिन् । माछा–मासुका आइटममध्ये दिनमा एक थरी मात्रै खान्छिन् । ‘मलाई कुखुराको मासु मिठो लाग्छ’– रेखाले सुनाइन् ।

खानामा प्रयोग हुने चामलचाहिँ ब्राउन राइस वा रेड राइस प्रयोग गर्ने गरेको उनले सुनाइन् । खानामा घिउ खान उनी छुटाउँदिनन् । घिउ र भात खान्छिन् । खाना भने धेरै खाँदिनन् । उनले सुनाइन्– ‘घिउ र भात खान्छु तर भातचाहिँ घिउमा भिजाएर केही चम्चा मात्र खान्छु ।’

खानपानपछि फेरि केही बेर आराम गर्छिन् । ‘आधा घण्टाजति आराम गर्छु,’ उनले भनिन्– ‘तर दिउँसो निदाउँदिनँ ।’ उनी पूर्वीय दर्शनमा ‘विष्णु–लक्ष्मीले सर्पमा आसनग्रहण गरेजस्तै’ शैलीमा आराम गर्न मन पराउँछिन् । लन्च सकेर आराम गरेपछि उनलाई फेरि कफी पिउन मन लाग्छ । ‘खाना खाएर आराम गरेपछि फेरि एक कप कफी पिउँछु’– उनले सुनाइन् ।

‘स्वस्थ हुने सूत्र’ का रूपमा रेखा ५० प्रतिशत व्यायाम, २५ प्रतिशत आराम र २५ प्रतिशत खानपानलाई लिन्छिन् । यही कुरालाई ध्यान दिएर उनी यी तीनै पक्षलाई सन्तुलनमा राख्छिन् । शारीरिक तथा मानसिकरूपमा स्वस्थ रहन ठीक मात्राको व्यायाम, आराम तथा सन्तुलित खानपानको निकै महत्वपूर्ण भूमिका हुने उनको बुझाइ छ । आफ्नो स्वास्थ्यप्रति उनी निकै सचेत छिन् । मिठो लाग्यो भन्दैमा धेरै खाइए अस्वस्थ भइने कुराप्रति उनी निकै सचेत छिन् ।

चर्चित नायिका, निर्माता र निर्देशकलाई सधैं घरै बसिरहने, घरपायकमै व्यायाम र घरमै खानपान गरिरहने कुरा पनि त सम्भव हुँदैन । दैनिक कामको निकै व्यस्तता हुन्छ । सुटिङको व्यस्तता हुँदा उनी सुटिङस्पटमै व्यायाम, खानपान र स्वस्थ जीवनशैलीका टेक्निकहरू अपनाउन प्रयास गर्छिन्; सुटिङस्पटमै व्यायामको महसुस गर्छिन् ।

बेलुकीको लाइट खानपान

उसो त अभिनेतृ रेखा बिहान पनि ‘हेभी’ खानपान गर्दिनन् । तर, बेलुकी अझ ‘लाइट’ खानपान गर्छिन् । दिनभर त सुटिङलगायतका कामकाजमा व्यस्त हुने नै भइन् । खाजाका रूपमा ३ बजेतिर एक–दुईवटा केरा खान्छिन् ।

साँझ ६ देखि ७ बजेभित्रै बेलुकीको खानपान गरिसक्छिन् । ‘सात बजेसम्ममा त डिनर खाइसक्छु,’ रेखाले भनिन्– ‘साँझ लाइट खानपान गर्छु, गेडागुडी मिक्स गरेर एक मुठीजति खान्छु ।’ बेलुकी उनी काजु, बदाम, ओखरजस्ता सामग्री मिक्स गरेर खान्छिन् ।

कहिलेकहींको खाना घरबाहिरै पनि खान्छिन् । बाहिर खानुपर्दा चिकेन र भेजिटेबल खान्छिन् । ‘पहिले–पहिले घरबाहिरै खानपान गरिन्थ्यो तर आजकल सकभर बाहिर खानपान गरिँदैन,’ उनले सुनाइन्– ‘कहिलेकहीं मात्र चिटिङ गरेर बाहिर खान्छु ।’

आफ्नो शरीर नै घर हो भन्ने लाग्छ उनलाई । त्यसैले शरीरलाई दुरुपयोग गर्नु हुँदैन भन्ने लाग्छ उनलाई । व्यवस्थित रहन हरप्रयास गर्छिन् । जीवनलाई व्यवस्थित गरी सिँगारपटार गरेर चटक्क राख्दा शारीरिक तथा मानसिकरूपले स्वस्थ रहन सकिने उनको धारणा छ ।

डिनरपछि समाचार हेर्न थाल्छिन् । मिडियामा आएका समाचार र अरु कार्यक्रमहरू हेर्छिन् नत्र केही बेर पढ्छिन् । त्यसपछि भने करिव दस बजेतिर सुत्ने तर्खरमा लाग्छिन् । सुत्न ढिलो गर्दिनन् ।

राति सुत्दा पनि रेखा हिलिङ साउण्ड अन गर्छिन् । मिठो हिलिङ साउण्डको आनन्दमा सुत्छिन् उनी । मन पर्ने साउण्ड बजिरहन्छ, रेखालाई निद्रा लाग्दै जान्छ । ‘साउण्ड बजिरहेकै हुन्छ, म भुसुक्क निदाउँछु,’ उनले सुनाइन्– ‘निदाएको थाहै हुँदैन ।’

अग्र्यानिक खानपानमा जोड

रेखा थापा अग्र्यानिक तथा हाइजेनिक खानपानमा जोड दिन्छिन्, जथाभाबी खानपान गर्दिनन् । बजारबाट सागसब्जी ल्याएपछि पकाउनुभन्दा करिव एक घन्टाअघि नुन–पानीमा भिजाउँछिन् । यो काम भने उनकी ममीको भागमा पर्छ । रेखाले सुनाइन्– ‘ममीले नुन–पानीमा भिजाएपछि मात्र सागसब्जी पकाउनुहुन्छ ।’

खाना पकाउने र व्यवस्थापन गर्ने काम प्रायः रेखाकी ममीले गर्छिन् । ममीलाई अनुकूल नहुँदा कहिलेकहीं भने खाना बनाउने काम सहयोगी दिदीले गर्छिन् । कहिलेकहीं चाहिँ रेखा आफैं पनि खाना बनाउँछिन् । तर, उनलाई ममीले बनाएको खाना नै मिठो लाग्छ ।

करिव डेढ वर्ष अघिसम्म रेखा घरबाहिर वर्गर, पिजालगायतका परिकार खान्थिन्; जङ्क फुड पनि खान्थिन् । अहिले भने उनी खानपानमा निकै सचेत छिन्; जङ्क फुड खाँदिनन् । अन्यत्रभन्दा नेपालमा नै सबैभन्दा बढी हाइजेनिक र अग्र्यानिक खानपान गर्न पाइने रेखाको बुझाइ छ । ‘हाम्रो देशमा हाइजेनिक र अग्र्यानिक खानपानको राम्रो उपलब्धता छ’– उनी भन्छिन् ।

जानकारीको अभावका कारण पहिले–पहिले ढिँडो–रोटीजस्ता परिकार नखाएको बताउने रेखाले अहिले भने खाने गरेको सुनाइन् । सुटिङमा जाँदा पनि सकभर त अग्र्यानिक र हाइजेनिक खानपानमै जोड दिने गरेको उनको भनाइ छ ।

औषधि खाएको छैन अनुभव

अभिनेतृ रेखा सामान्यतः वर्षमा एक पटक होलबडी चेकअप गराउँछिन् । अहिलेसम्म कुनै पनि औषधि सेवन गर्नु नपरेको बताउँदै उनले भनिन्– ‘मैले त अहिलेसम्म सिटामोलसम्म पनि खाएकी छैन ।’

बिरामी भएर अस्पताल पनि कहिल्यै भर्ना हुनु र बस्नु नपरेको उनले सुनाइन् । यसरी स्वस्थ रहन पाउनु जीवनकै सबैभन्दा खुसीको कुरा भएको उनी बताउँछिन् । विभिन्न जोखिमपूर्ण एक्सन, बन्जी, हामफाल्नेजस्ता भूमिकामा अभिनयको इतिहास र रेकर्ड हेर्दा पनि आफू स्वस्थ भएको प्रमाणित हुने उनले बताइन् ।

मेकअप नै नगर्ने

सुटिङको बेला होस् वा अरु समयमा, आफूले कहिल्यै मेकअप नै नगर्ने उनले सुनाइन् । मेकअप नै नगर्ने भएकाले आफूले मेकअपका सामग्री पनि नकिन्ने उनी बताउँछिन् । उनी मेकअपबिनै हिँड्छिन् । कस्मेटिक्स सामग्रीमा पनि उनी खासै विश्वास गर्दिनन् । र, कस्मेटिक्स सामग्रीमा उनको खर्च पनि हुँदैन ।

रेखा कहिलेकहीं लिपिस्टिक तथा गाजल भने लगाउँछिन् । घाममा हिँड्दा भने सन्सक्रिम लगाउँछिन् । सुटिङमा जरुरी नै पर्दा चाहिँ यदाकदा लाइट मेकअप मात्रै गर्छिन् । ग्ल्यामर फिल्डका मान्छे र कलाकार मात्र सुन्दर–सुन्दरी एवम् फिट–फाइन रहनुपर्छ भन्ने धारणा गलत भएको उनको भनाइ छ ।

स्वस्थ–तन्दुरुस्त र सुन्दर रहन सबैले कम्तिमा पनि दैनिक आधा घन्टा व्यायाम गर्नुपर्नेमा उनको जोड छ । भन्छिन्– ‘स्वस्थ जीवनशैली त सबैले अपनाउनै पर्‍यो नि ।’

लकडाउनको सदुपयोग अध्ययनमा

अभिनेतृ रेखा अध्ययनमा निकै रुचि राख्छिन् । पछिल्लो समय उनले धर्मग्रन्थलगायतका केही पुस्तकहरू अध्ययन गरिरहेकी छन् । फुर्सद मिल्यो कि अध्ययन गर्न थालिहाल्छिन्; खालि रहेर समय खेर फाल्न चाहँदिनन् रेखा ।

कोरोनाभाइरस महामारी रोकथाम तथा नियन्त्रणका लागि भन्दै सरकारले लकडाउन लगाएका बेला रेखाले फिल्मको स्क्रिप्ट र गीतका कामहरू गरिन् । आफू लकडाउनको समयमा पनि अध्ययनमा व्यस्त रहेको उनले बताइन्

लकडाउनका बेला आफूले दर्शनलगायतका विभिन्न पुस्तकको अध्ययन गरेको उनले बताइन् । अभिनेतृ एवम् निर्माता–निर्देशक रेखा यतिबेला भने नयाँ फिल्मको काममा जुटेकी छन् । ‘नयाँ मुभीको प्रिपरेसनमा छु, वैशाखदेखि फ्लोरमा जान्छ होला’– कुराकानीको बिट मार्दै उनले भनिन् ।

फोटोः सुजन श्रेष्ठ; पर्सनल फिटनेश ट्रेनरः बिजु पार्की