तनावका स्रोत र समाधानका उपाय

केदारनाथ गौतम

हामी लामो समयदेखि तनावजन्य वातावरणमा बाँचिरहेका छौं । एक वर्षभन्दा लामो समयदेखि चल्दै आएको कोरोनाभाइरस सङ्क्रमणको महामारीले यसबीच सबैभन्दा बढी तनाव दियो । दशकाैेदेखि चल्दै आएको राजनीतिक द्वन्द्वले पनि समाजमा बहुआयामिक तनाव सिर्जना गर्‍यो ।

बितेका केही वर्ष त्यो तनाव मत्थर भएजस्तो देखिए तापनि फेरि बल्झिएको अनुभूति हुँदैछ । यिनै दुई परिस्थिति यतिबेला तनावको मुख्य स्रोतका रूपमा देखापरेका छन् । कोरोनाभाइरस सङ्क्रमणले सिर्जना गरेको तनावजन्य परिवेश सिङ्गै विश्वकै साझा समस्याका रूपमा देखापर्‍यो । अघि–पछि वा ढिलो–चाँडो र धेर–थोर यसले विश्वभर नै प्रभाव पार्‍यो र तनाव निम्त्यायो । मानव सभ्यता र संस्कृति; रहनसहन, आचरण र जीवनशैली; शिक्षादीक्षा; कलकारखाना, उद्योग–धन्दा, बन्द–व्यापार र व्यवसाय; सामाजिक–राजनीतिक परिवेश; खेलकुद र मनोरञ्जनलगायत सम्पूर्ण क्षेत्रलाई यसले प्रभावित तुल्यायो । र, राज्य एवम् समाजका सबै तह–तप्कामा आ–आफ्नो गच्छे, भूमिका र हैसियतअनुसारको तनाव सिर्जना गर्‍यो । यसले सबैलाई प्रत्यक्ष प्रभाव पार्‍यो ।

राजनीतिक द्वन्द्वप्रति भने धेरैको प्रत्यक्ष सङ्लग्नता, चासो र भूमिका हुँदैन । प्रत्यक्षरूपमा यसप्रति चासो र वास्ता पनि धेरैलाई हुँदैन । अप्रत्यक्षरूपले भने यसमा पनि सबै नागरिक जोडिएकै हुन्छन् । राजनीतिक द्वन्द्व र तनावले कुनै न कुनै रूपमा सबैलाई प्रभाव पारेकै हुन्छ । कसैको प्रत्यक्ष सङ्लग्नता र भूमिका हुन्छ त कसैले नचाहँदा नचाहँदै र मतलब नराख्दा नराख्दै पनि राजनीतिक द्वन्द्व र तनावको सिकार बन्नु परिरहेको हुन्छ । ठूलठूला सभा र प्रदर्शन, जुलुस र नाराबाजी, बन्द र हड्ताल, चुनाव, गहृ युद्ध आदिजस्ता माहोलले सिजर्ना गर्ने तनाव एकातिर छदैँ छ; अर्कातिर राजनीतिक निणर्य र नीतिहरूले उत्पन्न गर्ने परिणामका कारण पैदा हुने तनावले समेत सबैलाई पिरोल्छ ।

ठूलठूला ओहोदामा रहेकाहरू समेतले बडो तनावपूर्ण ढङ्गबाट कडा छेडछाड गर्दा, तीव्र आलोचना गर्दा र समग्र समाज नै धवु्रीकतृ एवम् विभाजित हुने गरी विग्रह तथा विखण्डनको माहोल सिर्जना गर्दा सिङ्गै समाज तनावग्रस्त बन्न पुग्छ । यसर्थ, कोही राजनीतिप्रति निरपेक्ष रहँदा पनि सुख पाउँदैन र प्रभावित बन्न पुग्छ । यो परिवेशले सामाजिक शिष्टाचार, सभ्यता र मनोभावनालाई त प्रत्यक्षतः प्रभावित तुल्याउँछ नै, सँगसँगै मानसिक स्वास्थ्यलाई समेत गम्भीर प्रभाव पार्दछ ।

यसअघि १२ र २९ वैशाख, २०७२ मा गएका ठूलठूला भूकम्पले पुर्‍याएको जनधनको क्षति, पीडित नागरिक र भग्न संरचनाहरूको वीभत्स दृश्य तथा केही महिनासम्म निरन्तर गइरहेका परकम्पहरूले नागरिक र समाजमा निकै ठूलो तनाव सिर्जना गरेका थिए । क्रमशः त्यसलाई भुल्दै, पुर्नजीवनका बाटा पहिल्याउदैँ र पुननिर्माण गर्दै भुकम्पको तनावबाट मुक्त हुँदा–नहुँदै कोरोना महामारीले झन् ठूलो तनाव सिर्जना गरिदियो । विभिन्न जातीय–क्षेत्रीय–सांस्कृतिक आन्दोलनहरूका क्रममा भड्कने गरेका साना–ठूला हिंसा, बारम्बार भैरहने हृदयविदारक किसिमका सवारी दुर्घटना, बाढी–पहिरो, डुबान, आगलागीजस्ता प्राकृतिक र व्यवहारजन्य प्रकोपहरूले पनि निरन्तर तनाव सिजर्ना गर्दै आएका छन् । क्षेत्रगत र अवधिगत हिसाबले हेर्दा भने कोरोना महामारी, भूकम्प र राष्ट्रियस्तरका सामाजिक–राजनीतिक द्वन्द्वको तुलनामा तिनको आयाम एवम् प्रभाव निकै साँघुरो र कम मात्रै हुने गरेको छ । तर, सम्बन्धित वर्ग र क्षेत्रको नजरबाट हेर्दा ती पनि तनावका निकै ठूला स्रोत बन्ने गरेका छन् । यी त भए साझा र सामूहिक तनाव । तर, कतिपयका पारिवारिक र निजी मामिला समेत गम्भीर तनावका ठूलै स्रोत बनेका हुन सक्छन् ।

मान्छेको मन न हो– परिस्थितिअनुसार हाँसो उठ्छ, दुःख लाग्छ, पिर पर्छ र पीडा हुन्छ, आक्रोश र उत्तेजना पैदा हुन्छ । कतिपय व्यवहार चित्त बुझ्दैनन्, असन्तुष्टि हुन्छ, घृणा जाग्छ । कसैलाई मन पर्ने कुरा÷व्यवहार अर्काेलाई मन पर्दैन, एउटाले लाभ उठाउदाँ अर्काले हानि व्यहोर्छ; घटना–दुर्घटनाले जो–कसैलाई प्रभाव पार्छ । र, यस्तै परिवेशले हो तनाव निम्त्याउने । प्राकृतिक प्रक्रिया निरन्तर चल्छ; राजनीति र समाज पनि गतिशील नै हुन्छ । एउटा प्रकोप टरे अर्काे आउन सक्छ; एउटा द्वन्द्व समाधान भए अर्काे बल्झन सक्छ र एउटा समस्या हल भए अर्काे समस्या जन्मन सक्छ । प्राकृतिक, सामाजिक एवम् राजनीतिक प्रक्रिया र जीवनमा अनेकौं घटना–दुर्घटना निरन्तरजसो भई नै रहन्छन् ।

जीवन रहँदासम्म समस्या रहन्छन्, समस्या रहँदासम्म तनावले छाड्दैन । जुनसुकै परिस्थितिको निर्धक्क सामना गर्नु र यथासम्भव सकारात्मक समाधान निकाल्नु नै तनावबाट मुक्त हुने मुख्य उपाय हो । जुनसुकै परिवेशमा पनि कर्तव्य पूरा गर्नु, सदाचारमा नचुक्नु, असम्बन्धित विषयमा चासो नराख्नु, हस्तक्षेप नगर्नु, हरहमेसा सकारात्मक सोच्नु र ‘धैर्यताको बाँध’ फुट्न नदिनु नै तनावबाट जोगिने अचुक उपाय हुन् । यति मात्र गर्न सकियो भने धेरै हदसम्म तनावमुक्त हुन सकिन्छ । तैपनि भएन भनेचाहिँ जडीबुटीको सेवन, प्राकृतिक चिकित्सा, मनोपरामर्श र अन्य उपचार विधि अपनाउनु तथा औषधि सेवन गर्नुको विकल्प रहँदैन ।