पायल्सको उपचारमा प्रभावकारी लेजर थेरापी
डा. सुशीला वैद्यहेमोरोइड (पायल्स) पीडित धेरैजसोमा हुने दुखाइ र बेचैनीबाट मुक्त हुन धेरै प्रकारका उपचारको खोजी हुन्छ । एक पटक पायल्सको समस्या भएपछि पटक–पटक दुःख दिइरहन्छ । यसको घरेलु उपचार विधि पनि अपनाउन सकिन्छ । घरेलुरूपमा तातो पानीमा बेटाजिन हालेर मलद्वार डुबाउन सकिन्छ । पिरो, माछा–मासु, अदुवा इत्यादि कम खाने, प्रशस्त पानी पिउने, फाइबरयुक्त खानपान गर्ने सागसब्जी तथा फलफूल खाने गर्दा पनि यो समस्याबाट धेरै हदसम्म बच्न सकिन्छ ।
पायल्स हुँदा त्यसको अवस्थाअनुसार उपचार विधि अपनाइन्छ । गाम्भीर्यता तथा पीडाको अवस्थाअनुसार उपचार विधि अपनाउनुपर्छ । यो समस्याबाट छुटकारा पाउने पछिल्लो समयको लोकप्रिय तथा सहज उपचार विधि भनेको लेजर थेरापी हो ।
पायल्सका लक्षण
पायल्सको प्रारम्भिक चरणमा कुनै सङ्केत वा लक्षणहरू देखिँदैनन् । पायल्सले प्रारम्भिक चरण पार गरिसकेपछि भने मलद्वार दुख्ने, चिलाउने र पोल्ने, दिशा गर्ने बेलामा बल पर्ने, कन्नुपर्ने, दिशा कसिने, रगत आउने, बस्न गाह्रो हुने, भित्र र बाहिर मासुका दानाहरू आउनेजस्ता लक्षण देखिन्छन् ।
यसरी हुन्छ पायल्स
कब्जियत भएपछि मलद्वारभित्रका भेनहरूमा रक्त–प्रवाह हुन सक्दैन र जाम हुन्छ । यसो हुँदा भेनहरू फुुल्छन् । फुलेका ती नशाको ठाउँ–ठाउँमा बिस्तारै पहिले मलद्वारभित्र नै दाना बन्छन् र दिशा कसिएर गोटाका रूपमा आउँदा नशा फुल्छन्, फुट्छन् । अलि पछि मलद्वार वरिपरि बाहिर समेत दाना निस्कन थाल्छन् ।
केही पिरो, बाहिरको खाना, मासु र अल्कोहल खाने तथा धूम्रपान गर्नेहरूलाई प्रायः यसले सताउँछ । गर्भावस्थाका महिलाहरूमा पनि यसको जोखिम बढी नै हुन्छ ।
पायल्सको वर्गीकरण
पायल्सको वर्गीकरण विभिन्न तरिकाले गरिएको हुन्छ । जस्तै–
बाह्यः यो गुदद्वारको सतहमा हुन्छ, गुदद्वार क्षेत्र वरिपरि दानाजस्ता लम्पहरू निस्कन्छन् । बस्न र हिँड्न गाह्रो हुन्छ ।
आन्तरिकः यो पायल्स भने गुद्वारभित्र हुन्छ । यसलाई देख्न सकिँदैन । र, कहिलेकहीं गुदद्वारबाट बाहिरै समेत निस्कन सक्छ । यो स्थितिलाई प्रोलाप्सद पायल्स भनिन्छ ।
थ्रोम्बोजेड हेमोर्रोइड्सः यो जटिल पायल्स हो । हेमोर्रोइड्सभित्र रगत हुन्छ । हेमोर्रोइड्स भनेको मलद्वारका वरिपरि देखापर्ने सुजन वा लम्पहरू हुन् । यदि कसैमा यस्ता लक्षणहरू भएको महसुस भएमा तुरून्तै चिकित्सककहाँ सम्पर्क राखिहाल्नुपर्छ । खासगरी तीव्र दुखाइ र खुजली, रातो र सुजन तथा मलद्वार क्षेत्रको नजिक नीलो भएमा तत्काल जँचाएर उपचार गरिहाल्नुपर्छ ।
पायल्सको परीक्षण
पायल्स हो वा होइन भन्ने निश्चित गर्नका लागि चिकित्सकले विभिन्न खाले शारीरिक परीक्षण गर्नुपर्छ । यसको परीक्षण मुख्यतः एक किसिमको डिजिटल जाँचबाट हुन्छ । यो विधिमा चिकित्सकले पञ्जा लगाएर लुब्रिकेट गरेको चोर औंला मलद्वारबाट भित्र पठाएर भित्रपट्टि सुन्निएको भेट्छ । यसरी भित्री पायल्स थाहा हुन्छ ।
भित्री पायल्सको उपचार नहुँदा बाह्य पायल्स (प्रोलाप्सद) समेत हुन्छ हुन्छ । त्यसो भएको पाइए चिकित्सकले क्लोनोस्कोप वा प्रोक्टोस्कोपको सहायताले जाँच गर्नुपर्छ । घाउ र नराम्रो स्थिति भैसकेको छ भने बायोप्सी समेत गर्नुपर्छ । मलद्वारभित्र पायल्स बिग्रेमा रेक्टल क्यान्सर हुने डर हुन्छ ।
लेजर उपचार
लेजर प्रविधिले कसरी पायल्स निको पार्दछ त ? यसका केही विधि छन् । लेजर उपचार प्रविधिमा तीन प्रकारका उपचार हुन्छन्– लेजर थेरापी, लेजर कोगुलेसन र लेजर एक्जेस ।
लेजर थेरापीको पहिलो कोर्षमा रेड लेजर बिमद्वारा स्वचालित मोडमा ६३० एनएम फाइबर प्रोबका साथ १० मिनेट रेडियट गराइन्छ । यसले सुजन घटाएर गुदद्वारमा रगतको पुनः प्रवाह गराउँछ र फुलेको दाना गिलो हुँदै आफैं सुकेर क्रमशः सानो हुँदै बिलाउँछ । यसरी लेजर थेपापीका माध्यमबाट पायल्स निको हुन्छ ।
यसरी उपचार गर्दा एकैसाथ गुदद्वारका पर्खाललाई पनि बलियो बनाउँछ । यस्तो प्रभावबाट दुखाइ कम हुन्छ । १० दिनमा बवासिर ७० प्रतिशतभन्दा बढी मात्रामा सानो र नरम हुन्छ । यसरी उपचार गर्दा शल्यक्रियाको आवश्यक पर्दैन ।
लेजर कोगुलेसन थेरापीमा भने उच्च मानको लेजर (चौथो अर्थात् आईभी श्रेणीको लेजर) प्रयोग गरिन्छ । यो विधिमा पायल्स भएका रक्तनलीलाई मार्ने र कोषमा रक्त–आपूर्ति काट्ने काम हुन्छ । अन्ततः पायल्सयुक्त रक्तनली क्रमशः सङ्कुचन भई मर्दछन् । यो विधिको थेरापी थोरै पीडादायी हुन्छ ।
लेजर एक्साइजेसन भनेको लेजर लाइटले पायल्स काट्ने प्रक्रिया हो । तर, यसरी गरिएको उपचारपछि समेत फेरि समस्या बल्झन र दुःख दिइराख्न सक्दछ । यस क्रममा गुदद्वार बन्द हुने प्रक्रिया खुकुलो हुन गएमा दिशा चुहिन्छ ।
यी तीनखाले उपचार विधिमध्ये सबैभन्दा सरल, सस्तो, विनाघाउ, विनाशल्यक्रिया सुकाउन र एक दिनमै दुखाइ कम गर्न सक्ने विधि भनेको लेजर थेरापी नै हो । जति पटक पायल्सको समस्या भए पनि कम खर्चमा गर्न सकिने उपचार विधि यही हो । दोहोरिँदै दाना फुलेर समस्या आएमा ५ देखि १० दिनको थेरापी गरेपछि निको हुन्छ । यो विधिबाट उपचार गर्दा मलद्वारको भित्ताको भेनमा रगत जम्न पाउँदैन, दाना फेरि चाँडै फुल्दैनन् र रगत आउँदैन । पायल्सका कारण फिसर वा फिस्टुला भएको छ भने पनि लेजर थेरापीबाट निको हुन्छ ।
लगभग १९ वर्षको अध्ययन र व्यावहारिक अनुभवका आधारमा भन्न सकिन्छ– सबैभन्दा सरल, विनादुखाइको, सस्तो र अस्पताल भर्ना भएर नबसिकनै, आफ्नो दैनिक काममा बाधा नपारिकनै गर्न सकिने सबैभन्दा लाभदायक विधि भनेकै लेजर थेरापी विधि हो ।
लेजर थेरापी गरेर निको भएपछि पायल्स दोहोरिन नदिन खानपानमा ध्यान पुर्याउनुपर्छ । फाइबरयुक्त खाना, सागसब्जी र फलफूल पर्याप्त खानुपर्छ र प्रशस्त पानी पिउनुपर्छ । दैनिक व्यायाम गर्नाले पनि पाचन क्रिया राम्रो हुन्छ र समयमा दिशा हुन्छ अनि गोटा नहुने भएर पायल्स निको हुन्छ, दोहोरिन समेत पाउँदैन ।
हेमोर्रोइड्स उपचारका विधि भनेकै सन्तुलित र स्वस्थ आहार र लेजर थेरापी, स्वस्थ जीवनशैली वा प्राकृतिक उपचार हुन् । हेमोर्रोइड्सको उपचारमा डायोड लेजर थेरापी धेरै प्रभावकारी हुन्छ । पायल्स रोग धेरै पीडादायी र अप्ठ्यारो हुन्छ । कहिलेकहीं सुरुको अवस्थामा बाहिर निस्कनु अगावै थेरापी गर्दा प्रायः पहिलो कोर्षमै पूरै निको हुन्छ र समस्या फेरि बल्झँदैन । यसर्थ, लो इन्टेन्सिटी लेजर थेरापी धेरै रोगका निम्ति बरदान नै हो ।
डा. वैद्य लेजर थेरापी क्लिनिकमा कार्यरत लेजर थेरापी तथा स्त्री क्यान्सर विशेषज्ञ हुन्