कोटका शौखिन डाक्टर जसवन

होलिस्टिक संवाददाता

प्लास्टिक सर्जन डा. जसवन शाक्य चटक्क मिलेका पोशाक लगाउन मन पराउने चिकित्सक हुन् । पाँच फिट सात इन्च अग्लो कदका डा. शाक्यको तौल ८३ किलोग्राम छ । ४५ वर्षीय डा. शाक्य हेर्दै स्मार्ट र फुर्तिला देखिन्छन् ।

स्टार अस्पतालमा कार्यरत डा. शाक्यले चिकित्सकीय पेशा अँगालेको २१ वर्ष भयो । उनले सर्जनकै रूपमा भने सेवा थालेको १२ वर्ष भयो । उनै डा. शाक्यसँग गरिएको पोशाक–संवाद ।

पोशाकमा कत्तिको सचेत हुनुहुन्छ ?
सचेत त हुनैपर्‍यो । चटक्क परेर हिँड्न मन पर्छ । सुहाउँदो लुगा लगाउँछु ।

कस्ता पोशाक लगाउन मन पर्छ ?
हस्पिटल जाँदा फर्मल लगाउँछु, अरुबेला त क्याजुअल लगाइन्छ ।

तपाईंको पोशाकका धेरैजसो आइटम के–के हुन् ?
धेरैजसो त फर्मल नै हुन्छन् ।

अस्पताल जाँदा जाडोमा कस्ता पोशाक लगाउनुहुन्छ ?
जाडोमा सर्ट–पाइन्ट र कोट लगाउँछु ।

अनि गर्मीमा नि ?
सर्ट–पाइन्ट लगाउँछु ।

अस्पतालमै बस्दाचाहिँ कस्ता पोशाक लगाउनुहुन्छ ?
अस्पतालमै बस्दा त अस्पतालकै चिकित्सकीय ड्रेस लगाउन मन पर्छ ।

पोशाक किन्न कत्तिको शौख लाग्छ ?
आफैं त खासै किन्दिनँ । धेरैजसो श्रीमतीले किनिदिन्छिन्, कोटचाहिँ आफैं किन्छु ।

त्यसोभए, कोटको अलि बढी शौखिन हुनुहुन्छ ?
हो । म कोटचाहिँ धेरै किन्छु । कोटको कलेक्सन ठूलै छ । महँगा खालकै कोट किन्छु । कोट त मनपर्‍यो कि किनिहाल्छु । सुट खासै लगाउँदिन, २–३ जोर मात्रै छन् ।

पोशाकमा वार्षिक कति खर्च गर्नुहुन्छ ?
कोट एउटैको २५ हजारसम्म पर्ने छन् । औषतमा १०–१५ हजारको किन्छु । कोट धेरै किन्छु । ब्रान्डेड र महँगै कोट किन्छु । सर्ट–पाइन्ट त धेरै महँगो किन्दिनँ । ठ्याक्कै कति खर्च हुन्छ भन्ने त खासै याद छैन ।

त्यसोभए कोट त टन्नै होलान् नि ?
२०–२५ वटा होलान्, दैनिक फेर्छु ।

एक जोर लुगा कति दिनसम्म लगाउनुहुन्छ ? दैनिक फरक–फरक लुगा लगाउनुहुन्छ ?
दैनिक कपडा चेन्ज गर्छु । आज लगाएको लुगा भोलि दोहोर्‍याएर लगाउँदिन । ३–४ दिनपछि मात्रै दोहोरिन्छ । कोट त हप्तामा सात वटा फरक–फरक नै लगाउँछु । कोटमा शौखिन भएर होला, कोटका धेरै भेराइटी छन् । जुत्ताचाहिँ दोहोरिन पनि सक्छ ।

कस्तो रङ्गका कपडा मन पर्छन् ?
पाइन्ट डार्क कलरको मनपर्छ । पाइन्ट अँध्यारो किसिमको, सफ्ट मन पर्छ भने सर्टचाहिँ उज्यालो नै मन पर्छ । कोट त धेरै कलरका छन् ।

प्रायः नेपाली ब्रान्डका कपडा लगाउनुहुन्छ कि विदेशी ?
पहिले–पहिले त नेपालमा नै सिलाइएका कोट लगाउथें, अहिलेचाहिँ धेरैजसो विदेशी ब्राण्डका नै लगाउन थालेको छु । सर्ट पनि प्रायः बाहिरकै हुन्छन्, पाइन्टचाहिँ नेपालमा नै सिलाउँछु ।

चिकित्सकीय पेशाका व्यक्तिले ड्रेस सेन्समा कत्तिको ध्यान दिनुपर्छ ?
पोशाकले व्यक्तित्व झल्काउँछ । कपडा भनेको एकदमै इम्पोर्टेन्ट हो । त्यसमाथि पनि चिकित्सकीय पेशा अँगालेका व्यक्तिले आफूलाई सुहाउँदो कपडा लगाउनुपर्छ जस्तो लाग्छ । महँगो लगाउनुपर्छ भन्ने छैन ।

जुत्ताको पनि कुरा गरौं, जुत्ता कस्तो मन पर्छ ?
फर्मल ड्रेसमा कालो जुत्ता लगाउँछु, इन्फर्मलमा अरु कलर पनि हुन सक्छन् । जुत्तामा धेरै चुजी छैन, ब्राण्डेड र कम्फर्टेबल लगाउँछु ।

त्यसोेभए, जुत्ताचाहिँ कति जोर होलान् ?
४–५ जोर मात्रै छन् ।

वर्षमा कति जोर जुत्ता किन्नुहुन्छ ?
जुत्ता त कमै किन्छु । एक जोरले २–३ वर्षै पुग्छ ।