लाहुरेको कोसेली लालुपाते

होलिस्टिक संवाददाता

‘लालुपाते नुग्यो भुइँतिर,
कि लाऊ माया मैतिर, कि लाऊ उहीतिर,
नलाऊ दुईतिर…’

नेपाली लोक भाकाको यो गीतले केही वर्षअघि निकै चर्चा पाएको थियो । लालुपाते फूल फुल्दा कम सुन्दर देखिँदैन । मोहित बनाइदिन्छ । यो फूलप्रति मोहित भएर नै हुनुपर्छ, स्रष्टाले फूलको सुन्दरतासँगै माया–प्रेमको चर्चा गरे । राताम्मे, ढकमक्क फुलेको लालुपाते यति सुन्दर हुन्छ कि लालीगुराँसकै झल्को मेटाइदिन्छ । ढकमक्क लालुपाते कति सुन्दर आहा !

यो फूल कसरी नेपालमा लोकप्रिय बन्यो भन्ने कुराको ऐतिहासिक पाटो पनि निकै रोचक छ । वनस्पतिविज्ञ कुमार केसी लालुपातेको ऐतिहासिक पाटो खुट्याउँदै भन्छन्– ‘यो फूल मेक्सिकोबाट बेलायत हुँदै नेपाल भित्रिएको देखिन्छ ।’ हर्टिकल्चर विशेषज्ञका अनुसार नेपालमा सबैभन्दा पहिले पोखरामा लालुपाते भित्रिएको हो । एक शताब्दीअघि यो फूल नेपाल भित्रिएको हो ।

अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा छ । तर, पोखरामा चाहिँ यो फूल कसरी भित्रियो त भन्ने प्रश्न उठ्नु स्वाभाविकै हो । तर, पोखरामा यो फूल भित्रँदाको पनि बडो रोचक प्रसङ्ग छ । पोखरेली युवा लाहुरे भएर ब्रिटिस सेनामा पुगेका रहेछन् । लाहुरे दाइले सैनिक ब्यारेकको प्राङ्गणमा ढकमक्क लालुपाते फुलेको देखे । ढकमक्क लालुपातेले उनलाई नलोभ्याउने कुरै भएन । ती लाहुरे दाइले नेपाल फर्कंने बेला एक टुक्रा लालुपातेको हाँगो पनि काटेर झोलामा हालेछन् ।

बेलायतबाट ल्याएको लालुपातको हाँगो लाहुरे दाइले पोखरामा आफ्नो घरको फूलबारीमा गाडेछन् । हाँगो सर्‍यो । हुर्कंदै गयो । फुल्न थाल्यो । लालुपातेले छिमेकीलाई पनि लोभ्यायो । छिमेकीहरूले पनि यसको हाँगो भाँच्दै लान थाले । त्यसपछि पोखरामा लालुपाते फैलिएको वनस्पतिविज्ञ केसीले बताए ।

काठमाडौं˗पोखरा ओहोर–दोहोर हुने क्रममा काठमाडौंमा पनि लालुपातेको हाँगा भाँचेर ल्याई सारियो । त्यसपछि काठमाडौंमा पनि लालुपाते फैलिएको हर्टिकल्चर विशेषज्ञ बताउँछन् । ब्रिटिस लाहुरेले चिनोका रूपमा नेपाल भित्र्याएको लालुपाते अहिले देशैभर फैलिएको छ । यो फूल सहरमा मात्र होइन, गाउँघरका फूलबारीमा पनि प्रशस्तै देखिन्छ ।

वनस्पतिविज्ञ केसी पोखराको फेवाताल किनारामा एकताका फुलेका लालुपातेको मनमोहक दृश्य सम्झन्छन्– ‘फेवाताल वरिपरि लालुपाते फुल्दा नवदुलहीले घुम्टो ओढेजस्तै सुन्दर देखिन्छ ।’ फेवातालको आँगनमा माछापुछ्रेको छायाँ कम मनमोहक देखिँदैन । त्यसमा पनि ढकमक्क फुलेको लालीगुराँसको मुस्कानले त मनै बहलाइदिन्छ । माछापुछ्रेको छायाँ र लालीगुराँस फुलेको समयको मनमोहक दृश्यले पर्यटकलाई लोभ्याउने र आकर्षणको केन्द्र बन्ने हर्टिकल्चर विशेषज्ञ बताउँछन् । लाहुरेको चिनो तथा कोसेलीका रूपमा नेपाल भित्रिएको लालुपाते कम मनमोहक छैन ।

गुराँस बिर्साउने लालुपाते नेपालमा जाडो मौसममा फुल्ने फूल हो । आजकल नेपालका नर्सरीहरूमा समेत यसका बिरुवा पाइन्छन् । काठमाडौंको बानेश्वरस्थित रोजडेल नर्सरीका देवप्रकाश राई फुल्ने मौसममा लालुपाते पारखीको आकर्षणमा पर्ने अनुभव सुनाउँछन् ।

झट्ट हेर्दा लालुपाते फुलेको जस्तो देखिन्छ । तर, यो फुल्ने होइन, पात नै रातो हुने हो । जाडो मौसम सुरु हुँदैजाँदा लालुपातेका टुप्पाका पातहरू रातै हुन्छन्, यसैलाई फूल भनिन्छ । यसका थुँगा विभिन्न भेराइटीमा पाइन्छन् । जाडो मौसममा अधिकाङ्श फूलहरू नफुल्ने भएकाले यो मौसममा राताम्मे देखिने लालुपाते त्यसै पनि सुन्दर देखिने नै भयो । सामान्यतया यो कात्तिकदेखि सुरु भई झन्डै वैशाखसम्म फुल्ने रोजडेलका राई बताउँछन् । राईले भने– ‘यो फूल फुलेर पनि लामो समयसम्म टिक्छ ।

यो फूल रातो, पहेंलो, छिरबिरेजस्ता रङ्गमा पाइन्छन् । डल्लो आकारमा फुल्ने लालुपातेको आकार लालीगुराँसको जस्तै देखिन्छ । तर, पातै आकारमा (फ्ल्याट) पनि फुल्छ । लालुपातेलाई ‘हाइब्रिड’ गरेर गमलामा रोपी होचोमा पनि फुलाउन सकिन्छ । यसको बिरुवालाई प्रशस्त घाम चाहिने फ्लोरिकल्चर एशोसिएन नेपाल (फ्यान) का अध्यक्ष कुमार कसजु श्रेष्ठ बताउँछन् । घाममा राख्दा राम्रो पनि फुल्छ । यसलाई कम्पोस्ट मल हाल्नु नै उचित हुने हर्टिकल्चर विशेषज्ञको सुझाव छ । फूल फुलिसकेपछि हाँगालाई ‘ट्रिम’ गर्नु जरुरी हुन्छ । हाँगा ट्रिम गर्दा अर्को वर्ष राम्रोसँग फुलाउन सकिने श्रेष्ठ बताउँछन् ।

रोचक इतिहास

यो फूलको पहिचान पनि सन् १८२५ मा बेलायतमा नै भएको इतिहास पाइन्छ । लालुपाते फूलको वैज्ञानिक नाम ‘जोयल रोबर्ट पोइन्सेट’ हो । त्यसैकारण यसलाई अङ्ग्रेजीमा ‘पोइन्सेटिया’ भनिन्छ । यसलाई युफरबियाको नामले समेत चिनिने गरेको राई बताउँछन् ।

लालुपाते फूल दुईदेखि तेह्र फिटसम्म अग्लो हुन्छ । तर, आजकल भने हाइब्रिड गरेर होचोमा पनि फुलाउन थालिएको छ । सोह्रौं शताब्दीमा मेक्सिकोबाट क्रिसमस फूलका रूपमा समेत यसको प्रयोग गर्न थालिएको पाइन्छ ।

यो फूल क्रिसमसको समयमा फुल्छ, त्यसैले क्रिसमस फूलका नामले समेत चिनिन्छ । पश्चिमा मुलुकहरूमा यो फूल निकै लोकप्रिय छ । क्रिश्चियन धर्मावलम्बीहरूले क्रिसमसमा घर तथा अफिसलाई आकर्षक ढङ्गले यो फूलद्वारा सजाउने गरेको पाइन्छ । लालुपाते उत्तरी अमेरिकामा प्रसिद्ध छ । डिसेम्बर १२ का दिन अमेरिकामा राष्ट्रिय लालुपाते दिवस (पोइन्सेटिया) मनाउने गरिएको समेत पाइन्छ । इजिप्टमा सन् १८६० को दशकदेखि व्यावसायिकरूपमा लालुपाते खेती सुरु भएको पाइन्छ । त्यहाँ सयभन्दा बढी प्रजातिका लालुपाते रहेको विश्लेषण छ ।