विन्टर डाइरियाले हिउँदमा हैरान

डा. शेरबहादुर पुन

हिउँदे मौसममा चिसोका कारण झाडा–पखालाले सताउन सक्छ । चिसोका कारण हिउँदमा हुने झाडा–पखालालाई ‘विन्टर डाइरिया’ अर्थात् ‘कोल्ड डाइरिया’ भनिन्छ । जाडो मौसममा विशेषतः भाइरसले गर्दा नै झाडा–पखाला हुन्छ । चिसोमा विशेषगरी ‘रोटा’ नामक भाइरसले सङ्क्रमण गराउँछ र झाडा–पखाला हुन्छ । चिसो मौसममा नेपालमा मात्र होइन, विश्वभर नै रोटा भाइरसका कारण झाडा–पखाला हुने भएकाले यसलाई विन्टर डाइरिया भनिएको हो ।

रोटा भाइरसका विभिन्न समूह हुन्छन् । बालबालिकामा प्रायः ‘ए’ समूहको रोटा भाइरसको सङ्क्रमण हुन्छ । हुन त बयस्कमा पनि ‘ए’ समूहकै रोटा भाइरसको सङ्क्रमण हुन सक्छ तर तिनमा भने यो समूहका भाइरसको असर कमै मात्र हुन्छ । बयस्कमा चाहिँ ‘बी’ समूहको रोटा भाइरसले झाडा–पखाला गराउँछ ।

बढी सताउँछ पाँच वर्ष मुनिकालाई

रोटा भाइरसले बालबालिकालाई बढी सताउने गरेको पाइन्छ । यो भाइरसका कारण हुने झाडा–पखालाबाट पाँच वर्ष मुनिका बालबालिकाको मृत्युकै जोखिम हुन्छ । अध्ययनअनुसार चिसो मौसममा पाँच वर्ष मुनिका बालबालिकामा झाडा–पखाला गराउने प्रमुख कारण नै रोटा भाइरस हो । पाँच वर्षभन्दा कम उमेका बालबालिकामा झाडा–पखालाबाट मृत्यु हुने प्रमुख कारण नै रोटा भाइरसको सङ्क्रमण भएको देखिन्छ । झाडा–पखाला भई चिसो मौसममा अस्पताल पुर्‍याइएका पाँच वर्ष मुनिका बालबालिकामध्ये ५० प्रतिशतमा रोटा भाइरसकोे सङ्क्रमण हुने गरेको अध्ययनले देखाउँछ ।

सन् २०१० तिर नेपालमा मेरै नेतृत्वमा गरिएको एक अध्ययनले पनि चिसो मौसममा बालबालिकालाई झाडा–पखाला गराउने मुख्य कारण रोटा भाइरसको सङ्क्रमण रहेको नै पत्ता लागेको थियो । नेपालमा भने चिसो मौसममा झाडा–पखाला भई अस्पताल पुर्‍याइएका पाँँच वर्ष मुनिका बालबालिकामध्ये झन्डै ३३ प्रतिशतमा यो भाइरसको सङ्क्रमण पुष्टि हुने गरेको देखिन्छ ।

सर्ने माध्यम

रोटा भाइरस सामान्यतः दिसाको माध्यमबाट सर्दछ र झाडा–पखाला गराउँछ । सङ्क्रमित व्यक्तिको हातमा दिसा लागेको हुन सक्छ र त्यस्तो हातले कुनै वस्तु या भाँडाकुँडा छोएको हुन सक्छ । सङ्क्रमितले छोएको कुनै वस्तु, भाँडाकुँडा या खाद्य पदार्थ अर्को व्यक्तिले छोएर मुखमा हात पुर्‍याउँदा भाइरसको सङ्क्रमण भई झाडा–पखाला हुन सक्छ । रोटा भाइरस हावाबाट समेत सर्न सक्छ ।

बालबालिकालाई यो भाइरसले बढ्ता सताउने भएकाले सतर्क रहनु आवश्यक छ । यो भाइरस खेलौनाको माध्यमबाट पनि सर्छ । त्यसैले सङ्क्रमित बालबालिकाले खेलाएका खेलौना तथा भाँडाकुँडा वा अरु कुनै सामग्री अर्को बालबालिकाले खेलाउँदा भाइरस सर्न सक्छ । सङ्क्रमित बालबालिकाले छोएका तथा खेलाएका वस्तु तथा सामग्री अरु बालबालिकाले मुखमा हाल्न सक्छन्, यसो गर्दा भाइरस सर्ने जोखिम झन् बढी हुन्छ । विद्यालयमा होस् वा घरमा नै किन नहोस्, सङ्क्रमित बालबालिका र अरु बालबालिकालाई एकै ठाउँमा राखेर नखेलाउनु उचित हुन्छ ।

एकै व्यक्तिलाई रोटा भाइरस जति धेरै पटक लाग्छ, यसको प्रभाव त्यति नै कम हुँदै जान्छ । पहिलो पटक लाग्दा भने यसको असर कडा हुन्छ । त्यसैले उमेर जति–जति बढ्दै जान्छ, यसको असर तथा जोखिम त्यति नै कम हुँदै जान्छ । बालबालिकाको उमेर बढ्दै जाँदा रोग प्रतिरोधात्मक क्षमता पनि बढ्दै जान्छ, जसले भाइरस या रोगविरुद्ध लड्ने क्षमता पनि बढाउँदै लान्छ ।

मुख्य लक्षण नै झाडा–बान्ता

रोटा भाइरसको मुख्य लक्षण भनेकै झाडा–पखाला र बान्ता हुनु हो । चिसो मौसममा तारन्तार झाडा–पखाला लाग्नु तथा बान्ता हुनु रोटा भाइरस सङ्क्रमणको मुख्य लक्षण हो ।

झाडा–पखाला तथा बान्ता हुँदा शरीरमा पानीको मात्रा कम भई अङ्गले राम्रोसँग काम गर्न नसक्दा मृत्यु समेत हुन सक्ने भएकाले सचेत हुनुपर्छ । शरीरमा पानीको मात्रा कम हुनु भनेको ‘सिभियर डिहाइड्रेसन’ हुनु हो ।

सरसफाइ र पौस्टिक आहार

मुख्यतः चिसोबाट बच्नु नै रोटा भाइरसबाट बच्ने सबभन्दा राम्रो उपाय हो । चिसो मौसममा यो भाइरस सक्रिय भएर झाडा–पखाला गराउने भएकाले विशेषगरी बालबालिकालाई जाडोबाट बचाउनुपर्छ । यसबाट बच्ने दोस्रो मुख्य उपाय भनेको सरसफाइमा पर्याप्त ध्यान पुर्‍याउनु हो । सडेगलेका, बासी तथा प्रदूषित खानपान गर्नै हुँदैन । सङ्क्रमित र अन्य बालबालिकालाई एकै ठाउँमा नखेलाउनु र सङ्क्रमितले प्रयोग गरेका सामग्री अन्य बालबालिकालाई प्रयोग गर्न नदिनु यसबाट बच्ने तेस्रो महत्त्वपूर्ण उपाय हो ।

आमाको दूध पोषिलो हुन्छ । यसमा रोग प्रतिरोधात्मक क्षमता पनि निकै उच्च हुने भएकाले स्तनपान गरिरहेका बच्चामा रोटा भाइरसको सङ्क्रमण र त्यसले गराउने झाडा–पखालाको जोखिम कम हुन्छ । दूधलाई बट्टामा हालेर तथा कृत्रिमरूपमा तयार पारिएका दूध खुवाउँदा झाडा–पखालाको बढी जोखिम हुने भएकाले स्तनपानमा नै जोड दिनुपर्छ ।

रोटा भाइरसको सङ्क्रमण भई झाडा–पखाला लागेमा यसले करिव एक हप्तासम्म दुःख दिन्छ । यो भाइरसको सङ्क्रमण हुँदा यही नै उपचार विधि अपनाउने भन्ने छैन र यकिन औषधि समेत छैन । यो भाइरसका कारण स्वास्थ्य समस्या हुँदा लक्षणको आधारमा उपचार (सिम्प्टोमेटिक ट्रिटमेन्ट) गरिन्छ । कतिपयलाई स्लाइन–पानी दिनुपर्ने हुन सक्छ । झाडा–पखाला हुँदा शरीरमा पानीको मात्रा कम हुन नदिन जीवनजल र उम्लिएर सेलाउँदै गरेको मनतातो पानी पिउनुपर्छ; प्रशस्त मात्रामा झोलिलो पदार्थको सेवन गर्नुपर्छ ।

खोपको उपलब्धता

रोटा भाइरसबाट बच्नका लागि खोप पनि उपलब्ध छ; यो नेपालमा पनि आइसकेको छ । पाँच वर्ष मुनिका बालबालिकामा रोटा भाइरस विरुद्धको खोप दिएर चिसो मौसममा हुने झाडा–पखालाबाट बचाउन सकिन्छ । रोटा भाइरस विरुद्धको खोप लगाइसकेपछि सङ्क्रमण भइहाले पनि त्यसले कडा रूप लिन पाउँदैन, जसले बालबालिकालाई झाडा–पखालाको जोखिमबाट बचाउन मद्धत मिल्छ ।

खोप उपलब्ध भए तापनि नेपालका सबै क्षेत्र/भेगमा सर्वसुलभ उपलब्धता भने हुन सकेको देखिँदैन । ग्रामीण क्षेत्रमा उपचारको अभावका कारण झाडा–पखालाबाट बालबालिकाको मृत्यु हुने जोखिम बढी भएकाले शीघ्रातिशीघ्र सबै क्षेत्रमा खोपको विस्तार हुनु आवश्यक छ ।

डा. पुन शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल, टेकुमा क्लिनिकल रिसर्च युनिटका संयोजक हुन्