‘एलर्जीको औषधि खाएर सुटिङमा निस्कन्छु’: अभिनेतृ रेविका
होलिस्टिक संवाददाताअभिनेतृ रेविका गुरुङ अभिनीत चलचित्र ‘मारुनी ’ प्रदर्शन भइसकेको छ । उनको दोस्रो फिल्म ‘म’ पनि छायाङ्कन–सम्पादन सकिइवरी प्रदर्शनको तयारीमा छ । फिल्म खेल्नका लागि हतार नगर्ने अभिनेतृ गुरुङले पछिल्लो समय दर्जनौ म्युजिक भिडियोमा अभिनय गरिसकेकी छन् । उनलाई फिल्ममा अफर नआएका होइनन् तर चित्तबुझ्दो स्क्रिप्ट नभएका कारण हात नहालेको उनको भनाइ छ । भिन्न स्वभावकी रेविकाले अनलाइन बिजनेसतिर पनि हात हालेकी छन् । ‘मारुनी’ बाट दर्शकको मन जितेकी रेविका अहिले चर्चामा छिन् ।
काम हुँदा बिहान सबैरै उठ्ने उनको बानी छ । कुनै दिन काम छैन भने चाहिँ बिहान ९ बजेसम्म नै सुत्छिन् । उठ्नेबित्तिकै तातो पानी पिउने र योगा गर्ने उनको बानी छ । सुटिङ परेका बेला भने सोहीअनुसार समय व्यवस्थापन गर्ने रेविका बताउँछिन् । ‘सुटिङका बेला पनि ९ बजेसम्म सुतिदियो भने त गाह्रो भइहाल्यो नि’– ठट्यौली पारामा उनले भनिन् ।
दाल–भात र तरकारी नै प्यारो
उनलाई दाल–भात र तरकारी नै मन पर्छ । बाहिरका खाने कुरा केही पनि उनलाई मन पर्दैनन् । उनलाई घरमा नै बनाएका खाने कुरा खानुपर्छ । बाहिर खाइहाल्नु परेको अवस्थामा उनले खाने आफैंले रोजेको ४–५ वटा ठाउँ छन्, तीबाहेक कतै गएर उनी खाँदिनन् । ती ठाउँमा यदि आफूले भनेजस्ता खाने कुरा सकिए वा नपाइएको अवस्थामा घरमै फर्किएर मात्र खाने गर्छिन् ।
घरमा खाने कुरा आफैं पकाउँछिन् या आमाले पकाएको खाने गर्छिन् । आफूले त्यति धेरै पकाउने नगरेको उनी बताउँछिन् । अग्र्यानिक खाने कुरामा जोड दिने रेविका काठमाडौंमा ताजा र अर्ग्यानिक खाद्य सामग्री खासै नपाइने बताउँछिन् । ‘बजारबाट आमाले जे किनेर ल्याउनुहुन्छ, त्यही नै खाने हो; कुन अर्ग्यानिक, कुन के भन्ने कुरा त यहाँ छुट्याउनै गाह्रो हुन्छ’– उनले भनिन् ।
‘जङ्कफुडको त नामै लिन्न’
उनलाई जङ्कफुडको नाम लिनै मन पर्दैन किनकि उनी बाहिरका खानेकुरा नै खाँदिनन् । ‘स्वास्थ्यलाई असर पुर्याउने खाने कुरा मलाई मन पर्दैन,’ उनी भन्छिन्– ‘अरुले के–कस्ता खाने कुराहरू खानुहुन्छ, त्यो मलाई थाहा छैन तर मलाई जङ्कफुडले राम्रो गर्दैन, म त अरुलाई पनि यस्ता कुरा नखानोस् भन्ने सल्लाह दिन्छु ।’
आफू सानैदेखि स्वास्थ्यप्रति सचेत रहेको र स्वस्थ जीवनशैलीबारे ज्ञान लिँदै आएको उनको भनाइ छ । उनी जतिसक्दो पानी पिउनमा जोड गर्छिन् ।
तुलसीपत्ता र तातो पानी
सामान्य रुघा–खोकी लागेमा घरायसी उपचार नै रोज्छिन् । तुलसीको पत्ता पकाएर खाने गरेकी छन् । यस्तो बेला तातो पानी नै बढी पिउने गरेकी छन् । रुघा–मर्की लाग्नासाथ अस्पतालका औषधि खाइहाल्ने उनको बानी छैन ।
‘स्वास्थ्यका बारेमा म निकै सचेत छु किनभने मलाई सबैभन्दा धेरै एलर्जी हुन्छ, बाहिरको घाम–पानीले समेत एलर्जी भइहाल्छ,’ उनी भन्छिन्– ‘त्यसैले फिल्ममा काम गर्नुपर्दा या केही गर्नुपर्दा एलर्जीको औषधि खाएर काममा जान्छु नत्र एलर्जी आएर तनावै हुन्छ, अरु नभए पनि मैले यसैको औषधि निरन्तर खाइरहेकी हुन्छु ।’
रेविकाले डाक्टरको सल्लाहबिना भने औषधि खाने गरेकी छैनन् । डाक्टरको सल्लाहबिना उनले औधषि किन्ने समेत गरेकी छैनन् ।
बिरामी भएर अस्पताल बसेको पनि उनको अनुभव छ । स्वास्थ्यका कारण समेत उनले केही स्मरणीय अनुभूतिहरू सँगालेकी छन् । कहिले ग्यास्ट्रिक त कहिले जन्डिसका कारण उनी अस्पताल बसेकी छन् । यीबाहेक त्यति धेरै पीडादायी अस्पताल बसाइ भने नभएको उनी बताउँछिन् ।
पहिलो आवश्यकता : मानसिक स्वस्थता
रेविकाले हरेक वर्ष होलबडी चेकअप गराउँदै आएकी छन् । शरीरभन्दा महँगो चिज अर्को केही नभएको उनको तर्क छ । शारीरिक तथा मानसिक तन्दुरुस्तीकै कारण आफूले सधैं योगा गर्ने गरेको उनको भनाइ छ ।
‘भगवान्’ को नाम लिएर योगा गर्दा शारीरिक–मानसिक स्वस्थता मिल्ने उनको विश्वास छ । ‘पहिलो कुरा त मन सफा हुनुपर्याे,’ उनी भन्छिन्– ‘हरेक बिहान उठेपछि विचारलाई सफा पार्नुपर्यो, त्यसपछि त मान्छे त्यसै पनि स्वस्थ बन्छ । विचार नै अस्वस्थ छ भने मान्छे कहिल्यै स्वस्थ्य रहन सक्दैन ।’