जानिराख्नोस् गुणकारी यी वनस्पति

होलिस्टिक संवाददाता

स्वादिलो काँक्रो, ज्यानलाई लाभ

काँक्रो हाम्रो खेतबारीमा फल्ने लहरे प्रजातिको वनस्पति हो, जसलाई काँचै वा अचारलगायतका विभिन्न परिकार बनाएर खान सकिन्छ । काँक्रो सामान्यतः वर्षात्को मौसममा फल्छ । तर, आजकल व्यावसायिकरूपमा बेमौसमी काँक्रा पनि फलाउन थालिएको छ । ठाउँअनुसार काँक्राका विभिन्न प्रजाति पाइन्छन् ।

पाइने तत्व र फाइदाहरू

काँक्रामा कार्बोहाइड्रेड, प्रोटिन, फाइबर, भिटामिन (के, सी, बी– २, ५) जस्ता तत्व पाइन्छन् । त्यसैगरी, यसमा पोटासियम, क्याल्सियम, फस्फोरसजस्ता खनिज तत्व समेत पाइन्छन् । त्यसैगरी फाइटोन्युट्रियन्स पाइन्छ । काँक्रामा ९५ प्रतिशत पानी हुने भएकाले यो स्वास्थ्यका निम्ति लाभदायक हुन्छ ।

काँक्रामा हुने विभिन्न तत्वका कारण यसको सेवन गर्दा क्यान्सरलगायतका रोगको जोखिमबाट बच्न सकिन्छ । यसमा हुने भिटामिन तत्व तथा पानीका कारण छाला स्वस्थ हुनुका साथै छालाको चमक बढाउन मद्धत मिल्छ । यसमा पाइने ‘भिटामिन–के’ जस्ता तत्वका कारण हड्डी मजबुत राख्न मद्धत मिल्छ । काँक्रामा पाइने पानी तथा फाइबरका कारण कब्जीयतको समस्याबाट समेत बच्न सकिन्छ ।

काँक्राका विभिन्न परिकार

काँक्राको अचार निकै मिठो हुन्छ । छिप्पिएको काँक्रालाई खल्पी बनाएर पनि खान सकिन्छ । सलादका रूपमा त खान सकिने नै भयो, मासुलगायतका परिकार खाँदा समेत काँक्रो खाएमा ती खाद्य पचाउन सहज हुन्छ ।

0000

घरको शोभा, धुपीको बासना

धुपी नेपालको अधिकाङ्श ठाउँमा पाइने वनस्पति हो । यसलाई अङ्ग्रेजीमा जुनिपर भनिन्छ । धुपीका विभिन्न जात हुन्छन् । कुनै धुपी हेर्दै आकर्षक र पोथ्रे किसिमका हुन्छन् भने कुनै छ्याक्र्याक्क परेका पनि हुन्छन् । पछिल्लो समय सहरीकरणमा भएको वृद्धिसँगै सहरीकृत क्षेत्रमा धुपीका बिरुवा घर तथा बगैंचाको सजावटका लागि धेरै नै प्रयोग हुने गरेको देखिन्छ । यसलाई काठका रूपमा समेत प्रयोग गर्न सकिन्छ ।

प्रायः धुपीको बोटबाट खोटो प्राप्त हुन्छ । र, धुपीको खोटो पनि विभिन्न कामका लागि प्रयोग हुन्छ । कतिपय जातका धुपीको पात तथा बोक्रालाई धुपका रूपमा बाल्न समेत प्रयोग गरिन्छ । धुपीको धुप एकदमै बासनादार हुन्छ ।

धुपीको पात, डाँठ र खोटो मात्र होइन, दाना पनि प्रयोग गर्न सकिन्छ । धुपीका दानाको तेल निकाल्न सकिन्छ । प्राकृतिक चिकित्सामा विभिन्न रोगको उपचारका लागि धुपीको तेल प्रयोग हुन्छ । बासनादार धुपीको तेलमा एन्टिब्याक्टेरियल तथा एन्टिफङ्गल तत्व हुने भएकाले यसको प्रयोग गर्दा शरीरमा घाउखटिरा आउने समस्याबाट बच्न सकिन्छ ।

धुपीको दाना खाएमा पाचन प्रक्रिया समेत सहज हुन्छ । छालाको चमकता बढाउन पनि यसको दाना उपभोग गर्न सकिन्छ । धुपीको दानामा रोग प्रतिरोधात्मक क्षमता हुने भएकाले यसको सेवनबाट विभिन्न किसिमका रोगबाट बच्न सकिन्छ । आफू जवान नै रहेको महसुस गर्नका लागि पनि धुपीको दानाको सेवन लाभदायक हुन्छ । स्वादका लागि पनि खानाका विभिन्न परिकारमा धुपीका दाना हालेर खाने गरिएको पाइन्छ । यसरी खाँदा तथा प्रयोग गर्दा प्राकृतिक चिकित्सकसँग परामर्श लिनु उचित हुन्छ ।

भनिसकियो कि धुपीका प्रायः जात बासनादार हुन्छन् । त्यसैले घर वरिपरि धुपी रोपेर सजाउनाले एकातिर घरको सुन्दरता बढेर मनमोहक बन्दछ भने अर्कातर्फ घरमा कीरा–फट्याङ्ग्रा आउने समस्याबाट पनि बच्न सकिन्छ । घर वरपर जग्गा छैन भने गमला वा सानो ठाउँमा समेत धुपी रोप्न सकिन्छ ।