चम्सुरीलाई चस्का: ‘केटीले पनि हँसाउन सक्छन् र’

भोला अधिकारी

चर्चित हास्य टेलिसिरियल ‘मेरी बास्सै’ मा ‘चम्सुरी’ नामले परिचित कलाकारको वास्तविक नाम हो पल्पसा डङ्गोल । पल्पसाको परिचय यतिमा मात्र सीमित छैन, उनी राम्रो नृत्य निर्देशक तथा थुप्रै सिरियलकी निर्देशक समेत हुन् । यद्यपि पल्पसालाई दर्शकले चिन्ने भनेकै चम्सुरीका रूपमा हो ।

दुई दशकभन्दा अघिदेखि अभिनय क्षेत्रमा सक्रिय पल्पसाले अञ्जु महर्जनसँग मिलेर देश–विदेशका विभिन्न कार्यक्रम तथा महोत्सवका स्टेजमा समेत दर्शक हँसाउँदै आएका छन् । उनीहरूको जोडी खुब जमेको छ । उनले सयौं लोक तथा दोहोरी गीतमा अभिनय पनि गरेकी छन् । आफूलाई अभिनय र नृत्य दुवैमा उत्तिकै सोख रहेको चम्सुरी बताउँछिन् ।

दैनिकी र खानपान

बिहान सबेरै उठ्ने बानी छ । बेलुका जति चाँडो सुत्यो, बिहान उति नै चाँडो उठ्ने गरेकी छन् । सामान्यतः राति १० बजे सुत्ने र बिहान ५–६ बजेभित्रै उठिसक्ने उनी बताउँछिन् । रातको कार्यक्रममा भाग लिइँदा भने सुत्ने–उठ्ने तालिका फरक पर्ने उनको भनाइ छ ।

उठ्नेबित्तिकै मोबाइलमा समाचार हेर्छिन् अनि आएका एसएमएसहरूको रिप्लाई दिन्छिन् । त्यसपछि साधारण व्यायाम गर्छिन् र खानेकुरा पकाउनेतिर लाग्छिन् वा कामतिर हिँड्छिन् ।

पाएसम्म अग्र्यानिक नै खान रुचाउने पल्पसा बाहिरी खाने कुरा मन पराउँदिनन् । सम्भव भएसम्म घरमै आफैंले पकाएर खाने गरेकी छन् । सकेसम्म बाहिरका खाने कुरा नखान अरुलाई पनि उनको सल्लाह छ । ‘बाहिरका खाने कुराले शरीरलाई राम्रो गर्दैन त्यसैले सकेसम्म खाँदिन, बाध्यता नै पर्दा त खानु परिहाल्यो’– उनले सुनाइन् ।

महोत्सव अनुभव

महोत्सवमा कलाकार बनेर पल्पसाले पहिलो पटक सिन्धुलीमा कार्यक्रम गरिन् । उनले सोही कार्यक्रममार्फत ०६२–६३ तिर स्टेज–यात्राको सुरुआत गरेकी हुन् । त्यसबेला उनैले निर्माण गरेको अर्को टेलिसिरियल ‘दृष्टि’ चर्चामा थियो ।
नामभन्दा उपनामले चर्चामा रहेकी चम्सुरीको पहिलो स्टेज कार्यक्रममा उनको जोडी थिइन् ‘जिरे खुर्सानी’ की ‘हात्ती’ अर्थात् अञ्जु महर्जन । स्टेजबाट पहिलो पटक दर्शक हँसाउन यो जोडी सिन्धुली पुगेको थियो । पहिलो कार्यक्रममै उनीहरूलाई राम्रो सफलता मिल्यो । उनीहरूको पर्फर्मेन्स दर्शकले मन पराए र निकै राम्ररी हाँसे ।

‘टिभी सिरियलमा चम्सुरी बनेर चर्चामै थिएँ, सिन्धुली महोत्सवमा पहिलो पटक हामीले दिएको प्रस्तुति पनि राम्रै भयो, दर्शकले मन पराइदिनुभयो,’ दुई दशकअघिको सम्झना सुनाउँदै चम्सुरीले भनिन्– ‘मान्छे हाँस्ने हुन् कि होइनन् भन्ने एकदमै खटपट मनमा थियो, अझ छोरी मान्छे यसरी मान्छे हँसाउन महोत्सवमा हिँडेको त पहिलो पटक नै होला ।’

‘छोरी मान्छेले पनि हँसाउन सक्छन् र भन्दै कतिपयले अविश्वास दर्शाइरहेका थिए तर हामी सिन्धुलीवासीलाई हँसाउन पहिलो पटक नै सफल भयौं,’ चम्सुरी सम्झन्छिन्– ‘शायद स्क्रिनमा परिचित अनुहार भएका कारण पनि उहाँहरू मजाले हाँसिदिनुभयो ।’

‘अब हामी पनि मजाले दर्शक हँसाउन सक्छौं भन्ने आत्मविश्वास त्यही महोत्सवबाट पैदा भयो र मनमा आँट आयो,’ उनी भन्छिन्– ‘त्यसपछि त स्टेजबाट हँसाउन कुनै कठिनाइ नै भएन । त्यहींदेखिकै प्रभावका कारण होला, अहिलेसम्म पनि देश–विदेशमा हुने सयौं कार्यक्रममा हामीलाई बोलाउने गरिएको छ ।’

पारिवारिक सहजता

कार्यक्रममा जानका लागि आफूलाई घरपरिवार र कहीं–कतैबाट पनि रोकतोक नभएको पल्पसा बताउँछिन् । ‘छोरी मान्छे भएर नाच्नु हुँदैन र अभिनय गर्नु हुँदैन भनेर घरपरिवारबाट कहिल्यै कुरा आएन’– आफ्नो परिवारमा छोरा–छोरीबीच भेदभाव नभएकै कारण धेरै कार्यक्रममा हिँड्न पाएको बताउँदै उनी भन्छिन्– ‘छोरी मान्छे होस्, लखर–लखर नहिँड् भनेका भए आज म कसैसामु परिचित हुन्नथें होला ।’

‘स्टेज कार्यक्रममा जाँदा कहिल्यै नराम्रो फिल भएन, म आफ्नै सवारी साधन लिएर कार्यक्रममा जान्छु,’ पल्पसाले सुनाइन्– ‘अलिक टाढा भए प्लेनमा जाने गरेकी छु, ९० प्रतिशत कार्यक्रममा जाँदा त आफ्नै सवारी साधन हुन्छ ।’ आफैं ड्राइभ गरेर यात्रा गर्न रमाइलो लाग्ने सुनाउँदै उनले भनिन्– ‘सयौं कार्यक्रममा गइसकें तर आजसम्म पनि कुनै नराम्रो अनुभूति सँगाल्नुपरेको छैन ।’