‘लाभदायक हुन्छ उसिनेको मासु’
होलिस्टिक संवाददाता
खानापान गर्दा स्वास्थ्यलाई मध्येनजर गर्नुपर्छ । असन्तुलित तथा अस्वस्थकर खानपानले स्वास्थ्यमा अवश्य नै लाभ मिल्दैन । सन्तुलित तथा स्वस्थकर खानपानले स्वास्थ्यमा अवश्य लाभ मिल्छ ।
मासु स्वस्थकर हुनका लागि मासुको स्रोत स्वस्थकर हुनु आवश्यक छ । मासु खाइने पशुपक्षी रोगी हुन पनि सक्ने भएकाले त्यसप्रति सचेत रहन चिकित्सकको सुझाव छ । मरेका पशुपक्षीको मासु समेत बजारमा उपलब्ध हुन सक्छन्; बासी तथा सड्दै गरेको मासु हुन सक्छ । उपभोक्ता यसप्रति चनाखो हुनुपर्छ । अस्वस्थ मासुका परिकार खाँदा स्वास्थ्यमा नकारात्मक असर पर्ने सम्भावनाप्रति सजग रहन चिकित्सकको सुझाव छ ।
विशेषतः सहरी क्षेत्रमा बसोवास गर्नेहरूले मासु खरिद गर्नुअघि काट्ने ठाउँ र खरिद गर्दै गरेको मासुको अवस्थाबारे निकै ध्यान दिनुपर्छ । मासु भान्सामा पु¥याउनुअघि त्यो स्वस्थ छ कि छैन भन्ने कुरामा ध्यान दिन चिकित्सकको सुझाव छ ।
मासुको भण्डारण
सहरी क्षेत्रमा दिनहुँ मासु किन्न पाइन्छ । गर्मी ठाउँ र सहरी क्षेत्रमा बसोवास गर्नेले एक दिनलाई मात्र पुग्ने गरी मासु खरिद गर्नु उचित हुने चिकित्सकको सुझाव छ । एकै पटक धेरै दिनका लागि पुग्ने मासु खरिद गरी मासुको सुकुटी बनाएर पछिसम्म खान पनि सकिन्छ । तर, यसरी राख्दा भने भण्डारणमा पर्याप्त ध्यान दिनुपर्ने जनस्वास्थ्यविज्ञ डा. अरुणा उप्रेतीको सुझाव छ ।
मासु भान्सामा भित्र्याइसकेपछि राम्रोसँग भण्डारण गर्नु आवश्यक छ । उचित भण्डारण भएन भने मासु बिग्रन्छ । मासुलाई फ्रिजमा राख्न सकिन्छ तर झिक्दा भने एकैचोटि धेरै नझिक्नु राम्रो हुन्छ । एक छाकका लागि जति आवश्यक हुन्छ, त्यति मात्रै झिक्न चिकित्सकको सुझाव छ । फ्रिजमा पनि मासुलाई टुक्रा–टुक्रा बनाएर राख्नु उचित हुन्छ । टुक्रा बनाएर राखियो भने आवश्यकता अनुसारका टुक्रा झिक्न सजिलो हुन्छ । तर, फ्रिजबाट झिक्दै फेरि फ्रिजमै राख्दै गर्नु उचित नहुने डा. उप्रेतीको सुझाव छ । यसो गर्दा मासुमा भएको पोषण तत्व नष्ट हुने चिकित्सकको भनाइ छ ।
पोलेको–भुटेको नखाएकै राम्रो
एकैचोटि धेरै मासु खानु स्वास्थ्यका दृष्टिले राम्रो हुँदैन । परिकारहरू पनि राम्रोसँग पाक्ने गरी मात्रै बनाएर खानुपर्छ; राम्रोसँग नपाकेको मासुले स्वास्थ्यमा हानि पुर्याउँछ ।
मासुका विभिन्न परिकार बनाएर खान सकिन्छ । मासुलाई भुटेर, तारेर, सुेकुवा बनाएर, पोलेर र अरु विभिन्न परिकार बनाएर खान सकिन्छ । तर, मासु धेरै तारेर, धेरै भुटेर, पोलेर, सेकुवा बनाएर, तास बनाएर सकभर नखान क्यान्सर रोग विशेषज्ञ डा. विवेक आचार्य सुझाउँछन् । मासुका यस्ता परिकार खानाले क्यान्सरलगायतका विभिन्न रोग लाग्ने सम्भावना चिकित्सकहरू औंल्याउँछन् । त्यसो त जुनसुकै परिकार बनाएर खाए तापनि मासु धेरै खाँदा क्यान्सरको जोखिम हुने डा. आचार्यको भनाइ छ ।
चिकित्सकका अनुसार मासु पोल्दा कार्बन उत्सर्जन हुन्छ । कार्बन हुने भएकैले पोलेको मासु अलि बढी स्वादिलो समेत हुन्छ । तर, पोलेको मासुको बाहिरी भाग पाके तापनि भित्री भाग काँचै रहन्छ । यस्तो मासु अस्वस्थकर हुन्छ । तारेको, भुटेको, पोलेको मासु जिब्रोका लागि स्वादिलो भए पनि पोषण तत्व नष्ट हुने भएकाले सकेसम्म नखान चिकित्सकको सल्लाह छ ।
मासु पकाउने र खाने तरिका
उसिनेको मासु स्वास्थ्यका निम्ति लाभदायक हुने चिकित्सकहरू बताउँछन् । तेलमै पकाएर खाए तापनि थोरै मात्र तेलमा पकाउनु उचित हुन्छ । मासुलाई धेरैबेर भुटेर पनि पकाउनु हुँदैन । एक पटक मासु पकाएको तेलमा फेरि–फेरि मासु वा तरकारीलगायतका अरु परिकार पकाउनु नहुने चिकित्सकहरूको भनाइ छ ।
डा. उप्रेतीका अनुसार एक पटक मासु पकाएको तेलमा पटक–पटक मासु या अरु परिकार पकाउँदा पोषण तत्व नष्ट हुने मात्र होइन, त्यस्तो तेल विषाक्त समेत हुन सक्छ । बासी तेलमा पकाएर खाँदा अस्वस्थ हुने सम्भावना प्रबल हुन्छ । त्यसैले जहिल्यै ताजा मासु ताजा तेल र ताजा मसलामा पकाउन चिकित्सकको सुझाव छ ।
मासुमा प्रोटिन, चिल्लोजस्ता तत्व पाइन्छन् । रातो मासु पचाउन कठिन हुन्छ । धेरै तारेको, भुटेको, पोलेको तथा मसलेदार मासुले अस्वस्थ गराउने सम्भावना प्रबल हुन्छ । मासु खाँदा केही कुरामा ध्यान पुर्याउनुपर्छ । मासु धेरै खानु हुँदैन । मासुसँग विभिन्न हरिया तथा पहेंला फलफूल र सागसब्जी पनि खानुपर्छ । मासुसँगै घिरौंला, सिमी, लौका, साग आदि खाँदा पाचन प्रक्रिया सहज हुने चिकित्सकहरूको भनाइ छ । सागसब्जी खानाले पायल्स, फिसर, फिस्टुलाजस्ता समस्याबाट समेत बच्न सकिने डा. उप्रेतीको भनाइ छ ।
सकभर त शाकाहारी खानपानमै जोड दिनुपर्ने चिकित्सकहरूको सुझाव छ । शाकाहारी खानपान पोषणयुक्त हुन्छ । शाकाहारीमै पनि शुद्धता तथा गुणस्तरमा भने ध्यान दिनैपर्छ ।
कति खाने मासु ?
चिकित्सकका अनुसार स्वास्थ्यका दृष्टिले दैनिक करिव ३०० ग्राम मासु खानु उपयुक्त हुन्छ । आवश्यकताभन्दा बढी मासु खाँदा बान्ता हुने, पखाला चल्ने, पेट दुख्नेजस्ता समस्या हुन सक्छन् । सुँगुर–बङ्गुरको मासुमा बोसो बढी हुन्छ । बोसोयुक्त मासु बढी खाँदा झाडा–पखाला तथा बान्ताको जोखिम हुन सक्छ ।
मासु उसिनेर खानु लाभदायक हुने चिकित्सकको सुझाव छ । उसिनेको मासु खानाले त्यसमा भएका पोषण तत्व नष्ट भएर नजाने भएकाले स्वास्थ्यका निम्ति लाभदायक हुने चिकित्सकको भनाइ छ । पक्कु बनाइएको मासु ढुसी परेर सङ्क्रमित हुन सक्ने भएकाले २–३ दिनभन्दा बढी राखेर खानु हुँदैन । सङ्क्रमित मासुले स्वास्थ्यमा नकारात्मक असर पुर्याउँछ ।
डा. अर्जुन बुढाथोकी पनि मासु धेरै खानु नहुने बताउँछन् । रातो मासु कम खान उनको सुझाव छ । रातो मासुले हृदयाघातको जोखिम बढाउने भएकाले कुखुराजस्ता पक्षीको मासु खानु उचित हुने डा. बुढाथोकीको भनाइ छ ।
मसला कम
मासुमा मसला हाल्दा निकै ध्यान दिनुपर्छ । मासुमा धेरै मसला हालेर पकाउने चलन नेपाली समाजमा व्याप्त छ । मसला धेरै हालिएको मासु जिब्रोका निम्ति स्वादिलो भए पनि स्वास्थ्यका लागि हानिकारक हुन सक्ने भएकाले मसला कम हाल्न चिकित्सकको सुझाव छ । मासुमा आवश्यकताअनुसार नुन हाल्न सकिन्छ भने लसुन, अदुवाजस्ता मसला समेत हाल्नु उचित हुन्छ ।
तरकारी पनि उसिनेकै राम्रो
शाकाहारी भोजन गर्नेहरूले पनि तरकारी तथा अन्य परिकारमा मसला कमै मात्र हाल्नु उचित हुने चिकित्सकको भनाइ छ । सागसब्जी पकाउँदा पनि भुट्नु उचित हुँदैन । भुट्दा साग र तरकारीहरूमा भएका पोषण तत्व नष्ट हुन्छन् ।
साग पकाउने हो भने सर्वप्रथम पानी उमाल्नुपर्छ । त्यसपछि थोरै घिउ वा तेल हाल्न सकिन्छ । उम्लिएको पानीमा साग हालेर केही मिनेट हल्का उमाल्नुपर्छ, त्यसपछि झिकेर खान सकिन्छ । यसरी पकाइएको सागसब्जीमा कीटाणु मर्ने र पोषण तत्व पनि नष्ट नहुने भएकाले स्वास्थ्यका हिसाबले लाभदायक हुने चिकित्सकहरू बताउँछन् ।
ताजा अचार
अचार जहिल्यै ताजा नै खानुपर्ने चिकित्सक बताउँछन् । गालेर तथा साँदेर लामो समयसम्म बट्टा वा कुनै भाँडामा राखिएको अचार स्वास्थ्यका निम्ति लाभदायक नहुनेतर्फ चिकित्सक सजग गराउँछन् । लामो समयसम्म बट्टा वा कुनै भाँडामा साँदेर राखिएको अचारमा अम्लीयपन बढ्छ । यस्तो अचार खाँदा पाचन प्रक्रियामा असर पर्छ र ग्यास्ट्रिकलगायतका समस्या निम्तन्छन् ।
अचार पनि धेरै मसलेदार नखान चिकित्सकको सुझाव छ । रातो खुर्सानीमा अम्लीयपन बढी हुने भएकाले अचारमा हरियो खुर्सानी हाल्नु उचित हुन्छ । कागती, निबुवा, सुन्तलाजस्ता अमिलाले खाना पच्न सहज गराउने भएकाले खानु राम्रै हुने चिकित्सकहरूको भनाइ छ ।
माछा–मासुलगायतका परिकार खाइसकेपछि दहीसँग जेरी–रसबरीजस्ता गुलियो खाँदा खाना पच्ने र जिब्रोको स्वादमा पनि पुनर्ताजगी (रिफ्रेसमेन्ट) हुन्छ । त्यसैले मासुजन्य परिकार खाइसकेपछि दहीसँग गुलियो खानु राम्रो हुने चिकित्सकको भनाइ छ । त्यसो त मिठाइलगायतका गुलियो पनि ५० ग्रामभन्दा कम मात्र खानु उचित हुन्छ । मिठाइमा धेरै क्यालोरी हुने भएकाले धेरै खाँदा स्वास्थ्यमा नकारात्मक असर पर्न सक्छ ।
दही बिहान खानु स्वास्थ्यका दृष्टिले बढी लाभदायक हुन्छ । दहीमा बेलुकीपख ब्याक्टेरिया सक्रिय हुँदै जाने भएकाले त्यसबेला बढी अमिलो हुन सक्छ । त्यसैले बेलुकी भने दही नखानु उचित हुने चिकित्सकको भनाइ छ ।