फङ्सनल फुडसम्बधी नियमन र उपभोक्ताको बुझाइ
डा. ईश्वर सुवेदीआम उपभोक्तासँग प्रत्यक्ष सरोकार राख्ने सार्वजनिक महत्वका विषयमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले विभिन्न सरोकारवाला निकायहरूसँग सहकार्य गर्दै उपभोक्ता शिक्षाको माध्यमबाट जनचेतना अभिवृद्धि कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
नेपालमा खाद्य प्रविधिको विकाससँगसँगै आम उपभोक्ताको दैनिक आहारमा पनि परिवर्तन हुँदै आएको तथ्यलाई नकार्न सकिँदैन । अस्वस्थकर खानाबाट हुन सक्ने रोग तथा महामारीले जनस्वास्थ्यमा नकारात्मक असर पार्ने भएकाले मानव स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने खाद्यवस्तु र यसको गुणस्तरमा कुनै पनि हालतमा सम्झौता गर्न सकिँदैन । खाद्य पदार्थहरूमा गुण नियन्त्रणका लागि उपभोक्ता जनचेतना एउटा महत्वपूर्ण आयाम भएकाले उपभोक्ताको जनचेतना र सक्रिय सहभागिताबाट मात्र खाद्य स्वच्छतामा फड्को मार्न सहज हुने कुरालाई मध्येनजर गर्दै आम उपभोक्तालाई फङ्सनल फुडका बारेमा समयसापेक्ष सूचित गराउनु आवश्यक देखिन्छ ।
‘फङ्सनल फुड’ अर्थात् ‘कार्यात्मक खाना’ भन्नाले त्यो खाद्यवस्तु बुझिन्छ, जसमा पौष्टिक तत्वहरूका साथै जैविकरूपले सक्रिय विभिन्न यौगिकहरू समावेश भएका हुन्छन् । यस्ता वस्तुहरूको प्रयोगले उपभोक्ताको शारीरिक तथा मानसिक स्वास्थ्य सुदृढ राख्न योगदान पुर्याइरहेको हुन्छ । तर, उपभोक्तामा भने यससम्बन्धी बुझाइमा अझै स्पष्टता देखिँदैन । पोषणविज्ञानअनुसार प्रत्येक दिन न्यूनतम चार पटक खानु पर्नेछ अर्थात् अर्काे शब्दमा स्वस्थ रहन थोरै तर बारम्बार स्वस्थ खाना खानुपर्छ, जसलाई ‘हरेक बार, खाना चार’ पनि भनिन्छ । तर, प्रश्न यो छ कि ‘के हामीले खाएका सबै खाना वास्तवमा फङ्सनल हुन् त ?’ कुन र कस्ता खाद्यवस्तुलाई फङ्सनल भन्ने ? कस्ता खानाहरूमा कार्यात्मक तत्वहरू समावेश हुन्छन् ? वास्तवमा स्वस्थ जीवनका लागि यी प्रश्नहरूको उत्तर थाहा पाउनु आवश्यक छ । विश्वका विभिन्न राष्ट्रहरूले फङ्सनल फुडलाई आ–आफ्नै तरिकाले परिभाषित गरी विभिन्न सङ्ज्ञा समेत दिने गरेका छन् । जस्तै– ‘नेचुरल हेल्थ प्रडक्ट, डायटरी सप्लिमेन्ट, बायोलोजिकल हेल्थ फुड, कम्प्लिमेन्ट्री मेडिसिन, फुड सप्लिमेन्ट आदि ।
सन् १९८४ मा जापानबाट फङ्सनल फुडको पहिलो पटक सुरुआत भएको देखिन्छ । सन् २००१ मा मात्र यससम्बन्धी कानुन बनेका र जसअन्तर्गत विशेष आहार प्रयोजनका खाद्य पदार्थ (फुड फर स्पेसल डाइटरी युज) तथा विशेष पोषण प्रयोजनका खाद्य पदार्थ (फुड फर स्पेसल न्युट्रिसनल पर्पोज) गरी दुई वर्गमा विभाजित गरिएको पाइन्छ । यस्ता खाद्य पदार्थहरूले उपभोक्ताको शारीरिक अवस्थालाई कायम वा सुधार गर्न मद्दत गर्दछन् ।
सन् २०१५ मा जापानले यस व्यवस्थालाई अझै सहजीकरण गरेर थप खाद्य पदार्थहरूलाई डायटरी सप्लिमेन्टका रूपमा समेत स्थापित गरेको देखिन्छ । यसरी फङ्सनल फुडमा पौष्टिक तत्वहरूका साथै अन्य धेरै मात्रामा बायोएक्टिभ तत्व, जस्तै– एन्टिअक्सिडेन्ट, विभिन्न फाइटोकेमिकल्स, बिटाक्यारोटिन, फाइबर, पुफा, क्याफिन, फ्लाबोनाइड्स्, खनिज तत्व, भिटामिन आदि उपलब्ध हुने भएकाले यसलाई स्वास्थ्यवद्र्धक मानिन्छ । यसैअनुरूप सन् १९९४ मा अमेरिकन पूर्वराष्ट्रपति क्लिन्टनद्वारा फङ्सनल फुडलाई स्वास्थ्य तथा शिक्षा ऐनअन्तर्गत खाद्यपदार्थ, जस्तै– नियमन गर्नुपर्ने र औषधिजस्तो नियमन गर्नु नपर्ने व्यवस्था गरेका थिए । यसै सम्बन्धमा कस्ता–कस्ता खाद्य पदार्थहरू फङ्सनल हुन् त ? माथिका वाक्याङ्शहरूबाट प्रस्ट हुन्छ कि फङ्सनल फुड एउटा कुनै नयाँ खाद्यवस्तु नभएर हामीले सधैं सेवन गर्ने प्राकृतिक खाद्यवस्तुहरू नै हुन्, जसलाई विज्ञान तथा प्रविधिले वर्तमान समयमा विभिन्न फर्मास्युटिकल बनावटको स्वरूपमा उत्पादन गर्न सहज गराएको छ र विभिन्न उत्पादकहरूले आयात–निर्यातलगायत स्वदेशमै बिक्री–वितरण गरी जीविका समेत गरिरहेका छन् । जस्तै– टमाटर अर्थात् गोलभेंडालाई लिन सकिन्छ । यो एउटा वनस्पतिजन्य फल हो, जसलाई फङ्सनल फुडका रूपमा लिन सकिन्छ किनभने यसमा अन्य विभिन्न पौष्टिक तत्वहरूका साथै लाइकोपिन नामको यौगिक हुन्छ । यसलाई एन्टिअक्सिडेन्ट भनिन्छ । मानव स्वास्थ्यमा यसको ठूलो भूमिका रहेको हुन्छ । अर्थात्, यसमा फङ्सनल गुणहरू हुन्छन् । जस्तै– यसले रक्तकोषहरूलाई अर्थात् कोषमा भएका फ्याटी एसिडहरूलाई अक्सिडेसन हुन दिँदैन र रक्तचापलाई नियन्त्रित गरी मुटु स्वस्थ राख्न मद्दत पुर्याउँदछ; कोषहरूलाई मर्न दिँदैन र बुढ्यौलीपनको समेत आभाष हुन दिँदैन । प्रविधिले टमाटरमा भएको लाइकोपिनलाई छुट्टै निकालेर (एक्स्ट्राक्ट गरेर) विभिन्न ट्याब्लेट, क्याप्सुल, सिरपका रूपमा समेत बजारमा उपलब्ध गराएको छ । सबै स्थानमा टमाटर उपलब्ध नहुन सक्छ तर लाइकोपिन सहजै उपलब्ध हुन सक्छ । यो कृषि प्रविधिको एउटा छुट्टै र नवीन आयाम हो ।
त्यस्तै, अहिले कोभिड– १९ को महामारीमा बेसारले पनि प्रमुख स्थान पाएको छ । यो आफैंमा एक एन्टिअक्सिडेन्ट हो, जसमा कुर्कुमिन भन्ने पदार्थ हुन्छ । खाद्य तथा दाना वस्तुहरूमा निर्धारित न्यूनतम अनिवार्य गुणस्तर जुन कृषि मन्त्रालयअन्र्तगत रहेको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले समेत बेसारको अनिवार्य गुणस्तरअन्तर्गत न्यूनतम पनि बेसारमा कुर्कुमिन १ प्रतिशतमा नघटेको हुनुपर्दछ भनेर मापदण्ड समेत तोकिसकेको अवस्था छ । यसको काम पनि लाइकोपिनको जस्तै हो । अझ यसले एन्टिसेप्टिकको पनि काम गर्दछ । रोग लाग्ने सूक्ष्म जीवाणुहरूलाई वृद्धि हुन दिँदैन । त्यसैले यसलाई फङ्सनल फुड भनिएको हो ।
यस्ता धेरै उदाहरणहरू छन्, जस्तै– गहुँको आँटा । यसमा फाइबर हुन्छ, जसले कोलेस्टेरोललाई घटाउन सहयोग पुर्याउँछ र कब्जियत हुन दिँदैन । तर, मैदालाई फङ्सनल फुड भनिँदैन किनकि यसमा क्रुड फाइबर हुँदैन । हुन त खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले खाद्य ऐन, २०२३ र नियमावली, २०२७ बमोजिम नियात्मक भूमिका खेल्दै आइरहेको छ । खाद्य वस्तुहरूको उत्पादन दर्तालगायतका कार्य तथा आयात–निर्यातको जिम्मेवारी विभागले बहन गरिरहेको वर्तमान समयमा एक्कासि गृहकार्यविनै ‘फुड एण्ड ड्रग’ को नीतिगत कुरा आउँदा हामी सबैलाई आश्चर्य लाग्नु स्वाभाविक नै हो । तर, यसबाट कृषिका धेरैे संरचनाहरूमा उथलपुथल हुन सक्ने सम्भावानालाई पनि नजरअन्दाज गर्न सकिँदैन । यसका लागि अनुमति दिने एक विकसित नियात्मक वातावरण राज्यले सिर्जना गर्न सकेमा कृषि उपजलाई धेरै कारकहरूमा श्रेय जाने अवस्था देखिन्छ ।
नेपाल विश्व व्यापार सङ्गठनको सदस्य राष्ट्र भएपछि नेपाल सरकारले जाहेर गरेको अन्तर्राष्ट्रिय प्रतिबद्धताबमोजिम यसअन्र्तगतका खाद्य स्वच्छताले प्रमुख स्थान पाएको देखिन्छ । यसका लागि खाद्य वस्तुको गुणस्तर, पशुपक्षी तथा बिरुवाको स्वास्थ्यमा अन्तर्निहित हुने भएकाले मानव स्वास्थ्य रक्षाका लागि खाद्य उत्पादन श्रृङ्खलासँग सम्बन्धित सबै निकायहरू अन्तर्राष्ट्रिय प्रावधानबमोजिम एकै छातामा रही नियमन भएमा सेवा प्रदायकलगायत आम उपभोक्ता समेतले खाद्य स्वच्छताको अनुभूति गर्न पाउने कुरामा दुईमत हुँदैन । नीतिगतरूपमा हेर्ने हो भने खाद्य पदार्थको स्वच्छता र गुणस्तर कायम गरी उत्पादक, उपभोक्ता र सेवा प्रदायकको स्वास्थ्य रक्षा गर्न र पोषणयुक्त खाद्य पदार्थको उपलब्धतामा वृद्धि गरी जनस्वास्थ्यमा ठोस टेवा पुर्याउन कृषि विकास रणनीति, २०७२ वमोजिम खाद्य स्वच्छता प्राधिकरण गठन नेपाल सरकारको नीतिगत व्यवस्थामा उल्लेख भैसकेको छ । खाद्य स्वच्छताका सम्बन्धमा प्रतिपादित अन्तर्राष्ट्रिय सिद्धान्तहरूप्रति नेपाल सरकारले व्यक्त गरेका प्रतिबद्धताहरू पूरा गर्न राष्ट्रिय खाद्य स्वच्छता नीति, २०७६ जारी भैसकेको र उक्त नीतिले खाद्य स्वच्छता तथा गुणस्तरसँग सरोकारवाला निकायहरूसँग समन्वय गरी प्रभावकारीरूपमा खाद्य स्वच्छता प्राधिकरण गठन गर्ने व्यवस्था गरेकाले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागलाई खाद्य स्वच्छता प्राधिकरणका रूपमा रूपान्तरण गर्नु उपयुक्त देखिन्छ ।
०००
केही खाद्य वस्तुहरू र तिनमा पाइने पौष्टिक तत्व, स्रोत र मानव स्वास्थ्यमा हुने फाइदाहरूबारे निम्न तालिकामा प्रस्तुत गरिएको छ–
उल्लेखित खाद्यवस्तु उत्पादन तथा प्रशोधन गर्ने उद्योगहरू हाल नेपाली बजारमा दु्रत गतिमा वृद्धि भएका छन् र आयात पनि गरिरहेका छन् । यस्ता खाद्य उद्योगहरूको विस्तारलाई खाद्य विज्ञान र प्रविधिमा नयाँ आयाम थप भएको मान्न सकिन्छ । यस्ता उद्योगहरूबाट उत्पादित खाद्यवस्तुको सेवनबाट उपभोक्तालाई पौष्टिक तत्वका साथै रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमताको विकास गर्ने कुराको वैज्ञानिक अध्ययन समेत भैसकेको छ । तर, ती उद्योगहरूबाट उत्पादन भएका खाद्य वस्तुहरू तथा ती खाद्य वस्तुहरूले गरेका स्वास्थ्यसम्बन्धी दावीलाई कसले प्रमाणित गर्ने ? हुन त खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले खाद्य ऐन, २०२३ र नियमावली, २०२७ वमोजिम नियात्मक भूमिका खेल्दै आइरहेको छ र यस प्रकारका खाद्यवस्तुहरूको उत्पादन दर्तालगायतका कार्य तथा आयात–निर्यातको जिम्मेवारी विभागले बहन गरिरहेको छ ।
लेखक खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत हुन्