एलर्जीपीडित मोडल/कलाकार दीपाशा
होलिस्टिक संवाददातागोपीकृष्ण मुभिजले आयोजना गरेको ‘को बन्छ कलाकार’ बाट धेरै कलाकार उदाए । त्यहाँबाट उदाएका केही कलाकार सफल भएका छन् भने केही पलायन पनि भइसकेका छन् ।
‘को बन्छ कलाकार’ बाटै उदाएकी एक अभिनेतृ तथा मोडल हुन्– दीपाशा बीसी । दर्जन आसपास फिल्ममा अभिनय गरिसकेकी उनले दर्जनौं गीतमा नृत्य गरिसकेकी छन् । ‘को बन्छ कलाकार’ को टप– २० मा पुगेकी दीपाशालाई त्यहाँ प्रतियोगी छँदै फिल्ममा अभिनयका लागि अफर आएको थियो ।
सो प्रतियोगितामा ‘जज’ थिए शोभित बस्नेत । दीपाशाले राम्रो अभिनय गरेको देखेर फिल्मका लागि उनैले अफर गरे । दीपाशाले पनि यति दुःख गरेर फिल्म खेल्नकै लागि ‘को बन्छ कलाकार’ मा भाग लिएकी हुन्; अफर आएपछि नाइँ भन्ने त कुरै भएन । अभिनय गर्ने निधो गरिन् र अन्ततः खेलिन् पनि ।
फिल्म ‘दुलही रानी’ मा उनको भूमिका थोरै भए पनि दर्शकको ‘नोटिस’ मा परिन् । यही फिल्मबाट उनको कलाकारिता–यात्रा सुरु भयो । त्यसपछि दर्जनौं म्युजिक भिडियो र फिल्ममा अभिनय गरिन् । पछिल्लो समय उनले ‘धुलो’ फिल्ममा आइटम डान्स समेत गरिन् । कोरोना महामारीका कारण सो फिल्म प्रदर्शन हुन भने सकेको छैन ।
लोकप्रिय गायक कृष्ण रेउलेको ‘अझै छु म पागल’ बोलको गीतमा अभिनय गरेपछि उनले पछाडि फर्केर हेर्नु परेन । त्यसपछि लगातार म्युजिक भिडियो र फिल्ममा अभिनय गर्ने मौका पाइन् । उनले हेमन्त शिशिरको ‘तिमी’ भन्ने गीतमा पनि अभिनय गरिन्, जो टेलिभिजनको पर्दामा एकदम धेरै बजेको गीत हो । झलक सङ्गीतम्को गीत ‘नानी आँखा’ र वसन्त थापाको ‘माछा मिठो असला’ उनलाई बढी चिनाउने गीत हुन् । उनले ‘झेली’, ‘बिरानो माया’, ‘रमिता’ लगायतका फिल्ममा अभिनय गरेकी छन् ।
‘को बन्छ कलाकार’ को यात्रा–वृत्तान्त
‘को बन्छ कलाकार’ मा आएपछि काठमाडौंमा बस्नका निम्ति उनलाई समस्या पर्यो । ‘को बन्छ कलाकार’ को अडिसनका लागि आएकी दीपाशालाई यहाँ बस्नैका लागि समस्या परेपछि फिल्ममा अभिनय गर्छु , हिरोइन बन्छु भन्ने सोचमा ठेस पुग्यो । काठमाडौं सहर उनका लागि निकै नै बिरानो थियो । चिनेको मान्छे यहाँ कोही थिएन ।
रियालिटी सो ‘को बन्छ कलाकार’ मै आएकी एक प्रतियोगी कौशिलाले सँगै बसौं न त भनेर अनुरोध गरिन् । उनले पनि नाइँ भन्ने कुरै थिएन । भाडा सेयर गर्दै एउटै कोठामा बसे उनीहरू । समय बित्दै गयो तर भनेजस्तो फिल्म र म्युजिक भिडियो आएनन् । काठमाडौं सहर छाडेर दीपाशा फेरि आफ्नै ठाउँ (सुर्खेत) तिर हानिइन् । तर, सुर्खेतमा पनि उनको मन अडिएन । सुर्खेतमा हुने मेला–महोत्सवमा पनि उनी पुगेकै हुन्थिन् । आफू अभिनीत गीतहरू बिस्तारै चर्चामा आउन थालेपछि भने देश–विदेशका विभिन्न कार्यक्रममा सहभागी हुन पुगिन् ।
ग्यास्ट्रिकका कारण नाच्नै गाह्रो
उनी ग्यास्ट्रिककी बिरामी हुन् । ‘मलाई ग्यास्ट्रिकले लास्टै सताउने गरेको छ; मेरो शरीरले बढ्ता चिसो ठाउँ सहनै सक्दैन,’ दीपाशा भन्छिन्– ‘एलर्जी भइहाल्छ, त्यसकारण चिसोबाट बच्न निकै प्रयास गर्ने गरेकी छु ।’
‘कार्यक्रमका लागि बेलाबखत सिङ्गापुर गइरहेकी हुन्छु, एक पटक सायद यस्तै (साउन–भदौ) महिनातिरको सिजन थियो, नेपालका चर्चित कलाकारहरूका साथ त्यहाँ पुगेकी थिएँ, एकदमै चिसो रहेछ,’ सिङ्गापुरमा भोग्नुपरेको समस्या सुनाउँदै उनले भनिन्– ‘नाइट–डे दुवै समयमा कार्यक्रम प्रस्तुत गर्नुपर्ने थियो, दुईवटाभन्दा बढी गीतमा त मैलै नाच्नै पो सकिनँ, एलर्जी त्यति धेरै भयो ।’
चिसोका कारण धेरै कार्यक्रममा आफूलाई गाह्रो परेको उनले सुनाइन् । फिल्म सुटिङका बेला पनि पटक–पटक गाह्रो परेको उनको भोगाइ छ । सुटिङका बेला महिनावारी हुँदा निकै तनाव झेल्नुपर्ने उनले बताइन् । ‘यही फिल्ममा यस्तो भो भन्नुभन्दा पनि हरेक फिल्मका अभिनयका क्रममा समस्या त परिरहन्छ,’ तर, म्यानेज गर्नै नसकेर कार्यक्रम वा सुटिङ नै छाड्नु भने नपरेको सुनाउँदै उनले भनिन्– ‘लेडिज प्रब्लमले नसताउने भन्ने हुँदैन तर त्यस्ता समस्याको म्यानेज गर्न आफैंले जान्नुपर्छ ।’
कलाकार नबन्न परिवारको आग्रह
उनी फिल्म तथा भिडियोतिर लागेको घरपरिवारका कसैलाई पनि मन पर्दैनथ्यो । परिवारबाट कसैको पनि सपोर्ट पाइनन् । ‘मेरो घरपरिवारमा कलाकारिता क्षेत्रको कोही पनि हुनुहुन्न, उहाँहरूले कलाकार बन् भनेर मलाई कहिल्यै प्रेरित गर्नुभएन,’ उनी भन्छिन्– ‘आमाले चाहिँ तैविसेक सपोर्ट गर्नुहुन्छ तर हजूरआमा र बुबाले त सधैं नै यस्तो क्षेत्रमा नलाग् भन्नुहुन्छ तर नमानी–नमानी नै म यो फिल्डमा आएँ ।’
सुरु–सुरुका दिनमा त ‘किन पो यो क्षेत्रमा आएँ’ भनेजस्तो उनैलाई पनि लाग्थ्यो, बुबा र हजूरआमाले छोरी÷नातिनी बिग्रने भई भन्दा । ‘पछि मैले खेलेका गीतहरू चर्चित भए, टिभीमा बज्न थाले, भिडियोमा छोरीलाई देखेपछि भने बुबाले भन्नुभयो– ए, छोरीले पनि राम्रै काम पो गरिछ है…’– अनुभूति पस्कँदै उनले भनिन् ।’
आफ्नै पारा, भिन्नै दैनिकी
उनको दैनिकी अरु कलाकारको भन्दा भिन्न छ । बिहान ५ बजेतिरै उठ्छिन् र मर्निङवाकमा जान्छिन् । अनामनगरमा बस्दै आएकी उनलाई बिहान हिँडडुल गर्न मन पर्छ । त्यसपछि केही समय डान्स क्लास लिन्छिन् । लकडाउन, निषेधाज्ञा र कोरोना सङ्क्रमणको सन्त्रासका कारण अहिले भने जिम जाने र डान्स क्लास जाने काम रोकिएको छ ।
खाना आफैं बनाउँछिन् । घरमै बसेर कोरोना महामारी छलिरहेकी दीपाशा भन्छिन्– ‘घरै बसिरहँदा त छिनछिनमै भोक पो लाग्दोरहेछ । खाएको खायै गरेर होला, तौल पनि बढेको छ । सुटिङका बेला त बेलुकी खाना नखाई सुत्थें, अहिले चाहिँ खाएको खायै छु ।’
खाने कुरामा छैन छनोट
के खाने, के नखाने भन्नेमा उनलाई खासै सरोकार छैन । स्वास्थ्य बिग्रेला, यो खाऊँ, त्यो नखाऊँ भन्ने पीर उनमा छैन । ‘खाने कुरा यो खाने, त्यो नखाने भन्ने ममा छैन, जङ्कफुडदेखि लिएर सबै चिज खाइदिने हो, अलिक सजिलो पनि यिनीहरू नै त छन्’– दीपाशा भन्छिन् ।
दाल–भात र तरकारी नै उनको फेबरेट खाना हो । तर, बाहिर निस्किएपछि चाउचाउ, चाउमिन, मःमः लगायतका खानेकुरा खान्छिन्, ‘बार्ने’ बानी उनमा छैन । स्वास्थ्यप्रति सचेत रहे तापनि खाने कुरामा छनोट छैन । ‘राजधानी बसेर अग्र्यानिक खाने कुरा खोजेर पाइने कुरा भएन, पाउनै मुस्किल हुन्छ, कसरी खानु ?’ उनको प्रश्न छ ।
ट्युमरपीडित, अनुहारको सुन्दरता
नाक र घाँटीको बीचमा ट्युमर पलाएकाले अप्रेसन गर्नुपर्ने जानकारी डाक्टरले दिएका छन् । डाक्टरकै सल्लाहअनुसार केही औषधि खाइरहेकी छन् । तीन वर्षअघि होलबडी चेकअफ गराएकी उनले त्यसयता गराएकी छैनन् । पहिले फुर्सद नमिलेर जचाउन नपाएको उल्लेख गर्दै अब भने निषेधाज्ञा सकिनासाथ जचाउने योजना बनाएको उनले सुनाइन् ।
अनुहार चम्किलो बनाउन उनले पानी धेरै पिउने र हल्का मेकअप गर्ने गरेकी छन् । सुटिङका बेलाबाहेक मेकअपमा खासै ध्यान नदिने उनको भनाइ छ ।