डा. वैद्य: लेजरथेरापी उपचारमा सक्रिय चिकित्सक

होलिस्टिक संवाददाता

डा. सुशीला वैद्य लेजरथेरापी विशेषज्ञ तथा स्त्री क्यान्सर रोग विशेषज्ञ हुन् । डा. वैद्यले चिकित्सा पेशा अँगालेको २२ वर्ष भयो । उनले लेजरथेरापी विशेषज्ञका रूपमा सेवा दिन थालेको पनि लामै समय भयो । अहिले उनी ललितपुरको जावलाखेलस्थित लेजरथेरापी क्लिनिककी सञ्चालक हुन् । उनै डा. वैद्यसँग गरिएको कुराकानीको सारसङ्क्षेप–

तपाईंले चिकित्सा पेशा अँगालेको कति भयो ?
लामै समय भयो । दुई दशक नाघिसक्यो ।

लेजरथेरापी विशेषज्ञका रूपमा सेवा गर्न थालेको चाहिँ कति भयो त ?
१९ वर्ष भयो । म नै नेपालको पहिलो लेजरथेरापी विशेषज्ञ हुँ ।

तपाईंको क्लिनिकमा के–के सेवा उपलब्ध छन् ?
मुख्यतः लेजरथेरापी, फिजियोथेरापी, मसाजथेरापीजस्ता सेवा उपलब्ध छन् । यहाँ मुटु रोग, हाडजोर्नी तथा नसा रोग, बाथ, हड्डी खिइँने, नसा च्यापिने, पक्षाघात, विभिन्न किसिमका घाउ, छाला रोग, स्त्री क्यान्सरलगायतको उपचार हुन्छ ।
यी रोगहरूको उपचारमा लेजरथेरापी विधि अपनाइन्छ । लेजरथेरापीका लागि एक किसिमको मेसिन हुन्छ, त्यसबाट निस्कने ६३० देखि ११०० नानोमिटरसम्मको विकिरणबाट उपचार हुन्छ ।

लेजरथेरापीले रोगको निदान कसरी हुन्छ ?
शरीरको अङ्गहरू कोषिका मिलेर बनेका हुन्छन् । कोषिका अस्वस्थ भएपछि रोग लाग्छ । लेजरको विकिरणले अस्वस्थ कोषिकाहरूलाई सशक्तीकरण गरेर ऊर्जा दिएपछि पुनः सक्रिय र स्वस्थ हुन्छन् अनि रोग निको हुन्छ ।

शरीरमा लाग्ने कति प्रकारका रोग लेजरथेरापी विधि अपनाउँदा निको हुन्छन् ?
यो विधि अपनाएर शरीरमा लाग्ने चार सयभन्दा बढी रोगको उपचार गर्न सकिन्छ ।

तपाईंको अनुभवमा नेपालमा मुख्यतः कस्ता रोगको उपचारका लागि यो विधि अपनाइन्छ ?
नेपालमा मुख्य गरी हाडजोर्नीको समस्या, पक्षाघात, नसा च्यापिएको, निको नभएका घाउ, छालाको समस्याका लागि लेजरथेरापीको बढी प्रयोग भएको छ ।

लेजरथेरापीको साइड–इफेक्ट हुन्छ कि हुँदैन ?
लेजरथेरापी उपचार विधिको साइड–इफेक्ट हुँदैन भन्दा पनि हुन्छ किनकि यसको साइड–इफेक्ट भनेको ०.५ प्रतिशत मात्रै हो । त्यसैले कतिपय रोगमा शल्यक्रिया तथा कडा औषधिको विकल्पका रूपमा लेजरथेरापी उचित विधि हुन्छ । शल्यक्रिया गर्दा घाउ हुने तथा पाक्ने जोखिम हुन्छ । औषधिको साइड–इफेक्ट हुन सक्छ, जसबाट किड्नी बिग्रने डर हुन्छ । तर, यो विधिमा घाउ हुने, पाक्ने, औषधिको साइड–इफेक्ट हुने डरबाट मुक्त भई सरल तरिकाले राम्रो उपचार गर्न सकिन्छ ।

त्यसो भए लेजरथेरापीलाई शल्यक्रिया तथा औषधि सेवनको विकल्पकै रूपमा लिन सकिन्छ ?
हो । सहीरूपले भन्नुपर्दा यो २०औं शताब्दीकोे सबैभन्दा राम्रो वैकल्पिक उपचार विधि हो । यो अन्य उपचार विधिभन्दा २०० गुणा बढ्ता प्रभावकारी हुन्छ । अहिलेसम्म संसारभर नै वैकल्पिक उपचार विधिका रूपमा फिजियोथेरापीभन्दा राम्रो अनि प्रभावकारी उपचारविधिका रूपमा लेजरथेरापीलाई मानिँदै आएको छ, जुन कुरा अध्ययनले प्रमाणित गरेको छ ।

विभिन्न रोगको उपचारमा प्रयोग हुने लेजरथेरापी मेसिन फरक–फरक हुन्छन् कि एउटै मेसिनबाट सबैको उपचार हुन्छ ?
धेरैले नबुझेर सबै लेजर एकै प्रकारका हुने सोच्छन् । लेजर विकिरण भन्नेबित्तिकै सबै एकै किसिमका होइनन् । लेजरथेरापी गर्ने मेसिनमा प्रयोग हुने डोजको ऊर्जाअनुसार फरक–फरक काम हुन्छ । कस्मेटिक्समा प्रयोग हुने लेजर भिन्दै हुन्छ र शल्यक्रियामा प्रयोग हुने लेजर भिन्दै हुन्छ भने थेरापीका लागि प्रयोग हुने विकिरण दिने लेजर मेसिन भिन्दै हुन्छ ।

दुखाइबारे पनि कुरा गरौं, विभिन्न कारणले हुने दुखाइको उपचारमा लेजरथेरापीको प्रभावकारिता कस्तो देखिन्छ ?
दुखेको अङ्गमा फिजियोथेरापी गर्र्दा र कडा औषधि खाँँदा दुखाइ झन् बढ्छ । दुखेको अङ्गमा नछोइकन, नचलाइकन लेजरथेरापीको माध्यमबाट विकिरण दिन सकिन्छ । यसले नै सबैभन्दा प्रभावकारीरूपमा दुखाइ कम हुन्छ र केही दिनको थेरापीपछि रोग निको हुन्छ ।
कुनै पनि अङ्ग सुन्निनु र चलाउन कठिन हुनुलाई चिकित्सकीय भाषामा इन्फ्लामेसन भनिन्छ । इन्फ्लामेसन भनेको तातो, रातो, दुख्ने, सुन्निने र चलाउन नसक्ने समस्या हुनु हो । यी पाँचवटै समस्या लेजर विकिरणले ठीक हुन्छ । लेजर विकिरणले एन्टिइन्फ्लामेसनको काम गर्छ र रोग निको हुन्छ ।

त्यसो भए फिजियोथेरापी चाहिँ कतिखेर गर्ने त ?
दुखिरहेको तथा सुन्निएको अङ्गमा फिजियोथेरापी नगरिकन पहिल्यै लेजरथेरापी गर्नु उचित हो । सुन्निएको बसेपछि तथा दुखाइ कम भएपछि मात्रै फिजियोथेरापी गर्नुपर्छ ।

यसका अरु फाइदा चाहिँ के–के छन् ?
लेजर विकिरणले एन्टिइन्फ्लामेसन, रक्तसञ्चार बढाउने र अशक्त कोषिकामा पोषण तत्व बढाएर पठाउने काम गर्छ, जसले गर्दा अङ्गहरूका कोषिका स्वस्थ र मजबुत भई सामान्य अवस्थामा फर्कन्छन् । यसरी नै त्यो अङ्गको रोग निको हुन्छ ।

कोषिकाहरूमा लेजरथेरापीले कसरी काम गर्छ ?
लेजरको तापका विकिरणले शरीरमा रहेका मरेका कोसिकाहरू निकाल्छ र नयाँ कोषिका उत्पादनमा सघाउँछ । यसो हुँदा रक्तसञ्चार सहज हुन्छ । यसरी नै लेजर विकिरणले रोग निको पार्छ । शरीरको बाहिरी भागबाटै दिइने भएकाले यसको साइड–इफेक्ट छैन ।

कोरोनाभाइरस सङ्क्रमणको वर्तमान अवस्थामा कसरी सेवा दिइरहनुभएको छ ?
अहिले सङ्क्रमणको अवस्थामा स्वास्थ्य सुरक्षा अपनाएर सेवा दिइराखिएको छ । मेरो क्लिनिक अस्पताल होइन, यहाँ भीडभाड छैन । क्लिनिकमा कोभिड– १९ बाट बच्नका लागि स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाइएको छ । उपचारमा आउन आत्तिनु वा डराउनु पर्दैन । हामी सचेत छौं कि सेवाग्राही सङ्क्रमित भए हामी पनि सङ्क्रमति हुने जोखिम रहन्छ । आफू र सेवाग्राही/बिरामीको स्वास्थ्य सुरक्षामा ध्यान दिएका छौं ।