सिर्जनशील बनाउने ओमेगा

डा. डीबी सुनुवार

भान्छामा प्रयोग गरिने कयौं खाद्य पदार्थमा ओमेगा पाइन्छ । माछा, आलसको तेल, आलसको अचार, सूर्यमुखी, अण्डाजस्ता पदार्थमा इसेन्सियल फ्याटी एसिडजस्ता पोषणयुक्त पदार्थ पाइन्छन् । ओखर, बदामजस्ता ड्राई फुड्समा ओमेगा तत्व पाइन्छ । ओमेगायुक्त खाद्य पदार्थको नियमित तथा सन्तुलित सेवनले शारीरिक मात्र नभई मानसिकरूपमा समेत स्वस्थ र सक्रिय रहन सहयोग मिल्छ ।
विशेषतः साल्मण्ड माछामा ओमेगा तत्व पाइन्छ । अन्य विभिन्न प्रजातिका माछामा पनि यो तत्व पाइन्छ । सन्तुलितरूपमा माछा खाने व्यक्तिको मस्तिष्क सक्रिय र स्वस्थ रहने हुनाले स्मरणशक्ति समेत तीक्ष्ण हुन्छ । त्यसैले भनिन्छ– समुद्रको किनारमा बस्ने व्यक्ति तीक्ष्ण हुन्छन् ।
आलसमा ओमेगा– ३ का साथै एएलए, जीएलए, इसेन्सियल फ्याटी एसिडजस्ता तत्व पनि पाइन्छन् । आलसमा पाइने यी तत्वले स्वस्थ र मजबुत रहन सहयोग पुर्याउँछन् ।

ओमेगाका लाभैलाभ

ओमेगा– ३ को कमी हुँदा स्मरणशक्ति कम हुन सक्छ । यो तत्वको कमीले नैराश्यता बढ्नुका साथै डिप्रेसनको समेत जोखिम हुन्छ । ओमेगा तत्वयुक्त पदार्थ खानाले मस्तिष्क सक्रिय र तीक्ष्ण रहने भएकाले शारीरिक एवम् मानसिक स्वस्थताका निम्ति ठूलो मद्धत मिल्छ ।
नियमित तथा सन्तुलितरूपमा ओमेगा तत्वयुक्त पदार्थ खानाले मुटु स्वस्थ भई रक्त–प्रवाहमा सहजता मिल्छ । रक्त–प्रवाह सहज हुँदा शरीरमा भएका विकार तत्व जमेर रहन पाउँदैनन्, जसले गर्दा रक्तचाप सन्तुलित भई मुटुजन्य रोगको जोखिमबाट बच्न सकिन्छ ।
ओमेगायुक्त खाद्य पादर्थको नियमित सेवन गर्नाले बोसोको मात्रा कम हुन गई शरीरको तौल समेत घट्छ । तौल घट्दा शारीरिक तथा मानसिकरूपले स्वस्थ–तन्दुरुस्त रहन सहयोग मिल्छ । यसबाट मानसिक तनाव कम हुने, अल्जाइमर्स, एन्जाइटीजस्ता समस्याबाट समेत छुटकारा पाउन सकिन्छ । ओमेगायुक्त पदार्थको नियमित सेवन गर्दा आँखाको ज्योति घट्ने समस्याबाट बच्न समेत सहयोग मिल्छ । हाडजोर्नी सुन्निने, दुख्ने, च्यातिनेजस्ता समस्या निम्तन नदिन र निम्तिइहाले पनि कम गर्न ओमेगायुक्त पदार्थको नियमित सेवन आवश्यक हुन्छ ।

मासु नखानेलाई ओमेगा

माछा–मासु नखाने व्यक्तिका लागि वनस्पतिजन्य खाद्य पदार्थमा पाइने ओमेगा तत्व लाभदायक हुन्छ । माछा–मासु नखानेले शारीरिक तथा मानसिकरूपमा स्वस्थ र मजबुत रहन ओमेगायुक्त वनस्पतिजन्य खाद्य पदार्थ खानु आवश्यक हुन्छ । ओमेगाको कमीले शारीरिक तथा मानसिक वृद्धि–विकासमा समेत असर पर्ने भएकाले यसको नियमति सेवन लाभदायक हुन्छ ।

केही बेफाइदा पनि…

ओमेगाका धेरै फाइदा हुँदाहुँदै पनि यसका कतिपय बेफाइदा समेत छन् । एलर्जी, एपेन्डिसाइटिस्, कलेजोजस्ता समस्या भएका व्यक्तिले भने सावधानीपूर्वक मात्र यसको उपभोग गर्नुपर्छ । यस्ता व्यक्तिले चिकित्सक एवम् पोषणविद्को परामर्शमा मात्रै ओमेगायुक्त पदार्थको सेवन गर्नु उचित हुन्छ ।

सिर्जनशीलताका निम्ति झन् उपयोगी

ओमेगायुक्त पदार्थले मस्तिष्क स्वस्थ तथा सक्रिय राख्न सहयोग पुर्याउने भएकाले सिर्जनशील काम गर्नेहरूका लागि यो तत्वयुक्त पदार्थ अझ प्रभावकारी हुन्छ । सबै उमेरसमूह र सबै पेशा गर्ने व्यक्तिको मस्तिष्क स्वस्थ राख्नका लागि सन्तुलितरूपमा ओमेगायुक्त पदार्थको सेवन लाभदायक हुन्छ । नियमितरूपमा माछा तथा आलसको तेल, अचारलगायत खानाले शारीरिक तथा मानसिकरूपमा स्वस्थ रहन सकिन्छ ।

ओमेगा नष्ट हुनबाट जोगाऔं यसरी

ओमेगा तत्व पाइने आलसको तेलमा परिकारहरू धेरै बेर पकाउनु हुँदैन । आलसको अचार बनाउँदा पनि धेरै बेर (डढ्ने गरी) भुट्नु हुँदैन । माछा पनि धेरै बेर भुट्नु हुँदैन । परिकार पकाउने क्रममा धेरै भुट्दा तथा खरो बनाउँदा ती परिकारमा पाइने पोषण तत्व खेर जान्छन् । ड्राई फुड्स तथा टुसा आएको गेडागुडी काँचै खाँदा बढी लाभदायक हुन्छन् ।