फिट–फाइन डाक्टर भगवान्

केदारनाथ गौतम / शङ्कर क्षेत्री

आइतबार, २९ भदौ । काठमाडौंको मण्डिखाटार पुग्दा घडीको सुईले बिहानको सात बज्नै लागेको सङ्केत गरिरहेको थियो । चाबहिल हुँदै सुकेधाराबाट थोरै अगाडि बढेर दायाँतर्फ उकालो लागेपछि पुगिन्छ ह्याम्स अस्पताल । ह्याम्सको गेटैबाट केही अगाडि पाइला चाल्दा बायाँतर्फ झर्ने ओरालो सडक देखिन्छ । त्यही ओरालो झरेर थोरै तेर्सो लागेपछि ठूलो टेनिस कोर्ट देखिन्छ । र, त्यही कोर्टमा पुग्यौं हामी ।
करिव सात मिनेटपछि आइपुगे वरिष्ठ मुटुरोग विशेषज्ञ प्रा.डा. भगवान् कोइराला । पार्किङमा गाडी रोके र ओर्लिए । त्यहाँ उनी बिरामीको सेवाका लागि होइन, आफ्नै ज्यान फिट–फाइन राख्ने दैनिक कर्मका लागि पुगेका हुन् । घरबाटै ‘स्पोर्टस् ड्रेस’ लगाएर आएका उनले गाडीबाट खेल सामग्रीको ब्याग झिके । हामीलाई पनि कोर्टभित्रै पस्न सङ्केत गर्दै ब्याग भिरेर फटाफट टेनिस कोर्टतर्फ लागे । साथीले उनीतिर क्यामेरा सोझ्याए । डा. भगवान्को फिटनेस सूत्रसम्बन्धी स्न्याप त हामीले लिनु नै थियो ।
साथीहरूसँग हेल्लो–हाई गर्दै डा. कोइराला प्रवेश गरे । र, हामी पनि उनीसँगै टेनिस कोर्टको प्राङ्गणमा पुग्यौं । कोर्ट छिर्नुअघि बाहिरी टेबलमा ब्याग राख्दै खोलेर उनले ‘ब्याट’ र ‘बल’ झिके । डा. कोइराला कोर्टभित्र छिरेसँगै हाम्रा सहकर्मी पनि कोर्टभित्रै छिरे र उनीतिरै क्यामेरा फोकस गराए । उनी ‘लङ टेनिस’ खेल्दा रहेछन् । डा. कोइराला खेल्न थाले; हामीले ती ‘मुभमेन्ट’ लाई क्याप्चर गरिरह्यौं । आधा घन्टाजति खेल्दा असिनपसिन भैसकेका थिए डा. कोइराला ।
यतिबेरसम्म पर्याप्त स्न्याप लिइसकिएको थियो । बिदा मागेर हामी निस्कियौं, उनी भने खेलिरहेकै थिए । कलिलो उमेरदेखिकै खेलप्रतिको शोखका कारण पनि आजपर्यन्त निरन्तर खेलिरहेकै छन् उनी । खेल खेल्दा शारीरिक तथा मानसिकरूपमा स्वस्थ रहन सकिनेबारे ज्ञान त उनमा हुने नै भयो; उनी फिट–फाइन पनि छन् ।

चम्किलो अनुहार, फुर्तिलो ज्यान

६० वर्ष पुग्नै लागेका डा. कोइरालाको ज्यान हेर्दा लाग्छ, उनले ५० वसन्त पनि पार गरेका छैनन् । ७० किलोग्राम तौलका उनी निकै फुर्तिला देखिन्छन् । आफ्नो तौल २० वर्षयता सधैं नै ७० किलोग्रामकै आसपास रहेको उनले बताए ।
अग्लो कदका उनको शारीरिक बनावट चटक्क देखिन्छ; अनुहार भर्भराउँदो छ । अनुहारको चमकमा अहिलेसम्म कुनै कमी छैन; अनुहारमा न रिङ्कल छन् न त कुनै दाग वा धब्बा नै । निकै नै व्यस्त रहनुपर्ने पेशा हो चिकित्साकर्म । स्वस्थ जीवनशैली अपनाएकैले हुनुपर्छ, उनी जति व्यस्त छन् त्यति नै स्वस्थ समेत छन् ।
अब चर्चा गरौं, डा. भगवान्को जीवनशैली र फिटनेस टेक्निकबारे । उनले अपनाउने स्वस्थ जीवनशैलीको सूत्र खासमा सरल र सहज नै छ ।

एक टुक्रा रोटी र चियाको ब्रेकफास्ट

डा. कोइराला बिहान ६ बजेसम्ममा उठिसक्छन् । ट्वाइलेट–बाथरुम गएर हात–मुख धोइसकेपछि पानी पिउँछन् । दैनिकी सुरुआतको पहिलो काम नै पानी पिउनु हो । पानी तातो वा चिसो भन्दैनन्, जुनसुकै भए पनि पिउँछन् । डा. कोइरालाले सुनाए– ‘पानी तातो वा चिसो भन्ने कुरामा खासै ख्याल गर्दिनँ तर शुद्धतामा चाहिँ निकै ध्यान पुर्याउँछु ।’ पिउने पानीको शुद्धतामा उनी असाध्यै ध्यान दिन्छन् । यो नै स्वस्थ जीवनको एउटा अनिवार्य सर्त भएकोप्रति उनी निकै सचेत छन् ।
पानी पिइसकेपछि हल्का चिनीसहितको चिया पिउँछन् । चियासँगै ब्रेकफास्टका रूपमा थोरै रोटी वा पाउरोटी खान्छन् । ‘कि एक टुक्रा रोटी नत्र एउटा पाउरोटी लिन्छु’– ब्रेकफास्टबारे डा. कोइरालाले भने ।

सानैदेखिको खेल–शोख, व्यस्ताताबीच पनि निरन्तर

करिव सात बजे मण्डिखाटारस्थित टेनिस कोर्टमा पुग्छन् । खेलप्रति सानै उमेरदेखि रुचि राख्दै आएको सुनाउँदै उनले भने– ‘खेल मेरो १२–१३ वर्षदेखिकै दैनिकी हो; बीचमा १–२ वर्ष बाहिर जाँदा छु्ट्यो होला, नत्र सधैंजसो खेल्दै आएको छु ।’
कहिलेकहीं मौसमले साथ नदिँदा बाहेक उनी सधैं खेल्छन् । कुनै कारणवश खेल्न नपाएका दिन घर वा अफिसमै तल–माथि हिँडेर व्यायाम पुर्याउँछन् । साथीहरूसँग टेनिस खेलेर बिहानको करिव डेढ घन्टा बिताउँछन् । खेल्दा पसिना आउने नै भयो । त्यसपछि घर फर्केर नुहाइधुवाइ गर्छन् ।
त्यसपछि उनको दैनिकी तय हुन्छ । इमेल चेक गर्छन्; आएका म्यासेज हेर्छन् र आवश्यकताअनुसार रिप्लाई गर्छन् ।

अफिसमै लन्च, जे पाक्छ, त्यही

नौ बजे अफिस पुगेर काम सुरु गर्छन् । बिहानको खाना अफिसमै खान्छन् । बिहानको खानाबारे सुनाउँदै डा. कोइरालाले भने– ‘१२ देखि १ बजेको बीचमा अफिसमै लन्च लिन्छु ।’
डा. कोइराला खानपानमा ‘चुजी’ छैनन् । तरकारीहरू पनि यस्तै खाउँ भन्ने उनको कुनै रोजाइ छैन । अफिसमा जे पाक्छ त्यही खान्छन् । ‘तरकारी–सरकारी जे पाक्छ, त्यही खान्छु’– उनले सुनाए । तर, स्वस्थकर खानपानमा भने असाध्यै ध्यान दिन्छन्; जुन स्वभाविकै पनि हो ।

खाजाको वास्ता हुँदैन

डा. कोइरालालाई दिउँसो खाजाको खासै वास्ता हुँदैन । बेलुकीपख अफिसमै चिया पिउँछन् । कहिलेकहीं मिटिङमा चिया–नास्ता हुन्छ । तर, नियमित खाजा भने खाँदैनन् । बेलुकीसम्म काममै व्यस्त हुन्छन् ।
विभिन्न खाले मिटिङ चलिरहन्छन् । बिरामीको उपचार, अरु जिम्मेवारी तथा योजना तर्जुमाका काममा दिनभर व्यस्त रहन्छन् । अहिले उनी नेपाल मेडिकल काउन्सिलको अध्यक्ष छन् । एउटा सक्रिय चिकित्सक, त्यसमाथि प्रशासकीय एवम् संस्थागत जिम्मेवारी– व्यस्त त हुने नै भए ।

कहिलेकहीं कुखुराको मासु

बेलुकाको खाना पनि यही नै खानुपर्छ भन्ने उनको रोजाइ छैन । भान्सामा जे पाक्छ, त्यही खान्छन् । घरमा कहीलेकहीं मात्रै मासु पाक्ने उनी बताउँछन् । तर, उनी मासु नै नखाने चाहिँ होइनन् । डा. कोइरालाले सुनाए– ‘हामी खसीको मासु खाँदैनौं, कहिलेकर्हीं कुखुराको खान्छौं ।’
खानपान गरेर सुत्दा रातको ११ बज्छ । ढिलोमा १२ बजेभित्र सुतिसक्छन् । सामान्यतः १० देखि ११ बजेभित्र सुतिसक्ने उनको भनाइ छ ।

अमिलो–पिरो मन पर्छ

फलफूलमा पनि उनको रोजाइ छैन । सिजनअनुसार पाइने फलफूल खान्छन् । काँक्रो र मुला भने उनलाई स्वादिला लाग्छन् ।
अमिलो–पिरो पनि उनलाई मन पर्छ । ‘अमिलो–पिरो खान मन पर्छ, खान्छु’– डा. कोइरालाले भने ।

घर पुग्दा रातको नौ बज्छ

साँझसम्म फुर्सद पाउँदैनन् । कहिलेकहीं डिनर मिटिङ परेमा डिनर खाएर घर जान्छन् । तर, अहिले भने बाहिर डिनर खाने क्रम कम भएको उनले सुनाए ।
दिनभरको व्यस्तता छिचोल्दै घर पुग्दा रातको करिव नौ बज्छ । ‘युजल्ली घर पुग्दा रातको नौ बज्छ,’ उनले भने– ‘पहिले–पहिले त दस नै बज्थ्यो, आजकल कोरोनाले गर्दा अलि चाँडो हुन्छ ।’

इन्जुरी भयो, रोग छैन

कुनै रोगका कारण डा. भगवान्ले अहिलेसम्म कुनै औषधि खानुपरेको छैन । चोट लागेर अस्पताल भने बस्नुपरेको छ । डा. कोइरालाले सुनाए– ‘धेरै पटक इन्जुरी भएको छ, चोटपटक लाग्यो । मेरो हातको अप्रेसन पनि भएको छ ।’ प्रेसर–सुगरजस्ता कुनै पनि दीर्घरोगको औषधि अहिलेसम्म उनले खानुपरेको छैन । यसैबाट पनि पुष्टि हुन्छ– उनी फिट–फाइन् छन् ।

एक कर्मठ चिकित्सक

सन् १९६० मा पाल्पामा जन्मिएका डा. कोइरालालाई नेपालमा ओपन हार्ट सर्जरी सेवाको मुख्य श्रेय जान्छ । सन् १९८९ मा चिकित्सकीय पेशा सुरु गरेका उनी कार्डियोथोरासिक सर्जन हुन् ।
डा. कोइरालाले त्रिवि शिक्षण अस्पतालबाट पेडियाट्रिक सर्जरी विशेषज्ञका रूपमा पेशागत परिचय बनाए । सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रको निर्देशकका रूपमा सन् २००१ देखि २००९ सम्म काम गरे । त्रिवि शिक्षण अस्पतालको कार्यकारी निर्देशकका रूपमा समेत उनले सेवा गरे । उनले मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरलगायतका विभिन्न स्वास्थ्य संस्थामा रहेर जिम्मेवारी सम्हाले । जुनसुकै भूमिकामा रहँदा पनि उनले आफूलाई सधैं नै कुशल व्यवस्थापक र सुयोग्य चिकित्सकका रूपमा सावित गरे ।


उनले स्वास्थ्य क्षेत्रसँग सम्बन्धित दर्जनभन्दा बढी संस्थाहरूमा रहेर सेवा पुर्याइसकेका छन् । डा. कोइराला अहिले नेपाल मेडिकल काउन्सिलको अध्यक्ष छन् । पेशाप्रति निष्ठावान् डा. कोइरालालाई कहिलेकहीं आफूले उपचार गरेका बिरामी निको नहुँदा भने असाध्यै तीतो लाग्छ । काम गर्ने सिलसिलामा गल्ती नहुने होइनन् । आफ्ना पनि गल्ती हुने उनी स्वीकार्छन् तर गल्तीको कारण पहिल्याएर समाधानको बाटो तुरुन्तै पहिल्याउँछन् । उपचारपछि निको भएर बिरामी डिस्चार्ज हुँदा उनलाई असाध्यै आनन्द लाग्छ; जो उनी मात्र होइन, प्रत्येक चिकित्सकको कामना र चाहना हुन्छ ।