हास्यकलाकारलाई स्टेजमै पत्थरीले च्याप्दा
भोला अधिकारी
‘कमेडी च्याम्पियन’ प्रतिस्पर्धाबाट एकाएक चर्चामा आएका हास्यकलाकार हुन् सुमन कार्की । सञ्चारकर्मी ऋषि धमलाको क्यारिकेचर गरेका कारण दर्शकले उनलाई ‘डुप्लिकेट ऋषि’ का रूपमा समेत चिन्ने गरेका छन् । उनको हास्यकला–यात्राले करिव एक दशक पार गरिसकेको छ ।
ओखलढुङ्गामा जन्मिएर मोरङमा हुर्किएर उनी केही वर्ष इटहरास्थित ‘रेडियो सुनाखरी’ मा कार्यरत रहे । त्यहाँ उनले दुईवटा कार्यक्रम चलाए । हास्यकलाकारभन्दा पनि ‘हिरो’ बन्ने मनसाय बोकेका सुमन हिरोचाहिँ बन्न सकेनन् । समयले उनलाई बिस्तारै हास्यरसतिर धकेल्यो । रेडियो छाडेर राजधानी आउने निधो गरे । तर, यहाँ आएपछि पो के गर्ने त भन्ने कुरा उनको दिमागमा घुमिरहेको थियो । त्यहीबेला उनलाई रेडियोकै एक साथीले सुनाए– ‘काठमाडौमा त मुख्यरूपले कमेडी कार्यक्रम नै सञ्चालन गर्ने रेडियो अडियो छ नि !’ रेडियो अडियोका मालिक दिपेन्द्र खनियाँसँग आफ्नो राम्रै चिनजान भएको भन्दै त्यहीं जान उनले सुमनलाई सम्झाए ।
भए ठीकै छ, नभए पनि ठीकै छ भन्दै उनी राजधानी हान्निए । रेडियो अडियोमा पुगेर अडिसन दिए । रेडियो अडियोको म्यानेजमेन्ट टिमले कार्यक्रम सञ्चालनको जिम्मा पनि दियो । मोरङमै रेडियो कार्यक्रम चलाइसकेको अनुभवका कारण काम गर्न गाह्रो भएन । यसरी मोरङबाट राजधानी छिरेपछि उनको हास्यकला–यात्रा अघि बढ्यो ।
स्टेज पर्फमेन्स र ‘धमलाको हमला’
सुमनले दुई सयभन्दा बढी कार्यक्रम गरेर स्टेज तताइसकेका छन्; देश–विदेशका अनेकौं सांकृतिक कार्यक्रममा भाग लिएर दर्शक हँसाइसकेका छन् । यतिबेला भने कोरोना महामारीका कारण स्टेज कार्यक्रम छैनन् । अघिल्लो वर्ष मात्रै पनि उनले देशका विभिन्न भागमा आयोजित दर्जनौं कार्यक्रममा स्टेज पर्फर्मेन्स गरेका थिए ।
दर्शक हँसाउँदा रमाइलो मान्ने उनी ऋषि धमला बनेर हरिवङ्श आचार्यसँग हिँडेका थिए । दर्शकलाई कसरी हँसाउन सकिन्छ भन्ने ज्ञान र कला हरिवङ्शसँगको सहयात्राबाट झन् बढी सिक्ने अवसर पाए ।
कार्यक्रममै पत्थरीले च्याप्दा…
कार्यक्रमको सिलसिलामै किड्नीको पत्थरीले उनलाई नमज्जासँग धोका दियो । पत्थरीका बिरामी सुमन भक्तपुरको एउटा कार्यक्रममै निकै अप्ठ्यारो स्थितिमा पुगे । अतिथिको आसनग्रहण गरिरहेका सुमनलाई पत्थरीले च्याप्दै लगेपछि पछाडि ढाडमा असर गरेजस्तो महसुस भयो ।
पहिल्यैदेखि पत्थरीको समस्या भोगिरहेकाले अब यसले आफूलाई गाह्रो बनाउन लाग्यो भन्ने ठानी तत्काल दर्शकलाई हँसाइहाल्ने अवसरका निम्ति उद्घोषकलाई अनुरोध गरे । हँसाउनपट्टिभन्दा पनि दुखाइपट्टि मन गएकाले दर्शकलाई उनले चाहेजसरी हँसाउनै सकेनन् । आधा घन्टाभन्दा बढी लगातार हँसाइरहनु पर्नेमा उनी १५–२० मिनेटमै अन्त्य गरी हिँड्न बाध्य भए । ‘मैले यस्ता धेरै नमिठा अनुभव भोगेको छु, म ग्यास्ट्रिकबाट पनि निकै पीडित छु,’ उनी भन्छन्– ‘सायद यो राष्ट्रिय रोग भएकै कारण पनि होला ।’ शारीरिक समस्याले दिने यस्ता पीडा त उनले धेरै ठाउँमा, धेरै पटक भोगे तर कार्यक्रम नै छाडेर हिँड्नुपरेको अवस्था भने अघिपछि चाहिँ आएन ।
स्वास्थ्य समस्या आउन थालेपछि सुमनले नियममितरूपमा योगा गर्ने बानी बसालेका छन् । बिहान ५–६ बजेतिर उठिसक्छन् । बेलाबखत मर्निङवाक पनि गर्छन् । ‘आजकल स्वास्थ्यप्रति अलिक ध्यान दिने गरेको छु,’ उनी भन्छन्– ‘पहिले त मतलब नै हुँदैनथ्यो, जब धेरै बिरामी पर्न थालियो त्यसपछि चाहिँ अब केही गर्नुपर्छ भनेर योगा र मर्निङवाक गर्न थालेको छु ।’
दैनिकी र खानपान
बिहान उठ्नासाथ मर्निङवाक वा योगा गर्छन् । त्यसपछि तातो पानी खान्छन् र कार्यक्रमका लागि तयारी गर्छन् । रेडियोमा प्रोग्राम छ भने त्यतै लाग्छन् । खानपानसम्बन्धमा उनको दैनिक तालिका छैन । जतिखेर फुर्सद हुन्छ र मन लाग्छ, त्यतिखेर नै खान्छन् ।
प्रायः कार्यक्रममा हिँड्नकै हतार हुन्छ । कुन समयमा र के खाने भन्ने हुँदैन । यो खाने र तयो नखाने भन्ने उनको कुनै ‘च्वाइस’ पनि छैन । ‘मःमः भेटे मःमः, चाउमिन भए चाउमिन, चाउचाउ भए चाउचाउ,’ उनी भन्छन्– ‘जे–जस्ता खानेकुरा अगाडि आउँछन्, तिनै खान्छु । यो खाने र त्यो नखाने भन्ने मेरो बानी छैन, सकेसम्म जङ्क फुड नखाऊँ भन्ने चाहिँ छ, तीचाहिँ बिस्तारै छाड्ने विचारमा छु ।’
‘गाउँघरमै भइएको भए सायद अग्यार्निक नै बढी खाइन्थ्यो होला, राजधानीमा बसेको मान्छेले अग्र्यानिक खाने कुरा त सपना नै होलाजस्तो लाग्छ । हरेक खाद्य पदार्थ कति दिन अघिदेखि बाहिरबाटै आएका हुन्छन्’ सुमन भन्छन्– ‘चामल, तरकारीलगायतका खाद्यवस्तु युरिया मल प्रयोग गरेरै छिटो–छिटो फलाएर बिक्री–वितरणका लागि राजधानी ल्याइएका हुन्छन्, हामीले खाने खाद्यान्न र तरकारी तिनै हुन् ।’
‘नेपालीमा ढिँडो–रोटो खाने क्रम एकदम कम भइसक्यो, जुन छिटो पाक्छ– त्यही खाइहाल्ने क्रम बढ्दो छ,’ उनी भन्छन्– ‘त्यसकारण अहिले मःमः र चाउमिन बढी मात्रामा खाइने खाने कुराभित्र पर्न थालेका छन् ।’
‘मैले भने अबदेखि सकेसम्म जङ्कफुड नखाने सोच बनाएको छु,’ सर्वसाधारणमा अपिल गर्दै उनले भने– ‘स्वास्थ्यका दृष्टिले यी खाद्य कसैका लागि पनि फाइदाजनक छैनन् । त्यसैले यसप्रति सजग रहन सबैसँग मेरो आग्रह छ ।’
बिरामी नपरी स्वास्थ्य जाँच नगर्ने !
बिरामी नै नभईकन अस्पताल नजाने प्रायः नेपालीको चलन छ । अस्पताल गइए कुनै न कुनै रोग देखिइहाल्छ भनेर बरु पीडा नै सहँदै घर बस्ने प्रायः नेपालीको चलन देखिन्छ । हास्यकलाकार सुमन पनि सरदर नेपालीको प्रचलनभन्दा माथि उठ्न नसकिएको स्वीकार्छन् । आफूले पनि बिरामी नहोउन्जेल अस्पताल गएर चेकअप गराउने नगरेको उनको भनाइ छ ।
‘बिरामी हुँदा मात्र अस्पताल जाने गरेको छु, साधारण दुखाई त घरमै बसेर तातो पानी खाएर नै सन्चो बनाइन्छ,’ उनी भन्छन्– ‘साधारण रुघा–मर्की लागेमा घरकै औषधिमुलो खाने गरेको छु, बाहिरको औषधि किनेर खाइहाल्ने बानी छैन । यदि घरको औषधिले ठीक भएन भने मात्रै चिकित्सकको सल्लाहबमोजिम औषधि प्रयोग गर्ने गरेको छु ।’
सानैदेखि घरमा यसरी नै खाने गरेका कारण अहिलेसम्म पनि रुखा–खोकी लाग्दा र ज्वरो आउँदो तातो पानीमा बेसार अदुवा मिलाएर खाँदै ठीक पार्ने गरेको उनले सुनाए ।
मेकअपको आइडिया नै छैन
हास्यकलाकार सुमनलाई मेकअपका सामानबारे कुनै आइडिया छैन । अनुहारमा लगाउने क्रिम–पाउडर समेत पनि उनले अहिलेसम्म किनेको रेकर्ड छैन । अनुहार चम्किलो बनाउनका लागि जतिसक्दो पानी पिउने गरेको उनको भनाइ छ ।
‘राम्रो देखिनका लागि मैले अहिलेसम्म कुनै पनि कृत्रिम चिजहरू प्रयोग गरेको छैन,’ उनले सुनाए– ‘पानीचाहिँ जतिसक्दो धेरै पिउने गरेको छु, त्यसैकारण कसैसँग सल्लाह नलिइकनै आफ्नो अनुहार चम्काएको छु ।’