यसरी फिट–फाइन रहन्छिन् नायिका–गायिका सारिका

होलिस्टिक संवाददाता

लोकप्रिय उपन्यासकार झमक घिमिरेको उपन्यास ‘जीवन काँडा कि फूल’, ‘आगो– २’ लगायतका आधा दर्जन फिल्ममा अभिनय गरेकी कलाकार हुन् सारिका घिमिरे । दर्जनौ म्युजिक भिडिओमा अभिनय गरिसकेकी अभिनेतृ सारिकाले गायन क्षेत्रलाई पनि अगाडि बढाइरहेकी छन् । आफूलाई अभिनेतृभन्दा पनि गायिकाकै रूपमा स्थापित गराउने सोचमा रहेको उनको भनाइ छ । यहाँ प्रस्तुत छ, उनै गायिका–नायिका सारिकाले आफ्नो स्वास्थ्य र जीवनशैलीका बारेमा होलिस्टिककर्मीसँग गरेको कुराकानी :

बिहानदेखि बेलुकीसम्मको दैनिकी बताइदिनोेस् न !
दिनचर्या त प्रायः हरेक दिनको फरक–फरक नै हुन्छ । कहिले छिटै उठ्छु त कहिले ढिलो । जतिबेला उठे पनि उठ्नासाथ रियाज गर्छु, योगा गर्छु अनि खाना खाएर कामतिर लाग्छु ।

बिहान कति बजे उठ्नुहुन्छ, बेलुकी कति बजे सुत्नुहुन्छ ?
बिहान उठ्ने मेरो समय भनेको सामान्यतः ६–७ बजेतिर हो । तर, अवस्था हेरेर यो समय फेरबदल हुन सक्छ । सुटिङ परेका बेला चाँडै उठ्नु परिहाल्यो । सुटिङ छैन भने कतै जानु नपरेको खण्डमा ७ बजेसम्म पनि सुत्छु । बेलुकी चाहिँ १०–११ बजेतिर सुत्छु ।

बिहान उठेपछि सबभन्दा पहिले के गर्नुहुन्छ ?
उठ्नासाथ एक गिलास तातो पानी पिउँछु । बाथरुमबाट फर्केपछि योगा गर्छु । योगा फिट एन्ड फाइन शरीरका लागि एकदमै आवश्यक कुरा हो । योगा सकेपछि रियाज गर्छु । अभिनयका केही कुराहरू अभ्यास गर्छु ।

बिहान उठेदेखि बेलुकी नसुतुञ्जेल कुन–कुन समयमा, के–के खानुहुन्छ ?
मेरो खाने तालिका नै छैन । बिहान ब्रेकफास्ट खान्छु । त्यसपछि खाना खाएर बाहिर निस्केपछि के हुन्छ भन्ने नै हुँदैन । जहाँ जे पाइन्छ/भेटिन्छ, त्यही खान्छु । चाउमिन–मःमः लगायतका खाजा खाइन्छ, चिया पिइन्छ । बेलुकी खाना खान भने घरमै पुग्छु ।

स्वस्थ रहनका लागि खानपानमा के–कस्तो सजगता अपनाउनुहुन्छ ?
स्वस्थ रहनका लागि सकेसम्म स्वस्थ र ताजा नै खाने कुरा खान्छु । पाएसम्म र भेटेसम्म अग्र्यानिक खाने कुरामा जोड दिन्छु । काठमाडौंमा आफूले भनेजस्तो खाने कुरा त पाइँदैन । पर्याप्त पानी पिउँछु, पानी पिउने कुरामा विशेष ध्यान दिन्छु ।

कुनै रोगबाट पीडित हुनुहुन्छ ?
अहिलेसम्म मलाई त्यस्तो कुनै रोग लागेको छैन; ठीकठाक नै छु । साधारण ग्यास्ट्रिक भने छ तर यसले खासै असर पुर्याएको फिल भएको छैन ।

खाना प्रायः घरमै खानुहुन्छ कि बाहिर ? घरमा खाना आफैं बनाउनुहुन्छ कि अरु कसैले बनाउँछन् ?
खाना कहाँ खाइन्छ भन्ने खासै टुङ्गो हुँदैन । घरमै रहँदा आफैं बनाएर खान्छु । बाहिर निस्केका बेला खाना खान घरमा नै पुग्ने कुरा भएन । घरमा आफैंले खाना बनाउँछु, कहिलेकहीं आमाले पनि बनाउनुहुन्छ ।

अग्र्यानिक र हाइजेनिक खानपानमा कत्तिको सचेत हुनुहुन्छ ?
खानपानमा सचेत छु । सकेसम्म अग्र्यानिक खाऊँ भन्ने नै हो । हाइजेनिक पनि अवस्था हेरेर नै हुन्छ ।

स्वास्थ्यमा ध्यान दिनुपर्छ भन्ने कुरामा केले प्रेरित गर्यो ?
कक्षा ७–८ मा स्वास्थ्य विषय पढाउँदा सरले स्वस्थ जीवनशैलीबारे जानकारी गराउनुहुन्थ्यो । सरसफाइमा ध्यान दिन लगाउनुहुन्थ्यो । त्यही बेलादेखि नै स्वास्थ्यमा ध्यान दिनुपर्छ भन्ने लाग्यो । कुनै खास घटनाक्रमले यसबारे प्रेरित गराएको भने होइन ।

जङ्क फुडहरूप्रति तपाईंको धारण के छ ?
जङ्क फुड त म खासै मन पराउँदिन । आफू खान्नँ र अरुलाई पनि नखान सल्लाह दिन्छु । कतै कार्यक्रम या सुटिङमा जाँदा खाने कुरा नै पाइएन भने मात्र यो खाने हो । अरु खाना पाइएसम्म जङ्क फुडलाई ‘नो’ नै भनिन्छ ।

शारीरिक–मानसिकरूपमा फिट रहन के गर्नुहुन्छ ? व्यायाम कत्तिको गर्नुहुन्छ ?
पहिलो कुरा त मन सफा हुनुपर्यो; विचार सफा हुनुपर्यो । मन र विचारलाई सफा र फिट राख्न शरीर पनि फिट हुनुपर्यो । मन र शरीर दुवैलाई फिट राख्न व्यायाम गर्नुपर्यो । त्यसैले सम्भव भएसम्म धेरथोर व्यायाम गरिन्छ ।

स्वास्थ्य जाँच कत्तिको गराउनुहुन्छ ? कि गराउनुहुन्न ?
नियमितजसो नै स्वास्थ्य जाँच गराइरहेकी हुन्छु । छ महिना–वर्षदिनमा स्वास्थ्य जाँच गराइरहन्छु । म प्रायः होलबडी चेकअप गराउँछु । स्वास्थ्यजस्तो विषयमा हेलचेक्र्याइँ गर्ने त कुरै भएन नि !

कुनै आषधि खानुभएको छ कि छैन ?
औधि नै पेट दुख्दा एक पटक अलिकति औषधि खाएकी थिएँ । साह्रै नै टाउको दुख्यो भने, ज्वरो आयो भने मात्र अलिअलि औषधि खान्छु । यस्तै बाध्यता पर्दा अलिअलि औषधि खाएबाहेक अरु खाएकी छैन ।

स्वास्थ्य समस्याका कारण अस्पताल नै भर्ना हुनुपरेको छ कि छैन ?
छ नि । एक वर्ष अगाडिको कुरा हो, साह्रै नै पेट दुखेर फत्र्याक–फत्र्याक भएँ । त्यसबेला दुई दिनजति अस्पतालमा बस्नु परेको थियो । मेरो हस्पिटल बसाइ यत्ति नै हो ।

ज्वरो, रुघा–खोकीजस्ता समस्या हुँदा के–कस्तोे उपचारविधि अपनाउनुहुन्छ ?
ज्वरो आउँदा र रुघा–खोकी लाग्दा घरमै बेसार–पानी खाने गरेकी छु । बाहिरका औषधिभन्दा घरेलु उपचारविधि नै ठीक लाग्छ ।

हल्का औषधि नै खानुपर्दा मेडिकलबाट सिधै किनेर खानुहुन्छ कि विशेषज्ञ/चिकित्सकसँग स्वास्थ्य जाँच गराएर मात्र खानुहुन्छ ?
बिरामी नै भएको खण्डमा मात्र औषधि खाने हो । त्यस्तो अवस्थामा विशेषज्ञ/चिकित्सकसँग स्वास्थ्य जाँच गराएर नै औषधि खाइन्छ । आफूलाई के भएको छ भन्ने कुराको जाँच नै नगरी औषधि खाइयो भने त तनाव भइहाल्ला नि ! डाक्टरको सल्लाहअनुसार नै औषधि खाइन्छ ।

स्वास्थ्य समस्याका कारण भोग्नुपरेका कुनै नमिठा अनुभूति पनि छन् कि ?
त्यही त, अघि नै भनिहालें नि– एक वर्ष अगाडिको पेट दुखाइ नै स्वास्थ्य समस्याका कारण भोगिएको नमिठो अनुभव हो । त्यसबाहेक स्वास्थ्यका कारण भोगिएका अरु कुनै अनुभूति मसँग छैनन् ।

स्वस्थ र सुन्दर रहन के गर्नुहुन्छ ? अनुहारको सुन्दरताका लागि के गर्नुहुन्छ ?
नियमित पानी पिउँछु । अनुहारमा चमक ल्याउन यो बाहेक अर्को विधि छजस्तो लाग्दैन । सकेसम्म दैनिक तालिकामा चल्ने, समयमा खाना र खाजा खाने, निद्रा पुग्ने गरी सुत्ने, सकारात्मक सोच्ने, अनावश्यक कुरा नखाने– त्यत्तिकै सुन्दर भइन्छ नि, होइन र ?

मेकअपका सामग्री/कस्मेटिक्स किन्दा ब्राण्ड र गुणस्तरमा कत्तिको ध्यान दिनुहुन्छ ?
म त्यति धेरै मेकअप त गर्दिनँ । नेचुरलनेस नै मन पर्छ । मसँग मेकअपका सामान पनि त्यति धेरै छैनन् । मेकअपका सामग्री या कस्मेटिक्स किन्दा गुणस्तरमा भने एकदमै ध्यान दिन्छु । अनुहार बिग्रिएला भन्ने डर हुन्छ । विशेषज्ञको सल्लाहबमोजिम नै कस्मेटिक्स किन्ने गरेकी छु ।