घरमै बनाउनोस् स्वादिला परिकार

होलिस्टिक संवाददाता

डोनट

आवश्यक सामग्री
मैदा– ३०० ग्राम, दूध– १०० मि.लि., चिनी– ५० ग्राम, बटर– ७५ ग्राम, यिस्ट– १२ ग्राम, नुन– ४ ग्राम, अण्डा– २ वटा, भटमासको तेल– ५०० मिलिलिटर ।

बनाउने टेक्निक
मैदा छान्ने र जोख्ने । मनतातो दूधमा यिस्ट मिसाउने र राम्ररी चलाउने । थोरै चिनी र मैदा छर्केर राम्ररी घोल्ने । त्यसलाई छोपेर केही समय छाडिदिने । चिनी, बटर, अण्डा, दूध र आवश्यकताअनुसार पानी हालेर पेस्ट बनाउने । त्यसपछि सो पेस्टमा बाँकी मैदा मिसाएर मुछ्ने ।
मैदा मुछिसकेपछि हावाका फोकाहरू देखा पर्न थाल्छन् । आवश्यकताअनुसार पिठो मुछिसकेपछि २८ देखि ३० डिग्री सेल्सियस तापक्रममा २–३ घन्टासम्म छोपेर फुल्न दिने । डोनट फुलेर भाँडाभरि भएपछि डोनटका लागि चाहिने ‘डो’ को तौल बराबरका टुक्रा पार्ने र २० देखि २५ डिग्री सेल्सियस तापक्रममा १५–२० मिनेटसम्म राख्ने । अब सो डल्लालाई सेपिङ गर्दै हलुकासँग डोनटको आकारमा ल्याउने अनि फेरि करिव आधा घन्टासम्म छाड्ने ।
अब डोनटलाई भटमासको तेलमा तार्ने र खैरो रङ्गको बनाउने । त्यसपछि सेलाउन दिने र नरिवलको धुलोमा डुबाएर अथवा नरिवलको धुलो छर्केर पोलिथिनको थैलामा प्याक गर्ने । हलुका सेलाएपछि खान सकिन्छ वा पछिका लागि राख्न सकिन्छ । तर, तयार भैसकेको डोनटलाई एक दिनभन्दा बढी राखेर चाहिँ खानु हुँदैन ।

क्रिमी चिकेन सुप

आवश्यक सामग्री
चिकेन– २०० ग्राम (चिकेन ब्रेस्ट), सेलेरीको डाँठ– ४÷५ पिस, प्याज एउटा, लसुन– ४ केस्रा, रोजमेरी– आधा चिया चम्चा, बटर– १०० ग्राम, क्रिम– १० ग्राम (२ चिया चम्चा), पानी– १ लिटर, मैदा– १ चम्चा (ठूलो चम्चा), चिकेन क्युब– एउटा, मरिचको धुलो– आधा चिया चम्चा ।

बनाउने टेक्निक
चिकेन ब्रेस्टलाई सफा गरेर उसिन्ने । पानीमा राखेर कमलो होउन्जेल उसिन्ने । उसिनेको मासुलाई स–साना क्युब आकारमा काट्ने र त्यसलाई केही समय सेलाउन दिने ।
प्याजलाई पनि स–साना मसिनो टुक्रा पारी काट्ने । सेलेरीको डाँठलाई करिव २ सेमी लम्बाईमा काटेर टुक्रा तयार पार्ने । त्यसपछि बटरलाई प्यानमा तताउने । तातेको बटरमा प्याजलाई हल्का रातो हुनेगरी फ्राई गर्ने । त्यसमा पिसेको लसुन हाली त्यसलाई पनि खैरो हुनेगरी फ्राई गर्ने । काटेको सेलेरीलाई पनि थोरै फ्राई गर्ने ।
अब त्यसमा उसिनेर तयार पारिएको मासु राख्ने र २–३ मिनेटसम्म (हल्का खैरो होउन्जेल) फ्राई गर्ने । अब मैदाको पिठो थपेर थोरै पानीमा घोलेर तयार पारिएको चिकेन क्युब राख्ने । त्यसपछि एक लिटर पानी राखेर त्यसलाई आगोको थोरैथोरै रापमा उम्लिउन्जेल पकाउने ।
उम्लिसकेपछि क्रिम राखेर त्यसलाई पनि एक मिनेटसम्म उमाल्ने । त्यसमा मरिचको धुलो र अन्त्यमा रोजमेरी राख्ने । स्वाद बढाउन आधा चम्चा ‘सोयसस’ पनि राख्न सकिन्छ । यसरी तयार पारिएको सुप चार जनाका लागि पर्याप्त हुन्छ । यसलाई बेलुकीको खानामा रोटी वा पाउरोटीसँग खान सकिन्छ ।

एलोभेराको अचार

आवश्यक सामग्री
एलोभेराको पत्ता– ३ वटा, मेथीको दाना– १०० देखि १५० ग्राम, खुर्सानीको धुलो– १ टेबल चम्चा, बेसार आधा चम्चा (ठूलो चम्चा), सुकेको आँपको धुलो– २ टेबल चम्चा, नुन– १ टेबल चम्चा; तोरी, जिरा, सौफ– आधा टेबल चम्चा, हिङ– आधा चिम्टी, तेल– २ टेबल चम्चा, किसमिस– १ चिया चम्चा, काजु– १ चिया चम्चा, तेजपत्ता– ३–४ पत्ता, चिनी (पिसेको)– १ चिया चम्चा, तोरीको धुलो– २ चिया चम्चा ।

बनाउने टेक्निक
एलोभेराका पातहरू धोएर सुकाउने । छेउको काँडा हटाउने र आयाताकार टुक्रामा काट्ने । पानी उमालेर त्यसमा दाना मेथी राखी २–३ मिनेटसम्म छोप्ने । ५–१० मिनेटका लागि अलग राख्ने । बढि पानी निकाल्ने र मेथीलाई एक छेउमा राख्ने ।
एउटा कराहीमा तेल तताउने । तेल तातेपछि जिरा, तोरी, सौंफ, तेजपत्ता र हिङ पाउडरको तडका लगाउने । त्यसपछि एलोभेराका क्युब्स थप्ने र ३–४ मिनेटसम्म फ्राई गर्ने । अब त्यसमा नुन र बेसार राख्ने । एलोभेरा क्युब्स कोमल तर क्रन्ची नभएसम्म पकाउने ।
बढी भएको पानी हटाएर मेथीका दाना थप्ने । रातो खुर्सानी, धनियाँ, तोरी र पिसेको चिनी थप्ने र राम्रोसँग मिक्स गर्ने । त्यसमा किसमिस र काजुको टुक्रा पनि थप्ने ।
अब सुकेको आँपको पाउडर थप्ने । राम्रोसँग मिक्स गर्ने र कम रापमा थप केही समय पकाउने । तेल छुट्टिएपछि आगो बन्द गर्ने । स्वादिलो एलोभेराको अचार तयार भयो । यसलाई ताजा नै खानु उपयुक्त हुन्छ ।

मटन करी

म्यारिनेटका लागि आवश्यक सामग्री
हड्डीबिनाको मटन– ३०० ग्राम, दही– २ टेबल चम्चा, अदुवा–लसुनको पेस्ट– १० ग्राम, नुन– आधा चिया चम्चा, बेसार– १ चिम्टी, रातो खुर्सानीको धुलो– ३ ग्राम ।

तयार पार्न चाहिने अरु सामग्री
तेल– २ टेबल चम्चा, अलैंची– २ दाना, दालचिनी– २ डन्ठी, मसिनो गरी काटेका मध्यम आकारका प्याज– २ वटा, गोलभेंडा– ठूलो साइजको एउटा (मसिनो गरी काटेर गेडा छुट्टाइएको), खुर्सानी– २ वटा (स–साना टुक्रा पारिएको), मिट मसला– २ चिया चम्चा, पानी– १०० मि.लि.), नुन– आवश्यकताअनुसार, धनियाँको पत्ता– २ टेबल चम्चा, कडी पत्ता– १० ग्राम ।

बनाउने टेक्निक
माथि उल्लेखित सामग्रीहरू राखेर पहिले मटनलाई म्यारिनेट गर्ने । एक घन्टाजति म्यारिनेट गरिएको मासुलाई छुट्टै राखिदिने (फ्रिजमा राख्दा राम्रो हुन्छ) । पकाउनुभन्दा करिब ३० मिनेट अगाडि फ्रिजबाट निकालेर राख्ने ।
अब प्यानमा तेल तताउने । त्यसमा कडीपत्ता, दालचिनी र अलैंचीलाई दुई मिनेटसम्म फ्राई गर्ने । त्यसपछि प्याज र हरियो खुर्सानी राख्ने अनि हलुका सुनौलो रङ्गको नहोउन्जेलसम्म फ्राई गर्ने ।
आगोको राप कम गराएर त्यसमा म्यारिनेट गरिएको मटन राखी ५–७ मिनेटसम्म फ्राई गर्ने । त्यसलाई छोपेर १० मिनेटसम्म पकाउने ।
हल्का बाफिन थालेपछि मिट मसला र कडी पत्ता राखी २–३ मिनेटसम्म फ्राई गर्ने । त्यसमा काटेको गोलभेंडा राख्ने र ५–७ मिनेटसम्म पकाउने । अब पानी हालेर मजाले चलाउने । थोरै पानी हाल्दै नरम बनाएर चलाउने । त्यसपछि आगोको राप थोरै बढाउने र केहीबेर मजाले फत्काएर पकाउने । नुन थप्नुपर्ने भए थप्ने र धनियाँको पत्ता हाली छोपेर १–२ मिनेटसम्म पकाउने ।
मटन करी तयार भयो । यसलाई भात, रोटी वा सादा परौठासँग खान सकिन्छ ।