लकडाउनभर कलाकारहरूले के–के गरे ?
होलिस्टिक संवाददाता
मेलिना राई, गायिका
कोरोना सन्त्रासका कारण सरकारले देशभर लकडाउन गरेपछि गायक–गायिकाहरूले पनि त्यसको पालना गरे । गायिका मेलिना राई लकडाउनका बेला काठमाडौंको जोरपाटीस्थित घरमा बसिन् ।
लकडाउनभर उनले फिल्म हेर्ने, गीत–सङ्गीत सुन्ने र नयाँ–नयाँ सेरिजहरू हेरेर समय कटाइन् । मेलिनाले होलिस्टिकसँग भनिन्– ‘सरकारले लगाएको लकडाउनको पूरै पालना गरें, घरमा नै बसेर गीतहरू प्राक्टिस गरें र फिल्महरू हेरेर इन्जोई गरें ।’ लकडाउनको समय उनले यतिमा मात्रै कटाइनन् । अनलाइन गेमहरू खेलिन् । घरमा सुरक्षित तरिकाले बसेर उपलब्धिमूलक ढङ्गबाट समय बिताइन् । उनी अगाडि भन्छिन्– ‘मैले घरमा राम्ररी समय दिन पाएकी थिइँन, अहिले भने प्रशस्तै दिएँ ।’
‘कम्मरमाथि पटुकी’ बोलको गीत गाएर हिट भएकी मेलिनाले गाएका सयौं गीत चर्चामा छन् । उनी देश–विदेशका कार्यक्रममा व्यस्त थिइन् । लकडाउन अगाडिका स्मृति सुनाउँदै मेलिनाले भनिन्– ‘कार्यक्रमका लागि बाहिर गएकी थिएँ, कोरोना त्रासका कारण सरकारले २५ जनाभन्दा बढी भेला नहुनू भनेपछि सबै कार्यक्रम स्थगित भए । त्यसपछि काठमाडौं आएर एक–दुई वटा गीत मात्र रेकर्ड गर्न भ्याएँ ।’
अहिले पनि कोरोनाको सन्त्रास कायमै रहेकाले सकेसम्म घरमै बस्न उनले सल्लाह दिइन् । कोरोनाबाट आफू बच्न र अरुलाई पनि बचाउन सबैसँग उनको आग्रह छ ।
सन्तोष श्रेष्ठ, सङ्गीतकार
लकडाउनभर गायक–गायिकालगायतका सबै कलाकारहरू घरमै बसिरहेका बेला सङ्गीतकारहरूले भने नयाँ–नयाँ सिर्जना तयार पारे । लकडाउनको पालना गर्दै घरमै बसेर नयाँ गीतका धुनहरू तयार पारे ।
वरिष्ठ सङ्गीतकार सन्तोष श्रेष्ठले लकडाउनभर घरमै बसेर एक दर्जनभन्दा बढी गीतमा सङ्गीत भरे । उनले लकडाउनकै अवधिमा आधा दर्जनभन्दा बढी गीत बजारमा ल्याए । उनी भन्छन्– ‘लागेको बानी कहाँ छाड्न सकिँदो रहेछ र, बाहिरै ननिस्कँदा पनि केही नयाँ सिर्जना गरियो र बजारमा ल्याइयो, अरु केही सिर्जना पनि बजारमा ल्याउने तयारी गरिरहेको छु ।’
विश्वव्यापी महामारीको रूप लिएको कोरोनाभाइरस सन्त्रासका कारण अरु क्षेत्रजस्तै साङ्गीतिक क्षेत्र पनि डामाडोल बनेको छ । मानसिकरूपमै तनावयुक्त र अस्तव्यस्त यो परिवेशमा सिर्जना तयार पार्नु निकै कठिन काम हो । तर, यही बेला सन्तोषले भने आफ्नो सङ्गीतमा ‘मान्छेलाई देख्दा पनि मान्छे नै तर्सनुपर्ने के होला’ बोलको गीत बजारमा ल्याए ।
लकडाउनमा पनि रोकिएन उनको सिर्जना–यात्रा । ‘तिम्ले पराई ठानेपछि पराई हुन के भयो र’, ‘तिम्रो–मेरो दिलको बास एउटै भैदिए’ लगायत सयौं लोकप्रिय गीतका सङ्गीतकार उनी सरल स्वभावका छन् । लकडाउनभर उनी आफ्नै गृहजिल्ला दाङमा बसेर सिर्जनकर्ममा तल्लिन रहे ।
उनका धेरैजसो गीत अञ्जु पन्तले गाएकी छन् । ‘तिम्ले भुल्न सके पनि’, ‘आउँछु भनी निष्ठुरीले’, ‘परेलीको वर्षात्ले’, ‘तिम्रै यादमा भित्रभित्रै’ लगायत उनको सङ्गीत रहेका दर्जनौ गीत अञ्जुको स्वरलहरीमा सजिएर हिट भएका छन् ।
सञ्जीवनीले गाएका ‘तिम्ले हाँसो लुटिलग्यौ’ र ‘कोपिलामा सुन हुन्छ’ तथा नरेन्द्र प्यासीले गाएका ‘तिम्रो दिलमा चोट लाग्दा’ अनि जगदीश समालको स्वरमा सजिएको ‘किन आउँछ तिम्रो याद, एकान्तमा यति धेरै’ र दिपक लिम्बूले गाएको ‘तिम्लाई सञ्चो छैन भन्ने खबर पाएँ मैले’ लगायतका गीत सन्तोषले सङ्गीतबद्ध गरेका हिट गीत हुन् । उनले हजारभन्दा बढी गीतमा सङ्गीत भरिसकेका छन् ।
पुष्प खड्का, अभिनेता
कोरोना सन्त्रासका कारण फिल्महरूको सुटिङ रोकिएको लामै समय भइसक्यो । सरकारले गरेको लकडाउनभर कलाकारहरू घरमै बसे । अभिनेता पुष्प खड्काले पनि घरमै बसेर फिल्म हेर्ने, किताब पढ्ने र मोबाइलमा गेम खेल्नेजस्ता काम गरी लकडाउन बिताए ।
‘काम नभएपछि साह्रै बोर हुँदोरहेछ,’ अभिनेता खड्काले सुनाए– ‘यसरी घरमा नै बसिरहँदा त जेलमै बसेजस्तो पो हुँदोरहेछ ।’ सुरु–सुरुमा त लास्टै तनाव लागेको बताउने खड्का पछिल्लो समय भने बाहिर निस्कँदा पो तनाव होलाजस्तो लागेको बताउँदै भन्छन्– ‘मलाई घरमा समय बिताउन त यस्तो गाह्रो परिरहेको छ भने जेलमा बस्नेलाई कति छटपटी हुँदो हो है !’
अनु पराजुली, मोडल तथा अभिनेतृ
लकडाउनका बेला सबै कलाकारहरू घरमै बसेर समय बिताइरहेका बेला मोडल एवम् अभिनेतृ अनु पराजुलीले भने तीन वटा म्युजिक भिडिओमा अभिनय गरिन् । गायक बद्री पङ्गेनीको राष्ट्रप्रेमले ओतप्रोत गीतमा अनुले अभिनय गरेकी छन्; नयाँ कलाकारहरूका कयौं गीतमा उनले नृत्य गरेकी छन् ।
‘लकडाउनका बेला पनि अभिनयका निम्ति अफर आयो, डराई–डराई भए पनि मैले काम गरें,’ उनी भन्छिन्– ‘लकडाउनको केही समय काभ्रेपलाञ्चोकस्थित घरमा बसें अनि केही दिनपछि काठमाडौं आएँ । यहाँ आउने बित्तिकै तीन वटा म्युजिक भिडियोमा अभिनय गरें । त्यपछि पनि लकडाउनभित्रै अरु थप म्युजिक भिडियोहरूका काम आइलागे ।’
‘मेरो लकडाउन त मजाले नै बित्यो,’ उनले सुनाइन्– ‘घरमा गएँ, परिवारसँग बसेर रमाइलो गरी समय बिताइयो, पछि काठमाडौं आएँ, केही काम पनि गरियो ।’ अहिले फिल्म सुटिङका भने कुनै काम र तयारी नभएको उनी बताउँछिन् । लकडाउन र कोरोना त्रासका कारण मान्छे भेला हुनै नसकिने भएकाले अबको केही समय फिल्म सुटिङ होलान्जस्तो उनलाई लाग्दैन ।
चार–पाँच सय म्युजिक भिडिओ र आधा दर्जन फिल्ममा अभिनय गरेकी अनु ‘कम्पन’, ‘कालेदाइ’, ‘काउसो’ लगायतका फिल्ममा अभिनेतृका रूपमा देखिएकी छन् । उनको दुःखेसो छ– ‘लकडाउनको समयमा धेरैजसो फिल्म र म्युजिक भिडियो मिस गरें । सधैं नाचिरहेकी मान्छे, घरमा गुम्सिएर बस्नुपर्दा त सारै गाह्रो पो हुने रहेछ ।’