राम्रो प्रयास, निरन्तरता पाओस्

सही तरिकाले बाँच्न जान्नुपर्छ, मानवीय जीवन कष्टकर हुँदैन । जीवनलाई बुझ्न ‘हामी’ बाट होइन, ‘म’ बाट थालनी गर्नुपर्छ । सकारात्मक सोचका साथ आफैं आगाडि बढ्यो भने ‘म’ भन्ने भावना ‘हामी’ मा पुग्छ र समाज अनि देश नै प्रगतिपथमा अगाडि लम्कन्छ ।

यसरी नै ‘म’ बाट सुरु भएर हामी, अनि हाम्रो बौद्धिक ज्ञानलाई समेटेर तयार पारिएको एकढिक्का ज्ञानलाई एउटै धरातलमा राखेर ‘होलिस्टिक’ मासिक पत्रिका प्रकाशित हुँदै आएको पाउँदा खुसी लागेको छ । हामीले यसबाट गहन ज्ञान प्राप्त गर्न सक्ने छौं भन्ने मलाई लाग्दछ ।

मानव जीवनलाई प्रभाव पार्ने विभिन्न विधाहरू; जस्तै– स्वास्थ्य, विज्ञान, खानपान, पोषण, जीवन–पद्धतिसम्बन्धी रोचक र ज्ञानवद्र्धक विषयवस्तु पस्केर ‘होलिस्टिक’ ले सकारात्मक सोच र विचारहरू प्रवाहित गरेको छ । यसले थुप्रै विधाहरूमा छुट्टै, मिठो र ट्वाक्क–ट्वाक्क स्वाद दिने प्रयास गरेको छ ।

यसमा प्रकाशित ‘जिन्सेङ : प्रकृतिको रोचक उपहार’ शीर्षकको आलेख रोचक अनि उत्तम लग्यो । यो पत्रिकाले मलाई ‘मिठो बारा’ बनाउने तरिका सिकायो । यसका निम्ति ‘होलिस्टिक’ प्रति आभार ।

सामाजिक कुरीतिहरू व्याप्त आजको नेपाली समाजमा यस पत्रिकाले थोरै भए पनि सकारात्मक सन्देश प्रवाह गरेको आभाष मलाई भएको छ । तेस्रो अङ्कसम्म आइपुग्दा गुनासो नै गर्नुपर्ने कुनै पक्ष मैले भेटिनँ । यही सिलसिला, क्रम र मार्गलाई निरन्तरता दिँदै होलिस्टिक निरन्तर अगाडि बढिरहोस् भन्ने शुभेच्छा प्रकट गर्दछु ।

राजेन्द्र बाडे
मध्यपुर थिमी, भक्तपुर