रमाइला राजेशपायल

बीएन अधिकारी

नेपाली साङ्गीतिक क्षेत्रका ‘मेगास्टार’ राजेशपायल राईले स्नातक तहसम्मको औपचारिक शिक्षा लिएका छन् । ‘राई इज किङ’ का रूपमा चर्चित र निकै व्यस्त कलाकारमध्येका राजेशपायल अझै केही वर्ष विवाह गर्ने सुरमा छैनन् । उनका लाखौं फ्यान छन् । तर, राजेशपायल खास फ्यानतिर उति ध्यान दिँदैनन्, तमाम दर्शक–श्रोतालाई एकै नजरले हेर्छन् । ‘हामी कलाकारलाई सबैको माया चाहिन्छ,’ राजेशपायल भन्छन्– ‘सबैबाट माया पाएका छौं र सबैलाई उस्तै माया गर्छौं ।’

विवाह, प्रेम र सन्तानबारे होलिस्टिकको जिज्ञासामा राजेशपायल भन्छन्– ‘विवाह त गर्नैपर्छ तर समय जुर्नुपर्छ ।’ साङ्गीतिक क्षेत्रमा पाइला राखेदेखि उनले पछाडि फर्केर हेर्नु परेको छैन । पहिलो गीतबाटै साङ्गीतिक सफलता हासिल गरेर क्रमशः ‘मेगास्टार’ बनेका राजेशपायल अहिलेसम्म कसैसँग स्थायीरूपमा प्रेम सम्बन्ध नजोडिएको बताउँछन् । विभिन्न अभिनेतृहरूसँग बेला–बखत नाम जोडिएर चलेका चर्चालाई ‘मसला’ मात्र ठान्छन् उनी । ‘एउटै क्षेत्रका युवतीसँग नाम जोडिनु स्वाभाविकै हो,’ राजेशपायल भन्छन्– ‘तर, अहिलेसम्म मैले वास्तविकरूपमा भने कसैसँग प्रेम गरेकै छैन ।’

आफ्ना बाबु–आमाले रोजेकै केटीसँग विवाह गर्ने सोचमा छन् उनी । तर, उनले यसो भन्दा कतिपय ‘फ्यान’ युवतीहरूको मुटु भने कटक्कै खान सक्छ; किनभने, राजेशपायलसँग विवाह गर्न चाहने युवतीहरूको ‘लाइन’ नै छ ।

हो, उनै व्यस्त र मस्त गायक राजेशपायल बितेका चार महिना फुर्सदमा रहे । विश्वव्यापी महामारीका रूपमा फैलिएका कोरोना सङ्क्रमणको सन्त्रासबीच राजेशपायलले अन्तरङ्ग कुरा गरे । कोरोना रोकथाम तथा नियन्त्रणका लागि भन्दै सरकारले घोषणा गरेको लकडाउनले अरुलाई झैं राजेशपायललाई पनि निकै नै असर पर्‍याे । ११ चैतमा लकडाउन सुरु भएपछि व्यस्त राजेशपायल पनि फुर्सदिला भए र घरमै थन्किए । पूर्वी नेपालका विभिन्न जिल्लामा कार्यक्रमहरू चल्दाचल्दै कन्सर्टहरू रोकिएपछि काठमाडौं फर्किएका उनी भन्छन्– ‘मलाई त लकडाउनले मज्जाले आराम गर्ने समय दियो, कहिल्यै घरमा बसेर यसरी आराम गर्ने मौका मिलेको थिएन ।’

आफ्नो स्वास्थ्यप्रति सचेत राजेशपायल साँझ सधैं ‘इभिनिङ वाक’ गर्छन् । यसबाहेक आफ्नै घर पछाडिको खालि जमिनमा दैनिक दुई घन्टा व्यायाम गर्ने गरेको उनको भनाइ छ ।

साङ्गीतिक यात्रा

‘बल्ल बल्ल भेट भो’, ‘दर्शन नमस्ते’, ‘नाइँ नभन्नु ल’, ‘बैगुनी रै’छौ मायालु’, ‘मायाले दिएको चिनो’, ‘धरान–धनकुटा–भेडेटार’, ‘दिक्तेल बजार’, ‘हुरुक्कै भएँ म’ लगायत १४ हजारभन्दा बढी गीत गाइसकेका छन् राजेशपायलले । नेपालीसँगै राई, लिम्बू, कोरियन, जापनिजलगायत दर्जनभन्दा बढी भाषाका गीतमा पनि उनले स्वर दिइसकेका छन् । ‘अहिलेसम्म कति गीत गाइसकें, लेखाजोखा गरेको छैन,’ राजेशपायल भन्छन्– ‘तर, साथीहरूले गरेको हिसाब–किताबमा १४–१५ हजार भन्ने गरेका छन्, सायद भए नै होलान् ।’

गायक राजेशपायल बाल्यकालमा निकै चञ्चले स्वभावका थिए । सानैदेखि गायनमा रुचि राख्ने हुँदा आफूलाई गायनमा फोकस गर्दथे । उनको बाल्यकाल सुखसयलमै बितेको थियो । खोटाङमा जन्मिएका राजेशपायल आफ्नो बाल्यकाल राम्रै तरिकाले बितेको बताउँछन् । ‘म सानोमा चकचके र चञ्चले थिएँ,’ उनले भने– ‘चञ्चले भए पनि कसैलाई हानि हुने र असर पार्ने काम भने मैले कहिल्यै गरिनँ; अहिले पनि त्यस्तै नै त छु ।’

आफू गायन क्षेत्रमा आउनुको श्रेय उनी आफ्नो घरमा भएको रेडियोलाई दिन्छन् । ‘सानै थिएँ, नेपालमा खासै रेडियोको प्रभाव पनि थिएन, पापा बेलायतबाट आउँदा एउटा रेडियो ल्याउनुभएको थियो,’ राजेशपायल सम्झन्छन्– ‘पापाले समाचार सुन्नका लागि ल्याउनुभएको त्यो रेडियोले त्यसबेला रेडियो नेपाल र अल इन्डिया टिप्थ्यो; अरु रेडियो त आउने कुरै थिएन, त्यसैमा बजेका गीतहरू एकदमै ध्यान दिएर सुन्थें ।’

रेडियोमा मान्छे कसरी बोल्छन् भन्ने कौतुहलता जाग्यो उनमा । ‘अरु मान्छेहरू रेडियोभित्र पसेर जसरी बोलिरहेका छन्, त्यसैगरी म पनि रेडियोमा पसेर गीत गाउँछु, बोल्छु भन्ने अठोट जाग्यो मेरो बालमस्तिष्कमा,’ उनले सुनाए– ‘त्यही अनुसार मेरो मस्तिष्कमा परेको छापकै कारण त्यही रेडियोमा बजेका गीतहरू सुनेर नै मैले कतिपय गीतहरू गाउन सिकेको हुँ ।’

यसैगरी आफूमा भित्रैदेखि गीत गाउन ऊर्जा आइरहेको बेला रेडियो नेपालमा ‘भ्वाइस टेस्ट’ का लागि आवेदन खुलेको सम्झँदै उनले भने– ‘म पनि त्यो आवेदन फर्म भरेर भ्वाइस टेस्ट दिन २०४६ सालतिर काठमाडौं आएँ । रेडियो नेपालमा गएर मैले दिएको भ्वाइस टेस्टबाट म गाउनका लागि योग्य ठहरिएँ; म रेडियो नेपालको भ्वाइस टेस्टमा पास भएँ । सायद रेकर्डिङ भएको मेरो पहिलो गीत ‘सम्झनाको कुरा नगर’ हुनुपर्छ ।’

‘मभन्दा अर्को गायक सायद जन्मेकै छैन भन्ने भान हुन्थ्यो,’ भ्वाइस टेस्ट उत्तीर्ण गरेपछिको उमङ्ग सुनाउँदै राजेशपायलले भने– ‘अरु त गायक नै होइनन् भन्ने फिल आउने गरेको थियो ममा त्यसबेला ।’ त्यही आत्मविश्वासकै कारण आफू गायक भएको उनी बताउँछन् । ‘म त रेडियो नेपालको भ्वाइस टेस्टमा पास भएँ नि भनेर सुनाउँदै हिँड्न थालें, धेरैसँग खुसी साट्न थालें,’ उनले भने– ‘किनभने रेडियोभित्र पसेर बोल्छु,, गीत गाउँछु भनी सानैदेखि सोचिरहेको मान्छे; रेडियोमै आएर भ्वाइस टेस्टमा पास हुनु सानो कुरा भएन नि !’

२०४९ सालमा उनले गाएको तेस्रो गीत ‘फैलियो माया दुबो सरी…’ निकै चर्चित बन्यो । जब रेडियोमा उनको गीत बज्न थाल्यो, उनी पनि चम्कन थाले । यसै गीतले उनलाई चर्चाको शिखरमा पुर्‍यायो । यसअघि उनले नातिकाजीको सङ्गीत र कृष्णहरि बरालको शब्दमा ‘कसोरी आँखा जुध्यो’ बोलको गीत रेकर्ड गराएका थिए । तर, त्यो गीत कारणवश बजारमा आउन नसकेको राजेशपायलको भनाइ छ ।

राजेशपायलका बुबा रत्न राई ब्रिटिस आर्मी हुन्, उनका बुबा–आमा बेलायतमै बस्दै आएका छन् । बुबा–आमा बेलायत बसिरहे तापनि राजेशपायल भने नेपालमै हुन्छन् । कार्यक्रममा हिँडिरहने क्रममा बेलाबखत मात्रै उनी बेलायत पुग्ने गरेका छन् ।

रक्सीको एडिक्सन

गायक राजेशपायल एक समय मादक पदार्थ अत्यधिक सेवन गर्थे । रक्सीबिना उनी एक पाइला सार्न पनि सक्दैनथे । कार्यक्रम समेत रक्सीको नसामा झुमेरै गर्ने गरेको अनुभव छ उनीसँग । तर, पछिल्लो समय उनी अल्कोहल पिउँदैनन् । ‘केही वर्ष भयो, म अल्कोहलबाट टाढै छु’– उनले सुनाए । आजकल तलतल लाग्दा उनी कफी पिउँछन् । ‘जुन दिन विवाह गर्छु, त्यस दिन एक पेग भने लगाउँछु,’ आफूले सधैंका लागि अल्कोहल नछाडेको खुलाउँदै ठट्यौली पारामा उनले सुनाए– ‘साथीहरूसँग चियर्स त गर्नुपर्‍याे नि, होइन ?’

राजेशले रक्सी सजिलै छाडेका भने होइनन् । रक्सी छाड्नुका केही खास कारण छन् र तीमध्येको मुख्य कारण हो– स्वास्थ्यमा गडबडी । शरीरले नै पचाउन छाडेपछि रक्सी खान छाडेको बताउँदै उनले भने– ‘स्वास्थ्यभन्दा रक्सी प्यारो होइन रहेछ भन्ने लागेर छाडिदिएँ, अब त ममा रक्सीको नसा नै पो हटिसक्यो ।’

पर्फमेन्स नदिई स्वदेश फर्कंदा

‘रक्सी नै मेरा लागि बनेको’ भनिठान्ने गायक राजेशपायल विदेश पुगेर पनि एक पटक त रक्सीकै कारण कार्यक्रमै नगरी स्वदेश फर्किए । हङकङमा मादक पदार्थ सेवन गरेपछि कार्यक्रमको स्टेज चढ्नै नसकेको करिव दस वर्ष अगाडिको उदाहरण पनि छ उनीसँग । ‘त्यसबेला म अत्यधिक मात्रामा रक्सी पिउँथें, कार्यक्रमभन्दा अगाडि साथीहरूसँग रक्सी खाइयो,’ अहिले उनी सम्झन्छन्– ‘कार्यक्रम त सुरु भयो तर मैले पर्फमेन्स गर्नै सकिनँ, त्यो मेरा लागि पहिलो यस्तो घटना हो ।’

राजेशको राम्रो बानी छ– कुनै पनि कार्यक्रमका लागि पैसा लिइसकेपछि उनी पुगेरै छाड्छन् । यदि कारणवश कार्यक्रममा सहभागी हुन भ्याइएन वा सकिएन भने उनले पूरै पैसा फिर्ता गरिदिन्छन् । लाखौं रूपैयाँ लिइसकेको भए पनि आयोजकको एक पैसा पनि फिर्ता नदिई उनको मनले मान्दैन ।

‘मेरो ‘रेट’ कति हो भनेर भन्नै सक्दिनँ, नेपालमा म मात्र यस्तो कलाकार हुँ कि मेरो रेट नै छैन,’ आफू कार्यक्रममा सहभागी हुँदा लिने रकमबारे होलिस्टिकको जिज्ञासामा उनले भने– ‘गीतको एल्बम निकाल्दा कसैले पैसा छैन भन्यो भने फ्रीमा नै गीत गाइदिने मान्छे पनि म नै हुँ । मलाई यति नै पैसा चाहिन्छ भन्ने गायक होइन म, अवस्था हेरेर गीत गाउने गरेको छु मैले । मैले आफ्नो पारिश्रमिक यति नै भनेर तोकेको भए पो यति नै चाहिन्छ भन्नु, होइन र !’

कन्सर्टमा सबभन्दा बढी जमेका

आफ्नो तेस्रो गीत ‘फैलियो माया दुबोसरी’ हिट भएपछि धरानको महेन्द्र मोरङमा आयोजित कन्सर्टमा राजेशपायल पहिलो पटक गायकका रूपमा सहभागी थिए । आफू सहभागी पहिलो कन्सर्टमा पाएको दर्शकको साथले उनमा खुसीको सीमा रहेन । त्यस बेलासम्म उनले कन्सर्टमा गाएका थिएनन्, कलेज तथा स्कुलका कार्यक्रमहरूमा मात्र गाएका थिए ।

तेस्रो गीत सार्वजनिक भएपछि उनले कहिल्यै पछाडि फर्केर हेर्नु परेन । अहिले हेर्दा त नेपालमै सबैभन्दा धेरै कन्सर्टमा जाने कलाकारका रूपमा दर्ज भएका छन् राजेशपायल । आफ्नो तेस्रो गीत श्रोता–दर्शकको मनमा बस्न सफल भएपछि भने रेडियो नेपालको भ्वाइस टेस्ट पास हुँदा आफूमा चढेको ‘अरु त मेरा लागि गायक नै होइनन् र छैनन्’ हटिसकेको थियो । ‘यतिबेलासम्म त त्यो भावना आफैंमा सीमित भैसकेको थियो’– उनी भन्छन् ।

यही गीतले उनलाई देश–विदेशका थुप्रै यात्रा गरायो । हङकङ, जापान, अमेरिका त उनका लागि पानी पँधेरो जस्तै भए । ‘२५ वर्षभन्दा अगाडि गीत गाएको त्यही गीत नै दर्शकले अहिले पनि कन्सर्टमा रोज्ने गरेका छन्,’ राजेश भन्छन्– ‘मेरो पहिलो हिट भएकाले होला, कन्सर्टमा अहिले पनि दर्शकले मुख्यरूपले त्यही नै रोज्ने गरेका छन् ।’

खानपान र जीवनशैली

‘मैले खाने कुरामा धेरै सीमा छैन, अमेरिकनदेखि सी–फुडलगायत सबैखाले खाने कुराको अनुभव छ; युरोपियन पिज्जा होस् वा पहाडमा पाक्ने कोदाको रोटी– अवस्था हेरेर सबै चिज खाने गरेको छु’– राजेश भन्छन्– ‘काठमाडौंमा बसेर अग्र्यानिक खान्छु भन्नु त गाह्रै कुरा होला, सकेसम्म र पाएसम्म अग्र्यानिक नै खाऊँ भन्ने चाहना हो, हत्तपत्त कहाँबाट पाउनु !’

‘नेपाली खाना (दाल–भात र तरकारी) नै मलाई विशेष मन पर्ने खाने कुरा हुन् । कार्यक्रममा जाँदा खानाबारे नमिठो अनुभव अहिलेसम्म छैन । हरेक समय मेरा लागि नयाँ नै हुन्छ,’ राजेश अगाडि भन्छन्– ‘चाउचाउ–बिस्कुट त पहिले–पहिले खाइन्थ्यो । यस्तै खान्छु भनेर हुदैन, अवस्था हेरेर खानुपर्छ । सुविधा भएको सबै ठाउँमा त्यही अनुसारका खाने कुरा दिनुहुन्छ, नभएको ठाउँमा जे छ त्यही खाने हो । खाने कुरा यस्तो चाहिन्छ, उस्तो चाहिन्छ भन्ने बानी ममा छैन, साधारण मान्छे हुँ, साधारण खाने कुरा पाए भैहाल्यो ।’

सरोगेसीको रहर !

अविवाहित राजेशपायल परिवार र बालबच्चाबारे पनि सोच्छन् । नजिकका मित्र अभिनेता राजेश हमालले समेत विवाह गरिवरि घरजम बसाइसके । राजेशपायल भने ‘नजुरेकै कारण आफ्नो विवाह नभएको’ तर्क दिँदैछन् । ‘विवाह कहिले भन्नेमा त मेरो कुनै जवाफ नै छैन, यस विषयमा खुसी दिऊँ, सबैलाई सर्प्राइज दिऊँ भन्नेमा चाहिँ एकदमै उत्साहित छु,’ उनी भन्छन्– ‘यसै दिन भन्न त सकिँदैन, सकभर चाँडै सर्प्राइज दिन्छु ।’

‘लकडाउनमा भने मैले केही कुराको अभाव अनुभूत गरें,’ श्रीमती–छोराछोरीको अभाव खट्केको महसुस गर्दै राजेशले भने– ‘यदि यो लकडाउनका बेला श्रीमती–छोराछोरी भइदिएका भए उनीहरूसँग खेलेर, बोलेर समय बिताउँथें होला, एक्लो हुँदा यी कुराको अभाव देखें ।’

‘दुई छोरा–छोरी जन्माउने लक्ष्य छ, टु चाइल्ड– छोरा हुन सक्छन् या छोरी । जसरी पनि मेरा तीन छोराछोरी हुन्छन् भन्ने हो, अर्को चाहिँ सरोगसी गरेर सन्तान बनाउने सोच छ’ उनले सुनाए– ‘सरोगेसी गर्दा श्रीमतीको पनि टेन्सन भएन, छोराछोरीको पनि टेन्सन भएन ।’

पछिल्लो समय नेपालमा सरोगेसीमार्फत सन्तान जन्माउने पनि लहर चलेको छ । तर, सरकारले भने त्यसलाई मान्यता दिइसकेको छैन तैपनि यो क्रम बढेकै छ । बलिउडमा आमिर खान, शिल्पा सेट्टीलगायतले सरोगेट्स् बच्चा जन्माएका छन् । आफूले पनि सरोगेट सन्तान बनाउने कुरा राजेशपायलले यही वार्तालापमार्फत पहिलो पटक खुलाए ।