परिस्थिति सापेक्ष जीवनशैली अपनाऔं !
होलिस्टिक संवाददाताविज्ञान, प्रविधि, आविष्कार र ‘आधुनिकता’ का जतिसुकै ठूलठूला कुरा गरिए तापनि जीवन र जगत् मूलतः प्राकृतिक प्रक्रियामै निर्भर छ । प्राकृतिक प्रक्रियाका कयौं आयामहरूमा सहजीकरण गर्ने र यो प्रक्रियाबाट अधिकाधिक लाभ हासिल गर्ने हदसम्म मात्र विज्ञान, प्रविधि, आविष्कार र ‘आधुनिकता’ आजसम्म सीमित रहेको यथार्थतालाई अनेकौं घटनाक्रमहरूले दिनानुदिन सिद्ध गरिरहेका छन् ।
हिउँद लाग्दा बाक्ला र ताता कपडा अनिवार्य हुन्छन्; गर्मी याममा शीतलतायुक्त पहिरन र वातावरण आवश्यक पर्छन् र वर्षा याममा बाहिर हिँड्दा छाता एवम् वर्षादिजस्ता ओतजन्य सामग्री अत्यावश्यक हुन्छन् । रात पर्दा मान्छे मात्र होइन, पशुपक्षी समेतले घर वा पारिवारिक वातावरण सहितकै ओत खोज्दछन् भने दिनभरि घरभित्र बस्न कसैको पनि मन मान्दैन । कुहिरो–तुवाँलो, हावा–हुरी–चट्याङ, बाढी–पहिरो–आँधीजस्ता प्राकृतिक प्रकोपमा तदनुकूलकै जीवनशैली र सतर्कता आवश्यक पर्दछन्; भूकम्प र ज्वालामुखीको त्रासका बेला सोहीअनुसारको सचेतना जरुरी हुन्छ ।
समय–समयमा विभिन्न रोगका महामारीले मानवजातिलाई निरन्तरजसो सताउँदै आएका छन् । विज्ञान, प्रविधि र आविष्कारको माध्यमद्वारा मान्छेले त्यस्ता महामारीमाथि क्रमशः विजय पनि हासिल गर्दै आइरहेको छ । महामारी चर्केका बेला सबैभन्दा पहिले त परिस्थिति सापेक्ष जीवनशैली अपनाएर प्राकृतिक प्रक्रियाबाटै सुरक्षित रहने, त्यसपछि मात्र विज्ञान, प्रविधि र आविष्कारका माध्यमबाट महामारीमाथि समग्र विजय हासिल गर्ने क्रम चल्दै आएको छ । मानवजातिले यसै प्रक्रियाद्वारा बिफर, कलेरा, इन्फ्लुएन्जा, टाइफाइड, प्लेग, टीबी, कुष्ठरोग, मलेरिया, कमलपित्त, बर्डफ्लु, एड्स, जिका भाइरस, इबोला, डेङ्गुजस्ता महामारीको सामना ग¥यो । यीमध्ये कुनै महामारी स्थानीयरूपमा सीमित थिए भने धेरैजसोले राष्ट्रिय, क्षेत्रीय एवम् विश्वव्यापी स्वरूप लिएका थिए । ती महामारी सुरु हुँदा र व्यापक सङ्क्रमणको चरण पार गर्दै क्रमशः उत्कर्षकालमा पुग्दासम्म मानवजाति मूलतः प्राकृतिक प्रक्रिया र सतर्कतापूर्ण जीवनशैलीकै माध्यमबाट जोगियो र अन्ततः विज्ञान, प्रविधि र आविष्कारद्वारा तिनलाई नियन्त्रण गर्न समर्थ बन्यो ।
यतिबेला भने कोरोनाभाइरसको सङ्क्रमणबाट लाग्ने रोग कोभिड– १९ को महामारीले सिङ्गै विश्व अर्थात् समग्र मानवजातिलाई हायलकायल पारिरहेको छ । विज्ञान, प्रविधि र आविष्कारका हिसाबले अग्रणी मानिएका र ‘विकास’ तथा ‘आधुनिकता’ को चरमचुलीमा रहेका राष्ट्र र त्यहाँका नागरिकलाई नै कोभिड– १९ ले सबभन्दा बढी क्षति पु¥याएको छ । झन्डै आठ महिनाअघि चीनमा देखा परेर क्रमशः विस्तारित हुँदै विश्वव्यापी रूप लिएको कोरोनाभाइरस महामारी चरमोत्कर्षमा छ । विज्ञान, प्रविधि र आविष्कारको अग्रणी मात्र नभई हरेक दृष्टिले विश्व महाशक्ति राष्ट्र भनिएको संयुक्त राज्य अमेरिका नै कोरोनाभाइरसबाट सबैभन्दा बढी आक्रान्त छ । सङ्ख्यामा मात्र होइन, जनसङ्ख्याको अनुपातका हिसाबले समेत अमेरिकामा कोभिड– १९ का सबभन्दा बढी सङ्क्रमित छन् र यसबाट ज्यान गुमाउनेको सङ्ख्या पनि त्यहीं नै सबभन्दा बढी छ ।
कोरोनाभाइरसको उद्गमस्थल वुहान राज्य र सिङ्गै चीनमा करिव–करिव नियन्त्रणकै स्थितिमा रहे तापनि बाँकी विश्वमा यो महामारी अझै नियन्त्रणउन्मूखसम्म पनि देखिएको छैन । कुनै राष्ट्र र क्षेत्रमा केही दिन या साता नियन्त्रण भएजस्तो देखिए पनि लगत्तै थप सङ्क्रमित भेटिने र झन् डरलाग्दो स्थिति सिर्जना हुने क्रम चलिरहेको छ । कोरोनाभाइरस नियन्त्रणका निम्ति पूर्णतः सफलता पुष्टि भएका कुनै औषधि वा खोप हालसम्म बजारमा नआएकाले पनि यो महामारी नियन्त्रणउन्मूख भएको दावी कहीं–कसैले गर्न सकिरहेको छैन ।
यसर्थ, कोरोना महामारीबाट बच्दै परिवार तथा समाज र राष्ट्रलाई बचाउन सबैले आ–आफ्नो ओहोदा, जिम्मेवारी, हैसियत र औकातअनुरूप प्राकृतिक प्रक्रियालाई गम्भीरतापूर्वक आत्मसात् गर्नु र गराउनु नै आजको एक मात्र उपाय हो । सकेसम्म घरभित्रै रहनु, भीडभाड गर्न नदिनु र आफू पनि भीडमा नजानु, बजारिया सामग्रीको सट्टा घरमै बनाइएका परिकार र सकेसम्म अर्ग्यानिक खानपान गर्नु, फोहरबाट बच्नु र हरेक कामलगत्तै राम्ररी हात धुनु, नाक–मुख–आँखामा हात नलानु, बाहिर निस्कनै पर्दा मास्क–पञ्जा–चस्मा लगाउनु, हात मिलाउने/अङ्कमाल गर्ने काम नगर्नु, रोग प्रतिरोधात्मक क्षमता बढाउने सामग्रीहरूको सेवन गर्नुजस्ता व्यवहार नै यो महामारीबाट बच्ने प्राथमिक उपाय हुन् । प्राकृतिक प्रक्रिया अवलम्बन गरौं, परिस्थिति सापेक्ष जीवनशैली अपनाऔं !