हार्दिक शुभेच्छा !

‘होलिस्टिक मासिक’ को प्रकाशनारम्भ गरी यसलाई निरन्तरता दिएर होलिस्टिक हेल्थले सराहनीय काम गरेको छ । मानवको समग्र जीवन पद्धति र विशेषतः स्वास्थ्य व्यवस्थापनको विषयमा केन्द्रित ‘होलिस्टिक मासिक’ पाठकवर्गका निम्ति निकै महŒवपूर्ण सामग्री बन्न गएको छ ।

स्वस्थ रहन सफा, सन्तुलित र गुणस्तरीय खानपान अत्यावश्यक हुन्छ । त्यसैगरी, स्वस्थ जीवनशैली र समुचित व्यायाम पनि स्वस्थ जीवनका अनिवार्य पक्ष हुन् । स्वस्थ जीवनका लागि शारीरिक एवम् मानसिक स्वास्थ्य– दुवै पक्षको उत्तिकै महत्त्वपूर्ण भूमिका हुन्छ । यी सबै पक्षमा संयोजित एवम् एकीकृत ढङ्गले चेतना जागृत गराउने प्रयास ‘होलिस्टिक मासिक’ ले गरेको देखिन्छ ।

मैले यस पत्रिकाका हालसम्म प्रकाशित सबै अङ्क अध्ययन गर्ने अवसर पाएँ । पहिलो अङ्कमा पूर्वसुन्दरी सुगरिका केसी, दोस्रो अङ्कमा बहुचर्चित सिनेअभिनेतृ श्वेता खड्का र तेस्रो अङ्कमा अभिनेतृ लक्ष्मी बर्देवाका सङ्घर्षपूर्ण जीवन र सफलताको कथा बुझ्ने अवसर पाइयो । जीवन भनेकै सङ्घर्ष र अवसर रहेछ भन्ने ज्ञान ‘होलिस्टिक’ ले मलाई दिलायो ।

‘होलिस्टिक’ ले समग्र प्याकेज पस्कने जमर्को गर्दै आएको छ । तेस्रो अङ्कमा समाविष्ट ‘सर्जरी नगरी चिटिक्क स्तन’, ‘जिन्सेङ : प्रकृतिको रोचक उपहार’, ‘भान्सामा फ्लुको सङ्क्रमण’, ‘नर्सको खानपानशैली’, मन पढ्ने चिकित्सकजस्ता सबै सामग्री गहन, पठनीय र प्रेरक छन् । यो उचाई कायम राख्दै अझ अगाडि बढ्न समर्थ होओस्– ‘होलिस्टिक’ टिमलाई यही शुभकामना !

इश्वर भण्डारी
गोकर्णेश्वर– ८, काठमाडौं