१२३०९ पुगे संक्रमित, फैलियो ७७रै जिल्ला : शनिबार थपिए ५५४, कूल डिस्चार्ज २,८३४, मृतक २८ (भिडियोसहित)

होलिस्टिक संवाददाता

नेपालमा कोरोनाभाइरसका कूल संक्रमितको संख्या १२,३०९ पुगेको छ । शनिबारदेखि कोरोना संक्रमण नेपालका सबै ७७रै जिल्लामा फैलिएकाे पुष्टि भएकाे छ । यसअघि संक्रमण पुष्टि भएर आइसोलेसनमा रहेकामध्ये डिस्चार्ज हुनेको कूल संख्या २,८३४ पुगेको छ भने कोरोनाबाट ज्यान गुमाउनेको कूल संख्या २८ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले शनिबारको नियमित मेडिया ब्रिफिङमा दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा १२० महिला र ४३४ पुरुष गरी थप ५५४ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । हालसम्म संक्रमित नभेटिएको रसुवा जिल्लामा पनि शनिबार ८ महिला र १ पुरुष गरी ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो विवरणसँगै नेपालका ७७रै जिल्लामा कोरोनाभाइरस फैलिएको हो ।

नेपालभित्र हालसम्म कोरोना संक्रमण पुष्टि भएका कूल १२,३०९ जनामध्ये १,३६९ महिला र १०,९४० पुरुष रहेको प्रा.डा. गौतमको भनाइ छ । पछिल्लो २४ घन्टामा १८ महिला र ११८ पुरुष गरी १३६ जना आइसोलेसनबाट डिस्चार्ज भएका छन् । यो विवरणसँगै डिस्चार्ज हुनेको कूल संख्या २,८३४ पुगेको हो ।

भरतपुर कोरोना विशेष अस्पतालमा कैलालीका ५० वर्षीय पुरुषको मृत्यु कोरोनाबाट भएको शनिबार पुष्टि गरिएसँगै कोरानाबाट मृत्यु हुनेको कूल संख्या २८ पुगेको हो । पछिल्लो २४ घन्टामा पीसीआर विधिबाट ४,६०६ जनाको परीक्षण भएको र हालसम्म कूल २ लाख १० हजार ८ सय ७६ जनाको यो विधिबाट परीक्षण भैसकेको प्रवक्ता गौतमले जनाएका छन् । उनका अनुसार यतिबेला देशभर गरी ६५ हजार ७ सय १२ जना क्वारेन्टाइनमा छन् भने ९ हजार ४ सय ४७ जना आइसोलेसनमा उपचाररत छन् ।

भिडियोमा हेर्नोस् प्रवक्ता गौतमको ब्रिफिङ–

https://www.facebook.com/mohpnep/videos/259240148716165/