‘बिरामी हुँदा आयोजक रिसाए’
होलिस्टिक संवाददाता
सुपरहिट गीत ‘बोल माया’ र ‘गलबन्दी’ बाट चम्किएकी गायिका शान्तिश्री परियारले सयौं गीतमा आवाज भरिसकेकी छन् । स्टेज कार्यक्रमहरूमा समेत व्यस्त रहेकी शान्तिसँग गरिएको स्वास्थ्य–संवाद ।
आफ्नो दैनिकीबारे सङ्क्षिप्तमा बताइदिनोस् न !
सात बजे उठ्छु । त्यसपछि दुई–तीन गिलास पानी पिउँछु । स्वरका लागि रियाज गर्छु अनि एक छिन सामाजिक सञ्जालमा पनि बस्छु । त्यसपछि खाना बनाएर खान्छु अनि कताको, के काम छ– त्यतैतिर लाग्छु ।
बेलुकी कति बजे सुत्नुहुन्छ ?
सुत्ने समय यकिन छैन । कहिले कार्यक्रम परिरहेको हुन्छ । नाइट कन्सर्ट पनि हुन सक्छ । त्यस्तो बेला त रातको १–२ बजे पनि सुत्नुपर्ने हुन सक्छ । नर्मल्ली १०–११ बजे सुतिन्छ । त्योभन्दा छिटो चाहिँ सुत्दिनँ ।
बिहानदेखि रातिसम्म कतिबेला, के–के खानुहुन्छ ?
खाने कुराको सेड्युल छैन । सांस्कृतिक कार्यक्रममा हिँडिरहेकी हुन्छु । कार्यक्रममा व्यस्त भएपछि कहाँ पुगिन्छ, कतिखेर के खाने भन्ने सेड्युल नै हुँदैन । घरमा हुँदा बिहान तातोपानी पछि ब्रेकफास्ट खान्छु । त्यसपछि खाना खाने तरखर हुन्छ । प्रायः सधैंजसो रेकर्डिङ वा प्रोग्राम नै भैरहने भएकाले यति नै बेला यही खाइन्छ भन्ने ठेगान नै हुँदैन ।
स्वास्थ्यको कत्तिको केयर गर्नुहुन्छ ?
आफ्नो स्वास्थ्यको केयर नगर्ने त कुरै भएन नि । स्वास्थ्य नै सबैभन्दा ठूलो धन हो । स्वास्थ्य राम्रो भएन भने त गाह्रो भइहाल्यो नि, होइन र ?
खानपानमा कत्तिको ध्यान पुर्याउनुहुन्छ ?
हामी गायिकाहरूले सबैभन्दा पहिले त चिल्लो–पिरो खाने कुरामा कन्ट्रोल गर्छौं । शरीर र स्वरलाई हानि पु¥याउने खालका खाने कुरा सकेसम्म खाँदैनौं । बाध्यता आइपर्याे भने त त्यस्ता कुरा पनि खानु परिहाल्यो, नत्र खाइँदैन । बिहानदेखि बेलुकीसम्ममा तीन–चार लिटर पानी पिइसक्छु । पानी धेरै पिउँदा स्वास्थ्यलाई फाइदा हुन्छ ।
अहिलेसम्म कुनै रोगले सताएको छ कि छैन ?
त्यस्तो त छैन । साधारण रुघा–खोकी लागिरहेको हुन्छ । म ग्यास्ट्रिकबाट चाहिँ पीडित छु ।
प्रायः खाना घरमै खानुहुन्छ कि बाहिर ?
काठमाडौमा रहँदा त घरमै खाइन्छ । बाहिर जाँदा बाहिरै खाइने भैहाल्यो । धेरै समय कार्यक्रममै व्यस्त हुनुपर्ने भएकाले प्रायः बाहिर नै खाइन्छ ।
घरमा हुँदा खाना आफैं बनाउनुहुन्छ कि अरु कसैले ?
घरमा त प्रायः आफैं नै बनाउँछु । कहिलेकहीं अरुले पनि बनाउनुहुन्छ । तर, धेरैजसो आफैंले बनाइरहकी हुन्छु । खाना बनाउन एकदमै मन लाग्छ ।
‘हाइजेनिक’ खानपानमा कत्तिको सचेत हुनुहुन्छ ?
काठमाडौंमा त हाइजेनिक नै बढी चल्छ तर म त्यसमा त्यति जोड दिन्नँ । कच्याककुचुक खान मन पनि पर्दैन । दाल–भात र तरकारी नै ठीक लाग्छ । स्वास्थ्यका दृष्टिकोणले अरु खाने कुरा त्यति खाइरहनु राम्रो होइन भन्ने लाग्छ । मलाई बिस्कुट, चाउमिन, चाउचाउ मन पर्दैनन् ।
अर्ग्यानिक खाने कुरामा कत्तिको जोड दिनुहुन्छ ?
सकेसम्म र पाएसम्म त अर्ग्यानिक नै खाने प्रयास हो । तर, काठमाडौं बस्ने मान्छेले के अग्र्यानिक पाइन्छ र ? विषादी हालेकै खाने कुरा खाने हो ।
स्वास्थ्यमा बढी ध्यान दिनुपर्छ भन्ने कसरी लाग्यो ? केही विशेष परेरै हो त ?
स्वास्थ्यमा राम्ररी ध्यान दिनुपर्छ भन्ने कुरा स्कुल लेभलमा पढ्दैदेखि जानेकी हुँ । त्यसै बेलादेखि स्वास्थ्यमा हेलचेक्र्याइँ गर्दिनँ ।
भनेपछि, जङ्क फुड त त्यति खानुहुन्न क्यार…
एकदमै कम खान्छु । जङ्क फुडले स्वास्थ्यलाई राम्रो नगर्ने भएकाले सकेसम्म नखान अरुलाई पनि मेरो सल्लाह छ । तर, काठमाडौंमा ती नखाईकन सकिँदैन । कामको व्यस्तताका कारण नखाऊँ भने पनि सकिँदैन तर सकेसम्म कम गरौैं ।
शारीरिक–मानसिक ‘फिट–फाइन’ रहन के–कस्ता व्यायाम गर्नुहुन्छ ?
समय र मुड भएको खण्डमा घरमा नै योगा गर्छु । रियाज गर्छु । गायिका भएपछि स्वरलाई पनि ब्यालेन्स राख्नैप¥यो । ब्याडमिटन खेल्ने, जिम जाने भन्ने मेरो छैन । बरु केही समय हिँड्छु । पैदल यात्रा गरेर शरीरमा पसिना आएपछि ज्यान हल्का हुन्छ ।
स्वास्थ्य परीक्षण कत्तिको गराउनुहुन्छ ? कि गराउनुहुन्न ?
नियमित स्वास्थ्य जाँच गराउने गरेकी छु । यति समयमै गराउने भन्ने त छैन । अलि बढी ज्वरो आएको खण्डमा पनि जाँच गराउँछु । एक वर्षको हाराहारीमा स्वास्थ्य जाँच गराइरहेकी हुन्छु । स्वास्थ्य जाँच नगराउने त कुरै हुँदैन नि ।
के–के परीक्षण गराउनुहुन्छ ?
होलबडी चेकअप गराउँछु ।
औषधि कत्तिको खानुभएको छ ?
रुघा–मर्कीले सताइरहेको हुन्छ । कहिलेकहीं अति भएको खण्डमा औषधि खान्छु । मलाई चिसोले एकदमै समातिहाल्छ । घाँटी दुख्ने समस्या छ । निकै दुखेको खण्डमा यसको पनि औषधि खानु परिहाल्यो । यीबाहेक चाहिँ खासै खाएको छैन ।
अस्पताल नै भर्ना हुनुपरेको छ कि छैन ?
त्यस्तो त छैन । अति नै ज्वरो आउँदा एक–दुई दिन भने बसेकी छु ।
ज्वरो, रुघा–खोकी हुँदा के–कस्तोे उपचार विधि अपनाउनुहुन्छ ?
सकेसम्म घरमै रेस्ट गर्छु । घरेलु विधि अपनाएर तातो पानी, बेसार–पानी आदि खान्छु । अलि बढी नै भए औषधि पनि खान्छु ।
औषधि मेडिकलबाट सिधै किनेर खानुहुन्छ कि विशेषज्ञ/चिकित्सकसँग जाँच गराएर मात्र ?
नर्मल्ली ‘निम्स’ किनेर खान्छु । अति नै हुँदा डाक्टरको सल्लाहअनुसार गर्छु । सकेसम्म मेडिकलका औषधि नखाऊँ भन्नेमै छु; त्यसले स्वास्थ्य कमजोर बनाउँछ ।
बिरामी हुँदाका केही नमिठा अनुभव पनि छन् कि ?
भर्खरैको कुरा हो, पश्चिमतिरको कार्यक्रममा थिएँ । पोखराबाट स्याङ्जा हिँडेकी थिएँ, एक हप्ताको कार्यक्रममा । तर, नसकेपछि पोखराबाट काठमाडौं आउनु परेको छ । त्यहाँको कार्यक्रम सकेर दिल्लीमा कार्यक्रम थियो । बिरामी भएँ, आउँन सकिनँ भनेर दुवैतिर जानकारी गराएँ । आयोजकले मेरो नाम उद्घोष गरिसकेकाले निकै असर पर्याे । उहाँहरूलाई पनि गाह्रो भयो, मलाई पनि अप्ठ्यारो पर्याे । नमिठो अनुभव यही हो; ढाँटेजस्तो भएको छ । आज पनि सकी–नसकी तपाईंसँग बोल्दैछु ।
सुन्दर देखिन चाहिँ के–के गर्नुहुन्छ ?
यसका लागि पनि जतिसक्दो पानी नै पिउँछु । पानी धेरै पिउँदा दिमागलाई पनि चङ्गा बनाइराख्छ अनि अनुहारको चमक र सुन्दरता समेत बढ्छ । अर्को कुरा, सुन्दरता भनेको त सोच नै हो । हाँसो–खुसी भयो भने त्यसै पनि सुन्दर र स्वस्थ भइन्छ, होइन र ? क्रिम–पाउडरको प्रयोग निकै कम गर्छु ।
एक त छोरी मान्छे, अर्कातिर कलाकार… मेकअप त अनिवार्यजस्तै मानिन्छ । कस्मेटिक्स सामग्री किन्दा गुणस्तरमा कत्तिको ध्यान दिनुहुन्छ ?
एकदमै ध्यान दिन्छु । विदेशमा किनिएका कस्मेटिक्स सामग्री मलाई फिट हुँदैनन्; एलर्जी नै हुन्छ । म मेरै देश, नेपालमै पाइने कस्मेटिक्स सामान किन्छु तर जथाभावी किन्दिनँ । थोरै किन्छु, गुणस्तरकै किन्छु ।