शरीर बलियो, रोग गल्यो : कोरोनाबाट बच्न अपनाउनोस् यी उपाय

होलिस्टिक संवाददाता

शरीर मजबुत भएको अवस्थामा विभिन्न रोगको सङ्क्रमणबाट बच्न सकिने चिकित्सकहरू बताउँछन् । शरीर मजबुत बनाउनका लागि व्यवस्थित खानपान तथा व्यस्थित जीवनशैलीको आवश्यकता हुन्छ ।

आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले कोरोनाभाइरस (कोभिड– १९) बाट बच्ने उपायका बारेमा गाइडलाइन नै तयार पारेको छ । सो गाइडलाइनको नाम ‘आयुर्वेद एन्ड अल्टरनेटिभ मेडिसिन गाइडलाइन्स अफ प्रिभेन्टिभ मेजर्स एन्ड मेनेजमेन्ट प्रोटोकल फर कोभिड–१९ इन नेपाल’ रहेको छ ।

विभागको सो गाइडलाइनअनुसार विभिन्न किसिमका जडीबुटी प्रयोग गरी रोग प्रतिरोधात्मक क्षमता बढाउन सकिन्छ । शरीरमा रोग प्रतिरोधात्मक क्षमता मजबुत भएको अवस्थामा कोभिड– १९ लाई जित्न सकिने चिकित्सक बताउँछन् । गाइडलाइनअनुसार शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउन विभिन्न किसिमका जडीबुटी प्रयोग गर्नु उचित हुन्छ ।

समग्र स्वास्थ्य मजबुत बनाउनका लागि विभिन्न विधि अपनाउन गाइडलाइनमा सुझाइएको छ । लकडाउन, क्वारेन्टाइन, आइसोलेसनमा बसेका व्यक्तिले व्यवस्थित खानपान, योग, प्राणायाम, ध्यानजस्ता क्रियाकलाप समेत गर्न र स्यानिटाइजरको प्रयोग गर्न पनि सो गाइडलाइनमा सुझाइएको छ । योग तथा प्राणायाम र ध्यान गर्नाले शरीरमा भएका विकार तत्त्व बाहिर गई शरीरमा अक्सिजनको मात्रा पुग्ने भएकाले श्वास–प्रश्वास सहज भई समस्याबाट छुटकारा पाउन सकिने चिकित्सक बताउँछन् ।

दैनिक आधा घन्टा व्यायाम, योग, प्राणायाम तथा ध्यान गर्नाले शरीरको रोग प्रतिरोधात्मक क्षमता मजबुत हुने चिकित्सकले सुझाएका छन् । रोग प्रतिरोधात्मक क्षमता मजबुत हुँदा कोभिड– १९ मात्र नभई अन्य सबै किसिमका सङ्क्रमणबाट बच्न सकिन्छ ।

गाइडलाइनअनुसार दैनिक सूर्य–नमस्कार, धनुरासन, गौमुखासन, भुङ्गआसन, उस्ट्रासन, सेतुबन्धन, पद्मासनजस्ता योगासनहरू गर्नु लाभदायक हुन्छ । त्यसैगरी, कपालभाती, भास्त्रिका, भ्रमरी, अनुलोम–विलोमजस्ता प्राणायाम पनि आवश्यक हुन्छन् । दैनिक ३० देखि ४५ मिनेट यस्ता व्यायाम गर्नु उचित हुन्छ ।

सङ्गीतको सुमधुरतामा रमाउनाले पनि मानसिकरूपमा स्वस्थ रहने सकिने चिकित्सक बताउँछन् । आफूलाई मन पर्ने सङ्गीतको धुनमा रमाउनाले मानसिकरूपमा स्वस्थ रहन मद्धत मिल्छ । गीत–सङ्गीतको धुनमा नाच्नाले शारीरिक तथा मानसिक दुवै रूपमा स्वस्थ रहन सहयोग मिल्ने चिकित्सकको सुझाव छ ।

आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका सूचना अधिकारी डा. मुनकर्ण थापा रोग प्रतिरोधात्मक क्षमता बढाउनका लागि खानपान तथा प्राकृतिक जीवनशैलीमा ध्यान दिनुपर्ने बताउँछन् । विभिन्न किसिमका जडीबुटीको सही प्रयोगले रोग प्रतिरोधात्मक क्षमता बढाउन सकिने उनको सुझाव छ । डा. थापाका अनुसार दैनिक भान्सामा प्रयोग हुने, दालचिनी, जिरा, बेसार, लसुन, अदुवा, धनियाँ, चिनीजस्ता मसलाको सन्तुलित तथा नियमित प्रयोगले रोग प्रतिरोधात्मक क्षमता बढ्छ ।

यसले कोरोना भाइरसविरुद्ध लड्न शरीरलाई सहयोग मिल्ने उनको भनाइ छ । हामीले खाने मसलाले शरीरमा भएका विषाक्त पदार्थलाई बाहिर निकाली स्वस्थ रहन मद्धत पुर्‍याउँछ । चिकित्सकका अनुसार रोग प्रतिरोधात्मक क्षमता मजबुत भएका व्यक्तिले कोरोनाभाइरस सङ्क्रमणलाई जित्न सक्ने भएकाले सन्तुलितरूपमा प्राकृतिक जडीबुटी प्रयोग गर्नुपर्छ ।

विभागकोे गाइडलाइनअनुसार कोरोनाभाइरसको सङ्क्रमण भएमा दुई ग्राम त्रिकाटुचूर्ण र तीन ग्राम अश्वगन्धा चूर्ण मनतातो पानीमा घोलेर खान सकिन्छ । यस्तो बेला च्यावनप्रास लगायतका जडीबुटीजन्य उत्पादन पनि सेवन गर्न सकिन्छ । शरीरमा रोग प्रतिरोधात्मक क्षमता विकास गर्नका लागि तुलसी, दालचिनी, ल्वाङ, अश्वगन्धा चूर्ण, गुडचिनी, मरिचजस्ता जडीबुटी सेवन गर्न सो गाइडलाइनमा सुझाइएको छ । कोभिड– १९ को तहअनुसार विभिन्न जडीबुटी प्रयोग गर्न सकिन्छ ।

कोभिड खानपान : रोगविरुद्ध लड्ने यी पाँच जडीबुटी

मौसमी इन्फ्लुइन्जा होस् वा कुनै महामारी नै किन नहोस्, रोगविरुद्ध लड्नका लागि शरीरको रक्षात्मक प्रणाली मजबुत हुनु जरुरी छ । रोग प्रतिरोधी क्षमता बढाउनका लागि ठूलो मेहनत पनि गर्नु पर्दैन । हाम्रो भान्सामै दिनहुँ प्रयोग हुने खाद्य पदार्थलाई सन्तुलित तथा व्यवस्थितरूपमा खाइए शरीर स्वस्थ र मजबुत रहन्छ । शरीरलाई पुग्ने नियमित व्यायाम त गर्नैपर्‍यो ।

मासुजन्य खाद्य पदार्थ सन्तुलितरूपमा खाँदा शरीर मजबुत बन्छ । रुघा–खोकी, ज्वरोजस्ता मौसमी फ्लुको सङ्क्रमण भएको अवस्थामा मरमसलाको समुचित खुवाइबाटै निको हुन सकिन्छ । मसलाजन्य खानपानले टाउको दुख्ने, झाडापखाला लाग्ने, शरीर दुख्ने, बान्ता हुनेजस्ता समस्याबाट बच्न पनि सहयोग पुर्‍याँउछन् ।

भान्सामा भित्रने मसला तथा जडीबुटीहरूमध्ये धेरै त घरायसीरूपमै सामान्य प्रशोधन गरेर सेवन गर्न सकिने किसिमका छन् । मसलाजन्य पदार्थ तथा जडीबुटीमा पाइने ‘बायोएक्टिभ्स् तथा फाइटोकेमिकल्स्’ जस्ता तत्त्वले शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउनमा सहयोग मिल्छ ।

मसलाजन्य पदार्थ तथा जडीबुटीमा विभिन्न भिटामिन तत्त्व तथा औषधीय गुण हुने भएकाले यी सामग्री स्वादका लागि मात्र नभई रोग प्रतिरोधात्मक क्षमता बढाउन र औषधिका रूपमा समेत प्रयुक्त हुन्छन् ।

ल्वाङ

ल्वाङलाई तरकारी, चियालगायतमा हालेर वा त्यत्तिकै चुसेर पनि खान सकिन्छ । ल्वाङमा प्रमुखरूपमा ‘युजिनोल’ तत्त्व हुन्छ । यो तत्त्वका कारण ल्वाङले शरीरको दुखाइ कम गर्न भूमिका खेल्छ ।

दैनिक ५–६ वटा ल्वाङ खान सकिन्छ । ‘एरोमा थेरापी’ का लागि समेत यसको सुगन्धित तेल प्रयोग गर्न सकिन्छ ।

दालचिनी

दालचिनीलाई धूलो बनाई तरकारी, चिया, तातोपानी, खीरलगायतमा हालेर खान सकिन्छ । यसमा मुख्यतः ‘सिनामल्डिहाइड’ र ‘सिनामिक एसिड’ जस्ता तत्त्व पाइन्छन् । यस्ता तत्त्वले शरीरमा भएका नकारात्मक तत्त्व बाहिर निकाल्न सहयोग पुर्‍याउनुका साथै थकान कम गरी शारीरिक तथा मानसिक स्फुर्ति बढाउन सहयोग पुर्‍याउँछन् ।

शरीरमा विभिन्न किसिमका ब्याक्टेरिया तथा फङ्गस् प्रवेश गर्न नदिन पनि यसले सहयोगी भूमिका खेल्छ । विभिन्न खाद्य पदार्थमा मिलाएर दैनिक करिव एक चम्चा दालचिनी खान सकिन्छ ।

अदुवा

अदुवा विभिन्न परिकारमा हालेर खान सकिन्छ । यसमा मुख्यतः ‘जिन्जेरोल’ र ‘शोगोल्स’ जस्ता तत्त्व पाइन्छन् । यी तत्त्वले शरीरमा भएका विकार तत्त्व बाहिर निकाल्ने काममा मद्धत पुर्‍याउँछन् । यी तत्त्वले मधुमेह, क्यान्सर, मोटोपनाजस्ता समस्या हुन नदिन सयहोग पुर्‍याउँछन् ।

श्वास–प्रश्वासको समस्या भएका व्यक्तिले अदुवाको नियमित सेवन गर्नाले समस्या न्यूनीकरणमा सहयोग मिल्छ । दैनिक करिव पाँच ग्राम अदुवा सेवन गर्न सकिन्छ ।

तुलसी

तुलसीको पात तथा दानालाई चिया, तातो पानीजस्ता पेय पदार्थमा मिलाएर खान सकिन्छ । तुलसीमा ‘ओलेनोलिक एसिड’, ‘उर्सोलिक एसिड, ‘युजिनोल एसिड’ र ‘लिनालोल’ जस्ता तत्त्व पाइन्छन् ।

यस्ता तत्त्वले शरीरमा भएका विकार तत्त्व बाहिर निकाली श्वास–प्रश्वास प्रणालीलाई मजबुत बनाउनुका साथै शरीरलाई मजबुत र स्वस्थ राख्न सहयोग पुर्‍याउँछन् । यी तत्त्वले शारीरिक तथा मानसिक स्फूर्ति कायम राख्न पनि सहयोग पुर्‍याउँछन् ।

बोझो

सिमसार क्षेत्रमा पाइने बोझोलाई तातो पानीमा उमालेर खान सकिन्छ । यसमा मुख्यतः ‘एसारोन’ तत्त्व पाइन्छ । यो तत्त्वले श्वास–प्रश्वाससम्बन्धी समस्याबाट छुटकारा दिलाउन सहयोग पुर्‍याउँछ ।

खोकी लाग्ने तथा घाँटी खसखसाउनेजस्ता समस्या भएमा बोझो खान सकिन्छ । यसको सानो टुक्रालाई दिनहुँ चुसेर पनि खान सकिन्छ ।

कोरोनाभाइरसबाट बच्न मात्र होइन, सङ्क्रमण नै भैसकेका व्यक्तिले पनि रोग प्रतिरोधात्मक क्षमता बढाउनका लागि विभिन्न किसिमका जडीबुटी प्रयोग गर्न सकिने चिकित्सक बताउँछन् । जिरा, टिम्मुर, मरिच, धनियाँ, तुलसी, लसुनजस्ता जडीबुटीको ‘काँडा’ बनाएर खानाले शरीर मजबुत हुने डा. थापाको सुझाव छ । सेल्फ–क्वारेन्टाइन तथा आइशोलेसनमा बसेका बेला पनि पुदिना र तुलसीका तीन–चार वटा पात तातोपानीमा राखी बाफ लिन उक्त गाइडलाइनमा सुझाइएको छ ।

बिहान र बेलुका गरी एक लिटर बेसार–पानी पिउनु उचित हुने पनि त्यसमा उल्लेख छ । मनतातो पानीमा थोरै नुन हालेर चारदेखि छ पटकसम्म मुख कुल्ला (गार्गल) गर्दा लाभ मिल्छ । ल्वाङको धूलो मह वा मिश्रीमा मिसाएर दैनिक तीन पटक खाँदा खोकीबाट बच्न सकिन्छ । कोरोनाको सङ्क्रमणबाट ठीक हुँदै गरेको अवस्थामा पनि यस्ता प्राकृतिक जडीबुटी नियमित सेवन गर्नाले रोग प्रतिरोधात्मक क्षमता वृद्धि भई चाँडै निको हुन मद्धत मिल्छ ।

कोरोनाभाइरस सङ्क्रमणबाट बच्नका लागि विभिन्न किसिमका प्राकृतिक थेरापी समेत गर्न सकिने चिकित्सकको राय छ । यसबाट बच्न होमियोपेथी, आम्ची, युनानी र सिद्धाजस्ता वैकल्पिक चिकित्सा विधिहरू अवलम्बन गर्न सकिन्छ ।

सङ्क्रमणको जोखिमबाट बच्नका लागि पर्याप्त तातोपानी पिउनु नै पहिलो महŒवपूर्ण उपाय हो । जलनेती, सूत्रनेत, कुञ्जल र एनिमाजस्ता प्राकृतिक जल–चिकित्सकीय विधि अवलम्बन गर्नाले नाक तथा शरीरका विभिन्न प्रणालीमा विकार तŒव जम्मा हुन नपाउने भएकाले सङ्क्रमणबाट बच्न सकिने प्राकृतिक चिकित्सक बताउँछन् । नाकमा तोरी वा सर्स्यूं र तिलको तेल १–२ थोपा चुहाउनाले नाक सफा रहन मद्धत मिल्छ । निधारमा पनि तेलको धारा चुहाएर ‘शिरोधारा’ गरिन्छ, जसले तनाव कम गर्न मद्धत मिल्छ । तेल प्रयोग गरेर मालिस गर्न पनि सकिन्छ ।

व्यवस्थित जीवनशैली अपनाउनाले विभिन्न रोगको जोखिमबाट बच्न सकिने चिकित्सकको सुझाव छ । प्राकृतिक चिकित्सकका अनुसार प्राकृतिक तथा अग्र्यानिक खानपानमा जोड दिनाले रोग प्रतिरोधात्मक क्षमता वृद्धि हुन्छ । सन्तुलित जीवनशैली र अग्र्यानिक खानपान गरिए सर्ने तथा नसर्ने विभिन्न किसिमका रोगको जोखिमबाट बच्न सकिने विशेषज्ञको भनाइ छ ।