काेराेनाकाे सङ्क्रमणबाट यसरी जोगाऔं भान्सालाई

डा. शेरबहादुर पुन

कोरोनाभाइरसले विश्वलाई आतङ्कित बनाएको छ । एउटै परिवारका सदस्यबीच तथा भान्सामा समेत सावधानी नअपनाउने हो भने यो भाइरसका कारण ज्यानै समेत जान सक्छ । सङ्क्रमणको सम्भावना भएमा भान्सा तथा घरमा पनि सावधानी अपनाउनु अत्यावश्यक हुन्छ ।

एउटा घर–परिवारमा बालबच्चादेखि पाको उमेरसम्मका व्यक्ति बस्ने भएकाले यो भाइरसबाट बच्नका लागि भान्सामा निकै सावधानी अपनाउनुपर्छ । भान्सामा प्रयोग गरिने सामग्री तथा खानपान र सँगै बस्ने व्यक्तिहरूबाट यो रोग सर्ने सम्भावना भएकाले घर तथा भान्सामा विशेष सावधानी अपनाएर बस्नुपर्छ । कोरोनाभाइरसको सङ्क्रमणबाट बच्न भान्सा तथा घरमा निकै सचेत हुनुपर्छ ।

कोरोनाभाइरसको सङ्क्रमण लक्षणसहित र लक्षणरहित दुवै अवस्थामा हुन सक्छ । यदि परिवारको कुनै सदस्यमा कोरोना सङ्क्रमण भएमा परिवारका अरु सदस्यलाई सार्न सक्ने सम्भावना प्रबल हुने भएकाले परिवारका सदस्यहरू यसप्रति सचेत हुनु आवश्यक छ ।

भान्साबाट यसरी सर्न सक्छ कोरोना

भान्सा कोठाका लागि धेरैले पर्याप्त ठाउँ छुट्याएका हुँदैनन् । यसरी भान्सा साँघुरो हुने भएकाले त्यहाँ एकभन्दा बढी व्यक्ति उपस्थित भएका बेला सङ्क्रमितले खोक्दा वा हाछ्युँ गर्दा ६ फिटभन्दा नजिक रहेका अरुमा सहजै सङ्क्रमण सर्न सक्छ ।

सानो कोठा र साँघुरो ठाउँमा सङ्क्रमण छिटो र सजिलै सर्न सक्ने भएकाले भान्सा र अरु त्यस्ता साँघुरा ठाउँमा परिवारका धेरै सदस्यहरूले अनावश्यक ओहोरदोहोर गर्नु हुँदैन । यो महामारी नियन्त्रणमा नआएसम्म भान्सामा एकैचोटि हुल बाँधेर नबस्नु उचित हुन्छ । भान्सामा एक पटकमा एक व्यक्ति मात्र पसेर खाना पकाउने अनि विकेन्द्रित भएर खाने गर्दा कोरोनाभाइरस सर्ने जोखिम कम हुन सक्छ ।

अप्रत्यक्षरूपमा पनि सर्न सक्छ

सङ्क्रमित व्यक्तिले खोक्दा भान्सा या अरु विभिन्न कोठाका कुनै पनि सतहमा थुकको छिटा परेको हुन सक्छ । त्यही ठाउँमा परिवारका अरु सदस्यले छोएर नाक, मुख, आँखामा हात पुर्‍याउँदा भाइरस सर्न सक्छ । त्यस्तै भान्सामा प्रयोग हुने चक्कु, डाडु–पन्यूँजस्ता सामग्रीमा पनि केही घन्टासम्म सङ्क्रमण (भाइरस) जीवित रहन सक्ने हुँदा ती सामग्री अरुले छुँदा कोरोना सर्न सक्दछ ।

सङ्क्रमित व्यक्तिले चलाएका यस्ता सामग्री अरुले चलाउनु हुँदैन । भान्सामा प्रयोग गरिने सामग्री राम्रोसँग माझेर तथा निर्मलीकरण गरेर मात्रै प्रायोग गर्नुपर्छ ।

जुठो खानु खतरनाक

जुठो खाएका कारण पनि कोरोना सरेका विभिन्न घटना सार्वजनिक भैसकेका छन् । केही समय अगाडि हङ्कङ्मा एक परिवारले सँगै खाना खाँदा ती सबैलाई कोरोना लागेर अस्पताल भर्ना गरिएको समाचार सार्वजनिक भएको थियो । नेपालमा पनि कतिपय परिवारमा एक–अर्काको जुठो खाने चलन छ ।

यस्तो अवस्थामा परिवारको कुनै सदस्य सङ्क्रमित भएमा अरु सबैलाई भाइरस सर्न सक्ने सम्भावना हुन्छ । त्यसैले, सकेसम्म एक–अर्काको जुठो नखानु पनि कोरोनाभाइरसबाट जोगिने एउटा प्रभावकारी उपाय हो । परिवारका सबै सदस्यले अलग–अलग भाँडामा खानुपर्छ ।

मासु राम्ररी पकाउने

अहिलेको कोरोनाभाइरस जनावरबाट सरेको अनुमान गरिएको छ । राम्ररी नपकाइएको मासुमा कोरोनाभाइरस जीवित रहन सक्ने सम्भावना रहन्छ । भाइरस जीवित रहेको खाना खाएमा कोरोना सङ्क्रमणको सम्भावना रहन्छ ।

विश्व स्वस्थ सङ्गठनले पनि मासु राम्ररी पकाएर मात्र खान अनुरोध गरेको छ । मासु राम्रोसँग पकाएर खाएमा मासुमा कोरोनाभाइरस नै रहेछ भने पनि त्यो नष्ट हुन्छ । त्यसैले मासु राम्रोसँग पकाएर मात्रै खानुपर्छ ।

राम्ररी धोएर मात्र सलाद बनाउने

विशेषतः नेपालका सहरी क्षेत्रमा काँचो सलाद खाने चलन बढिरहेको छ । काँचै खाइने भएकाले सलादलाई पानीले राम्ररी पखालेर मात्र खानुपर्छ । बजारमा उपलब्ध फलफूल विभिन्न व्यक्तिहरूले छोएका हुन्छन् र कोरोना सङ्क्रमितले समेत छोएको हुन सक्छ । सङ्क्रमितले छोएका फलफूल तथा सागसब्जी हाम्रो भान्सासम्म आइपुग्न सक्छन् ।

सङ्क्रमितले छोएका फलफूल तथा सलाद अरुले छोएर हातलाई नाक, मुख, आँखामा पुर्‍याउँदा सङ्क्रमण सर्न सक्दछ । त्यसैले, कोरोनाभाइरसबाट बच्न फलफूल तथा सागसब्जीलाई सफा पानीले राम्ररी धोएर मात्र उपभोग गर्नु पर्दछ ।

खाना खाने ठाउँ र शैली

नेपालमा प्रायः परिवारका सबै सदस्य एकै समयमा, सँगै बसेर खाना खाने परम्परा रहेको पाइन्छ । परिवारका कोही सदस्य सङ्क्रमित भएमा खाना खाने सिलसिलामै अर्कोलाई सर्न सक्छ । ६ फिट आसपासको दूरीमा बसेर खाँदा भने बच्न सकिन्छ ।

परिवारका कोही सदस्यमा लक्षण देखिएमा त्यस्ता सदस्यले अलग्गै बसेर खाना खानुपर्छ । यस्तो अवस्थामा लक्षण देखिएका व्यक्तिलाई तुरुन्त अस्पताल पुर्‍याएर उपचार त गर्नैपर्‍याे । यसर्थ, कोरोना महामारीको अन्त्य नभएसम्म भान्सामा अघिपछिभन्दा बढी नै सचेतना अपनाउनुपर्छ ।

भान्सामा काम गर्ने या खाना बनाउनेले सरसफाइमा विशेष ध्यान दिनुपर्छ । घरपरिवारमा कोरोना भित्रन नदिनका लागि बाहिरबाट घरमा प्रवेश गर्ने व्यक्तिले पनि राम्रोसँग व्यक्तिगत सरसफाइ तथा सावधानीका उपाय अपनाएर मात्रै छिर्नुपर्छ । घर बाहिर होस् वा घरमा खानपान गर्दा नै किन नहोस्, निकै सावधान र सचेत हुनु आवश्यक छ ।

डा. पुन शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल, टेकुुको क्लिनिकल रिसर्च युनिटका संयोजक हुन्