रोग फाल्ने रेइशी
उच्च पहाडी भेगमा पाइने एक प्रजातिको ‘रातो च्याऊ’ हो ‘रेइशी’
डा. डीबी सुनुवार‘रेइशी’ उच्च पहाडी भेगमा पाइने च्याऊ प्रजातिको ‘रातो च्याऊ’ हो । औषधीय गुण भएको यो च्याऊ चीनमा ‘लिङ्जी’ र जापानमा ‘रइशी’ नामले प्रशिद्ध छ । यो दुर्लभ जडीबुटीको उद्गमस्थल यिनै मुलुकका उच्च हिमाली भेग भए पनि आजकल संसारका विभिन्न मुलुकमा यसको आधुनिक खेती गर्न थालिएको छ ।
विकार हटाउने तत्त्व
रेइशीमा औषधीय गुण भएका दर्जनभन्दा बढी प्राकृतिक पोषण–तत्त्व पाइन्छन्, जुन शारीरिक तथा मानसिक स्वास्थ्यका लागि असाध्यै हितकारी हुन्छन् । रेइशीमा मुख्यतः ‘पोलिसेक्राइड्स’, ‘एडिनोसिन’, ‘ट्राइटरपेन्स’, ‘अग्र्यानिक जर्मानियम’, ‘एन्टिअक्सिडेन्ट’, ‘गानोदरिक एसिड’ र शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढाउने अरु अनेकौं औषधीय गुणका पोषण–तत्त्व पाइन्छन् । यी तत्त्व मानव स्वास्थ्यका लागि अत्यन्तै उपयोगी छन्, जसले शारीरिक तथा मानसिक रोग लाग्नबाट बचाउनुका साथै शरीर मजबुत र स्वस्थ रहन सहयोग गर्छन् ।
अमूल्य गुण
रेइशीको नियमित र सन्तुलित सेवन गर्नाले शरीरमा अनावश्यक रहेका विकार–तत्त्व खकार, सिँगान, दिसा–पिसाब र पसिनाका रूपमा शरीरबाट बाहिर निस्कन्छन् । कतिपय अवस्थामा दूषित रगत ‘डाइरिया’ र ‘भमिट’ का रूपमा समेत शरीरबाट बाहिर निस्कन्छन् ।
‘पीलो’ का रूपमा समेत विकार–तत्त्व शरीरबाट बाहिर निस्कन्छन् । यसरी शरीरका कोष तथा तन्तुमा भएका विकार–तत्त्व शरीरबाट बाहिर निस्कनाले रगत शुद्ध भई रक्त–प्रवाह समेत सहज हुन्छ । रक्त–प्रवाहमा सहजता हुँदा शरीरमा अनावश्यक रूपमा विकार–तत्त्व जम्न पाउँदैनन्, जसका कारण शरीरमा पोषण–तत्त्वको अभावबाट बच्न सकिन्छ । रगतमा विकार तत्त्व नै नभएपछि क्यान्सरजस्ता घातक रोग लाग्नबाट बच्न सकिन्छ ।
त्यति मात्र होइन, केमोथेरापी तथा रेडियोथेरापी लिइरहेका बिरामीको रोग प्रतिरोधात्मक क्षमता कमजोर भएको शरीरलाई मजबुत बनाउनका लागि समेत रेइशी निकै लाभदायक हुन्छ । केमो वा रेडियोथेरापी गरिरहेका क्यान्सरका बिरामीले रेइशी सेवन गर्नु धेरै लाभदायक हुन्छ । रेइशीको सेवनबाट शरीरमा ट्युमर आउने समस्याबाट पनि बच्न सकिन्छ ।
सका गुण धेरै छन् । यसको नियमित सेवन गर्नाले शरीरलाई सन्तुलित राख्न सहयोग पुग्छ । यसमा पाइने तत्त्वले शरीरमा अनावश्यक तथा भद्दा रूपमा रहेको बोसोको मात्रा कम गराई शरीरलाई ‘स्लिम’ गराउन सहयोग गर्छ । शरीर ‘स्लिम’ तथा ‘फिट’ रहेको अवस्थामा व्यक्ति स्वस्थ रहने मात्र होइन, शारीरिक तथा मानसिक स्फूर्ति समेत बढ्छ । शरीर ‘फिट’ रहने भएकाले छालामा भएका विकार–तत्त्व समेत पसिनाको माध्यमबाट बाहिर निस्कन्छन्, जसले गर्दा छालामा चमक आउनुका साथै जवान र सुन्दर देखिन समेत सहयोग मिल्छ ।
रेइशीको नियमित सेवन मानसिक स्वास्थ्यका लागि अत्यन्तै लाभदायक हुन्छ । नियमित तथा सन्तुलित रूपमा यसको सेवन गर्नाले तनाव कम गर्न सहयोग मिल्छ । तनाव कम भएपछि आनन्दले निद्रा लाग्ने नै भयो, जसका कारण स्मरणशक्ति तीक्ष्ण हुनुका साथै विभिन्न खाले मानसिक रोगबाट समेत बच्न सकिन्छ ।
पोजिटिभ रिएक्सन
सन्तुलित रूपमा रेइशीको सेवन गरेको करिव तीन हप्तादेखि तीन महिनासम्ममा पोजिटिभ रिएक्सन देखिन थाल्छ । पोजिटिभ रिएक्सन आउँदा भमिट हुने, डाइरिया हुने, छालामा एलर्जी आउनेजस्ता लक्षण देखिन सक्छन् । रेइशीको सेवनपछि यस्ता लक्षण देखिनु सकारात्मक पक्ष हो किनकि औषधीय गुण भएको गुणस्तरीय रेइशीको सेवनले प्रभावकारी रूपमा काम गर्दा शरीरमा भएका विकार–तत्त्व शरीरबाहिर निष्काशन हुने क्रममा यस्ता लक्षण देखिन्छन् ।
लक्षणका रूपमा शरीरमा भएका विकार–तत्त्व यसरी शरीर बाहिर जाँदा व्यक्तिको रोग पनि तीसँगै जान्छ । यसरी पोजिटिभ रिएक्सन देखिनु भनेको प्राकृतिक रूपमा शरीरका जाँच गर्नु हो । त्यसैले यसको गुणस्तरीयतामा पनि ध्यान दिनुपर्छ ।
जङ्गली बुटी
प्रायः ‘रेइशी’ जङ्गली जडीबुटी भएकाले यो जङ्गलमै (विशेषगरी ‘पाइन ट्री’ जातका) ढलेर मक्किएका पुराना काठमा उम्रन्छ । यो समान्यतः जाडो मौसमको अन्त्यसँगै उम्रन थाल्छ । रेइशी टिप्ले उपयुक्त मौसम अक्टोबर–नोभेम्बर महिना हो । रेइशीलाई यो मौसममा टिपेर भण्डारण गरी चाना बनाइन्छ । यसरी चाना बनाइएको रेइशीलाई दाल, तरकारी, अचार, सुप, आइसक्रिम, क्यान्डी, चक्लेटजस्ता परिकारमा हालेर खान सकिन्छ । पिसेर राख्न पनि सकिन्छ । पिसेर धुलो बनाइएको रेइशीलाई आवश्यक्ताअनुसार क्याप्सुल वा ट्याब्लेटका रूपमा पनि तयार पारिन्छ ।
उमेरसमूह, रोग या समस्याको प्रकृति तथा अवस्थाअनुसार रेइशीको सेवन गर्नुपर्छ । वयस्क व्यक्तिले दैनिक करिव पाँच ग्राम खानु उपयुक्त हुन्छ । खालि पेटमा सेवन गर्नु लाभदायक हुन्छ । कुनै रोग (समस्या) भएका व्यक्तिले भने खाना खाएर मात्रै सेवन गर्नु उपयुक्त हुन्छ । यो जडीबुटी सबै उमेरसमूहका व्यक्तिले खान सकिन्छ । तर, सुरुमा भने प्राकृतिक चिकित्सकको सल्लाहमा नै रेइशीको सेवन गर्नु उपयुक्त हुन्छ ।
(लेखक प्राकृतिक चिकित्सक हुन्)