जानिराख्नोस् यी वनस्पतिका गुणैगुण
होलिस्टिक संवाददातालेऊको भेऊ
स्पिरुलिना एक किसिमको सामुद्रिक लेऊ हो । यो ‘साइनोब्याक्टेरिया’ वर्गमा पर्ने लेऊ हो । प्रशोधनपश्चात हरियो रङ्गको धुलो देखिने स्पिरुलिना कम गुणकारी छैन । यसलाई प्रशोधन गरेर आहारपूरक खाद्य पदार्थका रूपमा उपभोग गर्न सकिन्छ । यस्तो लेऊको पाएर सेवन गरेको अवस्थामा हृष्टपुष्ट रहन सकिन्छ ।
यसमा प्रशस्त मात्रामा प्रोटिन, ‘भिटामिन बी–वान, बी–टु, बी–थ्री’, कप्पर, आइरनजस्ता गुणकारी पौष्टिक तŒव पाइन्छन् । स्पिरुलिनामा यस्तो किसिमको प्रोटिन पाइन्छ कि यसको सेवनले शरीरका निम्ति अत्यावश्यक विभिन्न प्रकारका ‘एमिनो एसिड’ प्राप्त हुन्छन्, जसले शारीरिक तथा मानसिकरूपमा मजबुत, स्वस्थ र स्फूर्त रहन सहयोग गर्छ ।
आजकल बजारमा प्रशोधन गरी तयार पारिएकोे स्पिरुलिना धुलो, ट्याब्लेट र क्याप्सुलमा पाइन्छ । यसलाई दैनिक तीनदेखि पाँच ग्र्रामसम्म सेवन गर्नु उचित हुन्छ । सन्तुलित रूपमा सेवन गर्नाले प्रोटिनको कमीका कारण हुने कुपोषणको जोखिमबाट समेत बच्न सकिन्छ । स्पिरुलिनामा पाइने ‘फाइकोसायनिन्’ नामक तत्त्वले एन्टिअक्सिडेन्टको काम गर्छ । एन्टिअक्सिडेन्टले शरीरमा भएका विकार–तत्त्व हटाउन सहयोग गर्छ । शरीरमा भएका विकार–तत्त्व हटेपछि ज्यान स्वस्थ त हुने नै भयो ।
जिरामा हिरा
सामान्यतः भान्सामा नछुट्ने वर्गको मसला हो– ‘जिरा’ । तेल वा घिउमा दाना जिरा पड्काएर होस् वा पिसेर धुलो बनाइएको नै किन नहोस्, जिरा हालिएको परिकारको स्वाद जिब्रोमै बिलाउँछ ।
जिरामा प्रमुख रूपमा उच्च मात्रामा आइरन पाइन्छ । आइरनका कारण शरीरमा रगतको मात्रामा कमी हुन पाउँदैन ।
त्यति मात्र कहाँ हो र ! सन्तुलित रूपमा जिरा खानाले पाचन प्रणाली समेत मजबुत हुन्छ । पाचन प्रणाली नै मजबुद भएपछि हामीले खाएको खाना सहज रूपमा पच्ने नै भयो । जिरामा टर्पिन, फिनोल, फ्लाबोनोइड, अल्कालोइडजस्ता तŒव पाइन्छन् । यस्ता तत्त्वले एन्टिअक्सिडेन्टको काम गर्ने भएकाले शरीरमा भएका विकार–तत्त्व हटाउन मद्दत गर्छ ।
यसमा पाइने ‘मेगालोमाइसिन’ नामक एन्टिमाइक्रोबियल तत्त्वले रोग प्रतिरोधात्मक क्षमता बढाउन सहयोग गर्छ । लौ हेर्नोस्, भान्सामा प्रयुक्त हुने जिरा कत्ति हिरा रहेछ त !
घ्युकुमारीको गुन
प्राचीन आयुर्वेद पद्धतिअनुसार उपचार कार्यमा प्रयोग हुने एक प्रख्यात जडीबुटी हो– घ्युकुमारी (यल्लोबेरा) । यो जडीबुटी निकै नै हितकारी छ । छालासम्बन्धी समस्याका लागि त राम्रो काम गर्छ नै यसको नियमित प्रयोगले चमकहीन छालामा चमक ल्याउन सहयोग गर्छ । छालामा चमक आएपछि व्यक्ति सुन्दर देखिने नै भयो । सुन्दर देखिएपछि व्यक्तित्वमा सकारात्मक प्रभाव पनि पर्ने नै भयो ।
आगोले पोलेको अवस्थामा समेत घ्युकुमारी लगाउनाले सितलता प्रदान गर्नुका साथै घाउ नै निको हुन्छ । यसमा आठ किसिमका इन्जाइम हुन्छन्, जसले खाना पचाउन पनि सहयोग गर्छ । घ्युकुमारीमा ‘भिटामिन–ए, सी, ई र बी– १२’ पाइन्छन् । यस्ता भिटामिनले शरीर मजबुत तथा स्वस्थ राख्न सहयोग गर्नुका साथै छाला स्वस्थ र सुन्दर तुल्याउन समेत सहयोग गर्छन् ।
यसमा क्याल्सियम, सोडियम, पोटासियमजस्ता मिनरल्स पाइन्छन् । घ्युकुमारीमा पाइने ‘एलोइन’ तत्त्वका कारण कब्जियतको समस्याबाट बच्न सकिने भएकाले प्राकृतिक चिकित्सकले घ्युकुमारीको सेवन गर्न सल्लाह दिन्छन् । घरको वरिपरी, बगैंचा वा गमलामा यसको बिरुवा रोपेर सहजै प्रयोग गर्न सकिन्छ । यसको बिरुवा सुन्दर पनि देखिन्छ ।
बजारमा घ्युकुमारीका जेल, उस, तेल, धुलो पाइन्छन् । अध्ययनअनुसार कब्जियतको समस्या भएका व्यक्तिले दैनिक यसको दुई सय एमएल जुस खान सकिन्छ । पोषणका रूपमा दैनिक पाँच ग्राम घ्युकुमारी खाँदा राम्रै लाभ हुन्छ । धेरै खाएमा भने झाडापखाला हुन सक्छ । खानुपूर्व प्राकृतिक चिकित्सकको सल्लाह लिनु राम्रो ।
सुगन्ध–थेरापीमा पुदिना
अङ्ग्रेजीमा ‘मिन्ट’ का नामले चिनिने पुदिना बासनादार हर्ब्स् हो । यसको पात र प्रशोधन गरी तयार पारिएको तेलमा औषधीय गुण हुन्छ । यसका करिव ३० प्रजाति पाइन्छन् । पुदिना खान र घस्न सकिन्छ । पुदिनाको पत्तालाई मसलाको रूपमा प्रयोग गर्नु पनि राम्रै हुन्छ । यसको अचार बनाएर पनि खान सकिन्छ भने पुदिनालाई पिसेर पानीमा घोली पिउँदा पनि हुन्छ ।
यसकोे तेल घस्दा छाला सुन्निएको निको पार्न मद्दत गर्छ । बासनादार भएकाले यसलाई अत्तरको रूपमा पनि प्रयोग गर्न सकिन्छ । आजकाल सुगन्ध–थेरापीका रूपमा पुदिनाको प्रयोग व्यापक हुँदै गएको छ । घर वरिपरी पुदिना रोप्नाले एक त चाहेकै समयमा प्रयोग गर्न सकिने भयो, अकोतर्फ घर र वरिपरीको वातावरण समेत मगमगाउँछ । यसबाट मानिसले बासना पाउँछ भने यसको सुगन्धले कीरालाई भगाइदिन्छ । व्यक्ति स्वस्थ हुने अनि वातावरण पनि स्वस्थ हुने भएपछि त घर सफा र स्वस्थ हुने नै भयो । रोप्नुपरेन त पुदिना ?