संक्रमित ४७, निको हुने ९ जना : थप २ मा कोरोना, आमाछोरा डिस्चार्ज

होलिस्टिक संवाददाता

बिहीबार थप २ जनामा कोरोनाभाइरस (कोभिड– १९) को संक्रमण पुष्टि भएको छ भने यसअघि पुष्टि भएर उपचाररत २ जना निको भएर डिस्चार्ज भएका छन् । अब कोरोना संक्रमितको संख्या ४७ पुगेको भने निको भएर घर फर्कनेको संख्या ९ पुगेको छ ।

त्रियुगा नगरपालिका– ३, भुल्के, उदयपुरकी ५५ वर्षीया महिला र जनकपुरका १४ वर्षीय किशोरमा बिहीबार संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

भुल्केमै २७ जनामा कोरोना संक्रमण पुष्टि भैसकेको छ । भुल्केका सबै संक्रमितको विराटनगरस्थित कोरोना विशेष (अस्थायी) अस्पतालमा उपचार भइरहेको छ । राजधानीको पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टका दुई जना संक्रमितहरु उपचारपछि निको भएर घर फर्किएका हुन् । वैशाख १ मा कोरोना पुष्टि भएका ५८ र ८१ वर्षीय ती आमा–छोरा पाटन अस्पतालमा उपचाररत थिए ।