धार र पहिचान जोगाओस्, क्रमशः शिखर चुमोस् !

होलिस्टिक संवाददाता

मानव शरीरका लागि अत्यावश्यक पौष्टिक तत्त्वहरू, घरैमा आफैंले तयार पारेर खान सकिने परिकारहरूको जानकारी, रोगहरू र उपचार तथा बच्ने उपायजस्ता सामग्री पस्कँदै ‘होलिस्टिक’ मासिक बजारमा आएकोमा खुशी लागेको छ । हालसम्म प्रकाशित दुई अङ्क पढ्दा यसले क्रमशः उचाई हासिल गर्दै निरन्तरता पाएको अनुभव मलाई भएको छ ।

‘होलिस्टिक’ ले प्रकाशन गरेका पूर्वसुन्दरी सुगरिका र नायिका श्वेताको व्यक्तित्वसम्बन्धी आलेखहरू निकै रोचक र जानकारीमूलक रहेछन् । रमाइला र जानकारीमूलक यात्रा संस्मरण, विभिन्न चर्चित व्यक्तित्वहरूका जीवनशैली, पाका नागरिकहरूका अनुभूति, स्वास्थ्य क्षेत्रका हस्तीहरूका ज्ञानवर्द्धक सामग्री, प्राकृतिक चिकित्सा र व्यायामहरूको जानकारी दिएर यस पत्रिकाले आफ्नो बेग्लै पहिचान प्रस्तुत गरेको छ । खानपान, जीवनशैली, मनोरञ्जन, पाककला, जडीबुटी, व्यायामजस्ता क्षेत्रलाई प्राथमिकता दिएर मुख्यतः स्वास्थ्य र जीवनशैलीमा केन्द्रित यसखाले पत्रकारिता नेपाली समाजको आवश्यकता हो । यस विधामा केही सञ्चार माध्यम अगाडि आएका भए तापनि समाज र समयको आवश्यकता परिपूर्ति हुन नसकेकामा होलिस्टिकले महत्त्वपूर्ण योगदान पुर्‍याउने आशा गर्न सकिन्छ ।

दुई अङ्कमै गुणस्तरीय पठन सामग्री बन्न सफल ‘होलिस्टिक’ आफ्नो धार, पहिचान र गुणस्तर कायम राख्दै अझ परिष्कृत, परिमार्जित र गुणस्तरीय बन्दै जाओस् । विशेषतः यो प्रकाशन यात्राले निरन्तरता पाओस् भन्ने शुभेच्छा प्रकट गर्दछु ।

महेश्वर भण्डारी
गोकर्णेश्वर– ३, सुन्ताखान, काठमाडौं