‘होलिस्टिक’ को आगमन

होलिस्टिक संवाददाता

नेपाली आमसञ्चार माध्यमहरूको भीडमा अर्को एउटा नयाँ आमसञ्चार माध्यमकै रूपमा ‘होलिस्टिक’ म्यागेजिनका साथ पाठकवर्ग समक्ष उपस्थित भएका छौं । आमसञ्चारका माध्यमहरूले समेट्ने राजनीति, अर्थतन्त्र, कला–साहित्य, मनोरञ्जन, शिक्षा, खेलकुद आदि जस्तै स्वास्थ्य र जीवनशैली पनि एउटा महत्त्वपूर्ण विषय, क्षेत्र वा विधा अर्थात् ‘बिट’ हो । र, ‘होलिस्टिक’ लाई हामीले स्वास्थ्य र जीवनशैलीकै क्षेत्र वा विधालाई मुख्य विषयवस्तुका रूपमा अङ्गीकार गरेर विशिष्टीकृत खबरपत्रिकाका रूपमा अगाडि बढाउने जमर्को गरेका छौं ।

अङ्ग्रेजी शब्द ‘होलिस्टिक’ को नेपाली अनुवाद ‘समग्रता’ हो । सूचना दिने, शिक्षा दिने, मनोरञ्जन प्रदान गर्ने र अभिप्रेरणा दिने– विश्वव्यापी रूपमै अङ्गीकार गरिएका आमसञ्चार माध्यमहरूका सैद्धान्तिक उद्देश्यहरूलाई स्वास्थ्य र जीवनशैलीकै क्षेत्रभित्र सीमित रहेर अभ्यास गर्नु ‘होलिस्टिक’ प्रकाशन यात्राको मूल उद्देश्य हुने छ । आनीबानी, लवाइखुवाइ, कामकाजलगायत जीवनचर्याका समग्र पक्ष अर्थात् जीवनशैलीलाई नेपाली विशिष्टता अनुरूप विकास, परिमार्जन र व्यवस्थित गर्नेतर्फ जनचेतना अभिवृद्धि गर्दै जनजनलाई स्वस्थ र सुखी तुल्याउने अभियानमा सहयोग पु¥याउनु नै ‘होलिस्टिक’ प्रकाशनको मुख्य उद्देश्य हो ।

रोग लागिसकेपछि आवश्यकता, उपलब्धता र सम्भाव्यता अनुरूपका जुनसुकै उपचार पद्धति अपनाएर स्वास्थ्यलाभको प्रयत्न गर्नु सर्वथा स्वाभाविक र अत्यावश्यक प्रक्रिया हो । तर, ‘रोग लागिसकेपछि उपचार गर्नुभन्दा रोग लाग्नै नदिनुचाहिँ बुद्धिमानी हो’ भन्ने लोकोक्तिलाई आत्मसात् गरेर अगाडि बढ्न जनमनलाई प्रेरित गर्नुमा ‘होलिस्टिक’ यात्राको अझ बढी सार्थकता रहने छ ।

नेपाली सभ्यता, संस्कृति, सामाजिक मान्यता र प्रकृतिमाथि हुँदै आएका अनेकखाले दोहनका विरुद्ध जनचेतना अभिवृद्धि गर्नु अनि मानवजातिले हासिल गरेका नवीनतम प्रविधि, आविष्कार र उपब्धिहरूलाई यससँग समुचित तादात्म्यता कायम गराउनु नै सन्तुलित जीवनशैलीको मुख्य आधार हो भन्ने कुरा ‘होलिस्टिक’ प्रकाशनको मूल मन्त्र हो ।

आधुनिकताका नाममा प्रकृतिलाई बिर्सने र प्रकृतिका नाममा आधुनिकता–लाई निषेध गर्ने प्रवृत्तिका विरुद्ध समुचित सन्तुलनको खोजी नै ‘होलिस्टिक’ यात्राको अभीष्ट हो । केही पुस्ता अघिसम्म प्रकृतिमा टाँसिँदै आधुनिकता स्वीकार्न गाह्रो मानिरहेको नेपाली समाजको पछिल्लो पुस्ता क्रमशः प्रकृति–लाई बिर्संदै केवल आधुनिकतामा डुबुल्की मार्न उद्यत् रहेको वर्तमान सन्दर्भमा ‘ब्याक टु दि नेचर’ अर्थात् ‘प्रकृतिमै फर्क’ भन्ने मान्यतालाई अलिक जोड दिनु हाम्रो उद्देश्य हुने छ ।

पहिलो अङ्क यहाँहरूको हातमा छ; यसपालिलाई यस्तै भयो । यसमा रहन गएका कमी–कमजोरी, त्रुटि र सबल–दुर्बल पक्षहरूमा प्रबुद्ध पाठकवर्गबाट हुने रचनात्मक आलोचना, समीक्षा र टिप्पणी स्वागतयोग्य हुनेछन् । प्राप्त सुझाव, सल्लाह र मार्गदर्शनलाई आत्मसात् गर्दै आगामी अङ्कहरू अझ पठनीय, कलात्मक, रागात्मक र स्तरीय तुल्याउन हामी प्रतिबद्ध छौं ।